सिन्धुपाल्चोक । विभिन्न खाद्य तथा नगदे बालीलाई बाँदरले खान थालेपछि सिन्धुपाल्चोकका किसानले वैकल्पिक खेतीको शुरू गरेका छन् । बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती, किवी तथा चियाखेती गर्न थालेका हुन् ।
बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने गरे पनि बाँदरबाट जोगाउन कठिन हुन थालेपछि जिल्लाका सबैजसो स्थानीय तहका किसानले वैकल्पिक खेती अपनाउन थालेका हुन् ।
यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानले किवी, कागती, चिया, टिम्मुरलगायत रोप्न थालेका छन् । बाँदरले सताएपछि हेलम्बु गाउँपालिका–४ गैंटारका किसानको बाँझो बसेको झन्डै चार सय रोपनी खेतीयोग्य जमीनमा अहिले कागतीखेती गरिएको छ । मलिलो जमीन, सिँचाइको व्यवस्था, राम्रो उत्पादन हुने गरे पनि उत्पादन बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैनथे । ‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानले व्यावसायिक कागतीखेती शुरू गरेका छन्,’ स्थानीय किसान हरिकृष्ण लामिछानेले भने, ‘धान, मकैजस्ता अन्नबाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।’
कागती खान बाँदर नआएको होइन । तर निकै कडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको उनको भनाइ छ । कागतीको बोटमा केही काँडासमेत हुने हुँदा बाँदर घाइते हुने गरेपछि आउन छाडेको हो । घर आसपासका जमीनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन कठिन पर्ने हुँदा कागतीखेती शुरू गरिएको अर्का स्थानीय लालनाथ लामिछानेले बताए । बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमीनमा तीन सय बोट कागतीको बिरुवा रोपेको उनले बताए ।
घरआँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बाँसखर्कका किसानले पनि सामूहिक चियाखेती शुरू गरेका छन् । परम्परागत खेतीमा बाँदर लाग्न थालेपछि चियाखेती शुरू गरिएको मञ्जुश्री चिया, कफी, अलैंची उत्पादक कृषक समूहका अध्यक्ष रेक्पा तामाङको भनाइ छ । ‘चियामा फल हुँदैन, पात टर्राे हुने भएपछि बाँदर लाग्दो रहेनछ,’ उनले भने, ‘पाँचपोखरी थाङ्पालजस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ओखरेनी, भोटेकोशी गाउँपालिकाको लिस्ती, मेलम्ची नगरपालिकाका भोटेचौर र हैबुङमा चियाखेती विस्तार गरिएको छ ।
इन्द्रावती गाउँपालिका–१ ठूलो ओखरेनीकी शान्ता शेर्पाका अनुसार बाँदरले दुःख दिएपछि गाउँभर किवीखेती लगाउन शुरू गरिएको छ । समुद्री सतहबाट झन्डै दुई हजार पाँच सय मिटरको उचाइमा पर्ने यो गाउँमा आलु र मुलाको खेती हुन छाडेको छ । यहाँ उत्पादित आलु र मुुला सदरमुकाम मात्रै नभई काठमाडौंसम्म खपत हुन्थ्यो । ‘बाँदरले जमीन खनेर भए पनि आलु, मुला खान थालेपछि यहाँका बासिन्दाले लगाउनै छाड्नुपर्यो,’ उनले भनिन्, ‘बाँदरको आतंक बढेपछि सबैले किवीखेती गरेका छन् ।’ उनका अनुसार किवीलाई बाँदरले खाँदैन ।
किवी फलको बाहिरी भाग निकै खस्रो र झुसिलो हुन्छ, जसले बाँदरलाई चिलाउने समस्याले सताउँछ । काँचोमा निकै टर्रो र अमिलो हुने हुँदा किवी फल खान बाँदर नआउने गरेको शेर्पाले बताइन् । अहिले किवी मेलम्ची, भोटेचौर, हैबुङ, चौतारा, ठूलोओखरेनी, हेलम्बु, लिस्तीलगायत ठाउँका किसानले व्यावसायिक खेती गरिरहेका छन् । सदरमुकाम चौतारावासी पनि बाँदरको समस्याबाट ग्रस्त छन् । यहाँका किसानले भने किवी, चिया उचाइका कारण नहुने भएपछि टिम्मुर खेती शुरू गरेका छन् । टिम्मुरको बोटमा काँडा हुने भएकाले बाँदर नलाग्ने स्थानीय नेत्र बस्नेतको भनाइ छ ।
सरकारले बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेको छैन । बाँदर नियन्त्रण भएमा जमीन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारी सृजना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि गाउँसभाबाट बजेट विनियोजन समेत गरेको थियो । रासस




पालिका बहस । ३ कार्तिक २०७९, बिहीबार ११:४३