सिमकोट गाउँपालिकाले स्थानीय प्रहरी भर्ना गर्ने


हुम्ला । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले स्थानीय प्रहरी भर्ना गर्ने भएको छ। गाउँपालिकाले स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) बमोजिम कार्यविधि निर्माण गरिसकेकोले नयाँ आर्थिक वर्षको पहिलो चौमासिक अवधिभित्र स्थानीय प्रहरी भर्ना गर्ने तयारी गरेको हो।

उक्त कार्यविधि असार १० गते सम्पन्न तेस्रो गाउँसभाबाट पारित भइसकेको छ। सोही निर्णयअनुसार नयाँ आर्थिक वर्षको पहिलो चौमासिक अवधिभित्र प्रहरी भर्ना गरिसक्ने गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए । यसका लागि गाउँपालिकाले २० लाख रुपियाँ बजेट विनियोजन गरिसकेको र पहिलो चरणमा सात जना प्रहरी भर्ना गरिने उहाँले जानकारी दिए । कानुनले दिएको व्यवस्था र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर प्रहरी भर्ना गर्न लागिएको उनको भनाइ छ।

भदौ महिनामा स्थानीय प्रहरी भर्नाका लागि विज्ञापन प्रकाशन गरिने जनाउँदै अध्यक्ष भण्डारीले यो व्यवस्था गाउँपालिकाका लागि आवश्यक भएको बताए । बढ्दो शहरीकरण, यातायातका साधनको अव्यवस्थित पार्किङ, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा स्थानीय प्रहरीले प्रत्यक्ष रूपमा काम गर्नेछ।

स्थानीय प्रहरी भर्नापछि शान्ति–सुरक्षा कायम गर्न सहयोग पुग्ने, बजार व्यवस्थापन सहज हुने तथा सरसफाइ कार्य प्रभावकारी बन्ने विश्वास गाउँपालिकाले लिएको छ। त्यसैगरी, राजस्व सङ्कलनको दायरा बढ्दै गएको अवस्थामा पनि स्थानीय प्रहरीले व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ। न्यायिक समितिको कार्य सम्पादनमा समेत सहजता आउने गाउँपालिकाले जनाएको छ।  पहिलो चरणमा भर्ना गरिने प्रहरीको नेतृत्व प्रहरी नायव निरीक्षक स्तरको रहनेछ।

जिल्लामा स्थानीय प्रहरी भर्ना गर्ने सिमकोट गाउँपालिका दोस्रो स्थानीय तह हुनेछ। यसअघि चङ्खेली गाउँपालिकाले पहिलो पटक स्थानीय प्रहरी भर्ना गरिसकेको छ। जिल्लाका अन्य पाँच गाउँपालिकाले भने हालसम्म स्थानीय प्रहरी भर्ना गरेका छैनन्।