
मुगु । मुगु जिल्लाको छायानाथ–रारा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ। नगरपालिकाभित्र १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै खोप पूरा गरेको सुनिश्चित भएपछि मङ्गलबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
नगरपालिकाका १४ वटै वडामा १५ महिनामुनिका ४५० जना बालबालिकाले नियमित खोप लगाइरहेका छन्। पूर्ण खोप सुनिश्चितताका लागि गरिएको घरधुरी सर्वेक्षणअनुसार १६ देखि ५९ महिनासम्मका एक हजार १७ जना बालबालिकाले तोकिएका सबै खोप प्राप्त गरिसकेका छन्।
जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका खोप निरीक्षक महेश बुढाका अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाभित्र लक्षित सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। आगामी दिनमा पनि यो उपलब्धिलाई दिगो बनाउने प्रतिबद्धतासहित नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको उनले बताए ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुरक्षित हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा छायानाथ–रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले राष्ट्रिय खोप तालिकाअनुसार तोकिएको उमेर समूहका सबै बालबालिकाले आवश्यक खोपका सबै मात्रा पूरा गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार खोप निर्देशिका, २०७१ मा उल्लेखित सबै प्रक्रिया पूरा गरी घोषणा गरिएको हो। उनका अनुसार बालबालिकाले पोलियो, दादुरा–रुबेला, हेपाटाइटिस बी, जापानी इन्सेफ्लाइटिस, रोटाभाइरस (झाडापखाला), टाइफाइडलगायत १३ प्रकारका रोगविरुद्धका सबै खोप मात्रा पूरा गरेका छन्।
यसअघि चालु आर्थिक वर्षमै मुगुम कार्मारोङ गाउँपालिका र सोरु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकिएको छ। छायानाथ–रारा नगरपालिकाले पनि घोषणा गरेसँगै अब खत्याड गाउँपालिकाले मात्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न बाँकी रहेको जिल्ला खोप समन्वय समितिले जनाएको छ।
समितिका अध्यक्ष मञ्जनबहादुर कार्कीका अनुसार जिल्लाका चारवटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता घोषणा सम्पन्न गरी असार २१ गतेभित्र मुगु जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ।




पालिका बहस । १७ असार २०८३, बुधबार १०:११