कर्णालीमा कृषि उत्पादन घट्यो

सुर्खेत । संघ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि बालीको उत्पादन अभिवृद्धिका लागि कृषि क्षेत्रमा लगानी अभिवृद्धिका साथै विभिन्न किसिमका प्रोत्साहन कार्यक्रम सञ्चालनमा छन् । कर्णाली प्रदेश सरकारले कृषि तथा पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि कृषि अनुदान वितरण गर्दै आएको छ ।

सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालयमातहतका निकाय र स्थानीय तहमार्फत् बर्सेनि विभिन्न शीर्षकमा अनुदानका कार्यक्रम सञ्चालनमा छन् । तीन तहका सरकारले कर्णालीको कृषिलाई उच्च प्राथमिकता दिएको बताइए पनि प्रमुख कृषि बालीको उत्पादनमा सकारात्मक परिवर्तन आउन नसकेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा सरकारी लगानी बढेको भए पनि उत्पादन भने घट्दै गएको देखाएको छ । उक्त अध्ययनमा कर्णालीको कृषिबालीको उत्पादन ३.५३ प्रतिशतले ह्रास आई ११ लाख ५१ हजार ४३३.६१ मेट्रिकटन कायम भएको उल्लेख छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा अवधिमा यस्तो उत्पादन ८.७६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । समीक्षा अवधिमा कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०५ प्रतिशतले ह्रास आई आठ लाख ३५ हजार ६९५ मेट्रिकटन कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा यस्तो उत्पादन १०.६२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा प्रमुख कृषि बालीमध्ये धान बालीको उत्पादन १२.०४ प्रतिशतले वृद्धि भई एक लाख ४५ हजार ६३ मेट्रिकटन पुगेको छ । गत अवधिमा यस्तो उत्पादन २.०५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, गत अवधिमा ९.२१ प्रतिशतले वृद्धि भएको मकै उत्पादन समीक्षा अवधिमा ७.६१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा गहुँ उत्पादन गत अवधिको तुलनामा ०.४३ प्रतिशतले वृद्धि भई एक लाख ८८ हजार ३२४ मेट्रिकटन पुगेको छ । कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १६.७३ प्रतिशत र १८.९८ र २५.६९ प्रतिशतले ह्रास आएको छ ।

गत अवधिमा उक्त बालीहरूको उत्पादन क्रमशः ४५.९४ प्रतिशत, ४५.४९ प्रतिशत र १९.७७ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, गत अवधिमा १.२४ प्रतिशतले वृद्धि भएको दलहन उत्पादन समीक्षा अवधिमा ७.५६ प्रतिशतले घटेर १७ हजार ८७९ मेट्रिकटन कायम भएको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा तेलहन उत्पादन ४६.१९ प्रतिशतले वृद्धि भएको छ भने गत अवधिमा यस्तो उत्पादन ४.०७ प्रतिशतले वृद्धि भएको थियो ।

तरकारी र फलफूलको उत्पादन पनि घट्यो
समीक्षा अवधिमा कर्णालीमा तरकारी तथा बागवानी उत्पादन ५.२९ प्रतिशतले ह्रास आई एक लाख ८१ हजार ३६८ मेट्रिकटन कायम भएको छ । गत वर्ष यस्तो उत्पादन ६.८२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तरकारी उत्पादनमा ६.४६ प्रतिशतले ह्रास आएको छ भने गत अवधिमा तरकारी उत्पादन ७.४९ प्रतिशतले वृद्धि भएको थियो ।

स्थानीय सरकारबाट तरकारी र बागबानी उत्पादनमा लगानी अभिवृद्धि भए पनि उत्पादनमा प्रभाव देखिन केही समय लाग्ने भएकाले समीक्षा अवधिमा तरकारी र बागबानी उत्पादनमा सकारात्मक परिवर्तन नदेखिएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बताए । यस्तै प्रदेशभित्र फलफूल तथा मसला उत्पादनमा ४.३३ प्रतिशतले ह्रास घटेको छ ।

गत आर्थिक वर्षमा फलफूल तथा मसला उत्पादनमा ०.९१ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष २०८०/०८१ मा घटेर एक लाख ३३ हजार ९५७ मेट्रिकटन कायम भएको छ । समीक्षा अवधिमा प्रमुख फलफूलमध्ये स्याउ र अन्य फलफूल उत्पादन क्रमशः २९.४५ प्रतिशत र १२.८१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको अवधिमा स्याउ उत्पादनमा ३.० प्रतिशतले ह्रास आएको थियो भने अन्य फलफूल उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको थियो ।

यस्तै, गत आर्थिक वर्षमा ८.४९ प्रतिशतले वृद्धि भएको सुन्तला उत्पादन समीक्षा अवधिमा १९.८३ प्रतिशतले ह्रास आएको छ । आँप र केराको उत्पादनमा क्रमशः ६.६८ प्रतिशत र २४.५७ प्रतिशतले कमी आएको छ भने गत अवधिमा यी दुई फलफूलको उत्पादन क्रमशः २.३४ प्रतिशत र १.१८ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा अदुवा, बेसारलगायतका प्रमुख मसला बालीको उत्पादनमा १३.३५ प्रतिशतले ह्रास आई ६१ हजार ९६१ मेट्रिकटन कायम भएको छ । गत अवधिमा यस्तो उत्पादन ०.२६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशमा मह उत्पादन उल्लेख्य रूपमा वृद्धि भई ४१३.५ मेट्रिकटन पुगेको छ । गत अवधिमा यस्तो उत्पादन २४.८८ प्रतिशतले घटेको थियो ।

