फुटपाथ व्यवस्थित व्यवसायिक स्थान तोकियो


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र फुटपाथ व्यवस्थि तगर्ने भएको छ । बढ्दो शहरीकरण र सवारीको चापले बढेको अव्यवस्थित पुटपाथ व्यवसायलाई व्यवस्थित गर्न लागेको हो । फुटपाथ व्यवसायीका कारण वीरेन्द्रनगरका मुख्यचोकको आकर्षण नै बिगारे पछि केही क्षेत्रलाई फुटपाथ व्यवसाय पूर्ण निशेधित क्षेत्र घोषणा गरेको छ ।
सडक फोहोर व्यवस्थापन, ट्राफिक जाम र शहरी सौन्दर्यतामा असर पर्न थालेपछि नगरपालिकाको कार्यपालिका बैठकले एयरपोर्ट चोकको तिन कुने क्षेत्र, बसपार्क भित्र जाने दुवै गेट, मंगलगढीमा फुटपाथ व्यवसाय गर्न पूर्ण निषेधित क्षेत्र तोकिएको छ ।
बुलबुलेट गेट, एरिचोक, प्रदेश अस्पताल गेट, एयरपोर्ट गेट, सरकारी कार्यालय र नगरपालिकाको कार्यालयदेखि ५० मिटर आसपासको क्षेत्रमा फुटपाथ निषेधित क्षेत्र तोक्ने निर्णय गरेको छ । त्यस्तै, रत्न राजमार्ग सडक किनारादेखि पाँच मिटर तथा विरुवा लगाएको तीन मिटर बाहिरी क्षेत्र, नगर भित्रका सडक किनारा र वडा कार्यालयले तोकेका अन्य क्षेत्रहरुमा फुटपाथ राख्न पाइने छैन् ।
निषेधित क्षेत्र तोकिएका ठाउँमा फलफुल, तरकारी, सडक खाजा खाना, अन्य आवश्यक खुद्रा वस्तुहरु, डोके व्यवसायी र ठेला व्यवसायी गर्न पाइने छैन् । ठेलामा गरिने चाट र अन्य व्यवसायलाई वीरेन्द्रनगर–६ को भानुपार्क आसपास, एमाले पार्टी कार्यालय पश्चिममा रहेका फलफुल, तरकारी पसल तथा वीरेन्द्र चोक नजिकै सडकमा व्यवसाय गरिरहेकालाई डाँडा स्कुलको पूर्व–दक्षिणतर्फको खाली क्षेत्रमा राखिनेछ ।
धमाला चोक क्षेत्रमा मकै पोलेर विक्री गर्न, चाट व्यवसया गर्नेहरू रेडियो भेरीको पश्चिम क्षेत्रको खाली क्षेत्रमा सर्नुपर्नेछ । आंशिक (एल्लो जोन) क्षेत्रमा फुटपाथ सञ्चालन गर्न सकिने क्षेत्रहरुमा पिपल चौतरा, घण्टाघर दक्षिण नगरपालिका, खेलकुद चोक जाने सडकको दक्षिणतर्फ, घण्टाघर–कालुञ्चोक क्षेत्र बाहेकको क्षेत्रमा सडक खाजा, कर्णालीबासी उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको विक्री वितरण गर्नमा रोक लगाइने छैन् ।
यी स्थानमा गर्मी समयमा विहान ६–९, साँझ ४–७ र अन्य समयमा ५–८ बजेसम्म व्यवसाय गर्न पाइने छ । जुनसुकै समय (ग्रीन जोन) मा व्यवसाय गर्न सकिने क्षेत्रहरुमा बुलबुले गेटको उत्तरतर्फको विश्वविद्यालयको पर्खालमा खुद्रा सामान र जिल्ला प्रहरी कार्यालयको पूर्वी चोकबाट श्री कृष्ण माविको अगाडी खाजा तथा खुद्रा व्यवसाय सञ्चालन गर्न सकिनेछ ।
नगरले तोकिएका क्षेत्रमा फुटपाथ व्यवसायीहरू सात दिन भित्र सरिसक्नुपर्नेछ । अटेरी गरे नगर प्रहरीले तोकिएको स्थानमा जान नियमन गर्नेछ । फुटपाथ अनुमतिको समयावधि साप्ताहिक, मासिक र वार्षिक तय गरिएको छ । ‘सडकमा ठेलादेखि जुत्ता सिलाउने व्यवसाय गर्नेलाई निश्चित स्थानमा तोकेर व्यवस्थापन गर्नु राम्रो पक्ष हो,’ सुर्खेत उद्योग बाणिज्य संघका महासचिव राजु पाण्डेले भने, ‘फुटपाथमा व्यवसाय गरि रहेकालाई सम्भावित ठाउँ तोकेर राख्ने नगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’
गरि खाने नागरिकहरुको दैनिक जीविकोपार्जनलाई धरपकड गर्नेभन्दा उनीहरुलाई निश्चित स्थान तोकेर राख्न लागिएको नगर प्रमुख ढकाल बताउछिन् ।
‘नगर प्रहरी परिचालनसँगै कतिपयलाई हाम्रो व्यवसाय उठाइदिन्छ की भन्ने चिन्ता छ,’ ढकाल भन्छिन्, ‘नगरले ठाउँ तोकेर उहाँहरुलाई व्यवसाय गर्नमा बाधक बन्दैनौं । बरु उहाँहरु तोकिएको ठाउँमा गएर व्यवसाय गर्नुहुन्छ भन्नेमा विश्वस्त छौं ।’ नगरलाई सफा स्वच्छ र सुन्दर बनाउने, अव्यवस्थित व्यवसायीलाई दीगो व्यवस्थापनसहितको व्यवस्थित गर्ने, फुटपाथलाई नियमन गर्ने र करको दायरा बढाएर नगरको आयश्रोत बढाउने उदेश्य नगरको छ । नगरले तोकेको क्षेत्रमा बस्ने फुटपाथ व्यवसायीहरुले अनुमति शुल्क, नविकरण शुल्क, बहाल विटौरी, व्यवसाय कर र सरसफाई सेवा शुल्क भने तिर्नुपर्नेछ ।