माघ १ गते कर्णालीमा सभामुखको निर्वाचन

सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालका लागि सभामुखको निर्वाचन माघ १ गते दिउँसो १:०० बजे तोकिएको हो ।
प्रदेश सभाको अधिवेशनको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सोमबार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले कर्णाली प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाका सभामुखको निर्वाचनको मिति तोकेको हो ।
सभामुखको अनुपस्थितिमा अहिले जेष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गरेकामा छन् । बैठकमा उनले सभामुखको निर्वाचनका लागि प्रदेश सभा नियमावली २०७९ नियम ७ को उपनियम २ बमोजिम प्रदेश सभा सचिवालयलाई सूचना प्रकाशन गर्न निर्देशन दिए ।
प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले पुस ३० गते मनोनयन दर्ताका लागि मिति तय गरिएको जानकारी दिए। सभामुखको निर्वाचन सम्पन्न भएपछि उपसभामुखको निर्वाचन हुनेछ । कर्णाली प्रदेशसभाको बैठक माघ १ गते बिहान ११:०० बजेसम्मका लागि स्थगित भएको छ ।