कृषि बाली उत्पादनको क्षेत्रगत हिस्सा
खाद्य तथा अन्य बालीको उत्पादनले कर्णाली प्रदेशको कुल कृषि उत्पादनको करिब ७२.५८ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै, तरकारी तथा बागबानी, फलफूल तथा मसला बाली र मह उत्पादनको हिस्सा क्रमशः १५.७५ प्रतिशत, ११.६३ र ०.०४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा यस प्रदेशको कुल खाद्य तथा अन्य बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २४.३० प्रतिशत सुर्खेत जिल्लाको रहेको छ भने सबैभन्दा कम हिस्सा १.३१ प्रतिशत हिस्सा डोल्पा जिल्लाको रहेको छ । प्रदेशको कुल तरकारी तथा बागबानी उत्पादनको सबैभन्दा बढी हिस्सा सुर्खेत जिल्लाको ४१.९७ प्रतिशत रहेको छ भने डोल्पा जिल्लाको सबैभन्दा न्यून ०.५८ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, फलफूल तथा मसला बालीको हिस्सा सबैभन्दा बढी २४.९९ प्रतिशत सल्यान जिल्लाको रहँदा सबैभन्दा कम १.३१ प्रतिशत डोल्पा जिल्लाको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा सबैभन्दा धेरै २९.७८ प्रतिशत हिस्सा मकै उत्पादनको रहेको छ भने सबैभन्दा कम ०.०४ प्रतिशत हिस्सा उखु उत्पादनको छ । यस्तै, कोदो, गहुँ, आलु र धान उत्पादनको हिस्सा क्रमशः ३.०६ प्रतिशत, २२.५४ प्रतिशत, २०.८९ प्रतिशत र १७.३६ प्रतिशत रहेको छ ।

दूध उत्पादनमा वृद्धि
कर्णाली प्रदेशमा समीक्षा अवधिमा दूध उत्पादन ७.२३ प्रतिशतले वृद्धि भई ३६ हजार ५ सय ६ दशमलव २८ हजार लिटर पुगेको छ । गत अवधिमा यो उत्पादन १८.११ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, समीक्षा अवधिमा मासु उत्पादन १०.१२ प्रतिशतले वृद्धि भएको छ भने गत अवधिमा ३६.५१ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा कर्णाली प्रदेशमा अण्डा उत्पादनमा १५ प्रतिशतले ह्रास आएको छ भने गत आर्थिक वर्षमा यो उत्पादन २२.९६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा माछा उत्पादन १४.६२ प्रतिशतले वृद्धि भई १८२.५२ मेट्रिकटन पुगेको छ । माछापालन सम्बन्धी सरकारी निकायबाट प्रदान गरिने अनुदानको प्रभावकारी कार्यान्वयन हुनुका साथ–साथै कृषकलाई माछापालन सम्बन्धी आवश्यक सीप, तालिम कार्यक्रम सञ्चालन हुनुजस्ता कारणले माछा उत्पादनमा सकारात्मक परिवर्तन आएको राष्ट्र बैंकको अनुमान छ ।

सिञ्चित क्षेत्रफलमा वृद्धि
प्रदेशमा रहेको कुल कृषि बालीले ढाकेको क्षेत्रफल तीन लाख २७ हजार ४८५ दशमलव १५ हेक्टरमध्ये ५७ हजार ७७८.९१ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष सिञ्चित क्षेत्रफल १.५९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुलोद्वारा सिञ्चित क्षेत्रफल सबैभन्दा बढी ४५ हजार २१२ दशमलव १८ हेक्टर छ भने सबैभन्दा कम दुई हेक्टर क्षेत्रफल बोरिङद्वारा सिञ्चित छ । समीक्षा अवधिमा कुलोद्वारा सिञ्चित क्षेत्रफल १.५२ प्रतिशतले बढेको छ । गत अवधिमा यस्तो क्षेत्रफल ८.६० प्रतिशतले घटेको थियो । त्यसैगरी, नहरद्वारा सिञ्चित क्षेत्रफल समीक्षा अवधिमा करिब १.२० प्रतिशतले वृद्धि भई १४ हजार ९५२ हेक्टर पुगेको छ ।

घट्यो क्षेत्रगत कृषि कर्जा
प्रदेशका बैंक तथा वित्तीय संस्थाद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आर्थिक वर्षको तुलनामा १७.५७ प्रतिशतले कमी आई चार अर्ब ५२ करोड १९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी सनपाट शीर्षकमा अधिक वृद्धि भई १० लाख ३० हजार पुगेको छ भने सिँचाइ शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै दुई अर्ब ३७ करोड ५२ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम ९२ करोड १२ लाख मुगु जिल्लामा प्रवाहित भएको राष्ट्र बैंकले जनाएको छ ।