रास्कोटमा प्रभावकारी बन्दै शैक्षिक सुधारका कार्यक्रम

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा विद्यालय सुधारका लागि संरचनात्मक विकाससँगै सामाजिक र शैक्षिक सुधारका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै गएका छन् । विशेष गरी, बालबालिकाका लागि सुरक्षित, स्वच्छ, र शिक्षामैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले सम्पन्न भएका कामहरू अहिले प्रशंसनीय बन्दै गएको पाइएको छ ।

रास्कोटमा नगरपालिकाका विद्यालयमा साझेदारी संघसंस्थाले गरेको संयुक्त अनुगमनका क्रममा विद्यालयले शिक्षा सुधारका लागि भौतिक संरचनाहरुको स्वरुप नै परिवर्तन गरेको पाइएको हो । रास्कोट नगरपालिकामा सञ्चालित परियोजनाहरुमार्फत बाल अधिकार, महिनावारी व्यवस्थापन, खानेपानी, सरसफाइ, र शिक्षा सुधारमा केन्द्रित रहँदै आरएमडब्लु-आइपी अन्तर्गत थुप्रै कामहरू सम्पन्न गरिएका छन् ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र साझेदारी संस्थाले रास्कोट नगरपालिका वडा नम्बर-८ मा रहेको जनजागृति माविमा बाल तथा अपाङ्गमैत्री ३ कोठे पक्की शौचालय निर्माणका लागि १६ लाख ६६ हजार वजेटको ब्यवस्थापन गरेको थियो । महिनावारी आराम कक्षका लागि आवश्यक सामाग्री खरिद गर्न एक लाख विद्यालयमा उपलब्ध गराइएपछि विद्यालको शैक्षिक गुणस्तर सुधार सँगै संरचना समेत बदलिएको विद्यालयका प्राधानाध्यापक नगराज उपाध्याले बताए ।

यस्तै रास्कोट नगरपालिकाकै वडा नम्बर-६ को कालासिल्ला माविमा बाल तथा अपाङ्गमैत्री ३ कोठे पक्की शौचालय निर्माणका लागि १७ लाख ११ हजार ३ सय ५५ र महिनावारी आराम कक्षका लागि १ लाख बराबरको सामग्री सहयोग गरेको हो । विद्यालय मर्मतका लागि पिङ्गला आधारभूत विद्यालय रास्कोट- ९ का लागि खानेपानी प्रणाली मर्मतका लागि २ लाख ५१ हजार बजेटको ब्यवस्थापन गरिएको बताइएको छ ।

सोही नगरपालिकाकै सुन्दर आधारभूत विद्यालय रास्कोट नगरपालिका वडा नम्बर-१ मा खानेपानी प्रणाली मर्मतका लागि दुई लाख पचास हजार सहयोग गरिएको र रास्कोट नगरपालिकाका विद्यालयहरुमा अहिले पणलान र साझेदार संस्थाहरु मार्फत ४० लाख ७८ हजार ४ सय ४८ रुपैया भन्दा बढी खर्च गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक बलिराज शाहीले जानकारी दिए ।

यी सबै बिद्यालयहरुमा प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपाल, सादा नेपाल कालीकोटको साझेदारीमा सञ्चालन गरिएका परियोजनाहरूले बालबालिकाहरूको शारीरिक, मानसिक, र शैक्षिक विकासमा सहयोग पुर्‍याएको छ । विशेष गरी सशक्त बालिका परियोजना, महिनावारी, खानेपानी तथा सरसफाइ स्वच्छता परियोजना, र बाल विवाह, छिटो हुने विवाह र जबर्जस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत भएका क्रियाकलापहरूले विद्यालय सुधारमा मात्र नभई समग्र समुदायको जीवनस्तरमा पनि सकारात्मक प्रभाव पारेको अनुगमनमा उपस्थित सरोकारवालाको भनाइ छ ।

परियोजनाहरूले बालबालिकालाई सुरक्षित र शिक्षामैत्री वातावरण प्रदान गर्नुका साथै महिनावारी सम्बन्धी चुनौतीहरूलाई पनि समाधान गर्न मद्दत गरेको प्लान इन्टरनेश्नलका कार्यक्रम विशेषज्ञ विनय ज्ञवालीले बताए । उनले भने, ‘महिनावारी आराम कक्ष र यसका सामग्रीहरूको व्यवस्थापनले बालिकाहरूको विद्यालय आउने दरमा समेत सुधार देखिने अपेक्षा गरेका छौं ।’ रास्कोट नगरपालिकामा भएका यी कार्यहरूको प्रभावकारिता मूल्याङ्कन गर्न जिल्लास्थित विभिन्न सरोकारवाला निकाय र साझेदार संस्थाहरुमार्फत संयुक्त अनुगमन गरिएको थियो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत विक, किर्डाक नेपालका जिल्ला संयोज तुलाराम पाण्डे, हुरेन्डेक कालीकोटका अध्यक्ष जजराज शाही, प्रहरी निरीक्षक, जिल्ला शिक्षा विकासका प्रमुख र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । अनुगमनका क्रममा स्थानीय विद्यालयहरूमा भएका संरचनात्मक सुधार, बालमैत्री धारा, विज्ञान प्रयोगशालाको व्यवस्थापन, र खेलकुद सामग्रीको उपयोगबारे समीक्षा समेत गरिएको थियो ।

अनुगमनका क्रममा रास्कोट नगरपालिकाले सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकाका अनुसार, सुरुमा यी विद्यालयहरूको अवस्था त्यति राम्रो नभएको नाजुक थियो । शौचालय, खानेपानी, र सरसफाइका अभावले गर्दा विद्यार्थीहरूले गुणस्तरीय शिक्षामा कठिनाइ भोगिरहेका थिएँ । तर, अहिले संस्थागत सहयोग र स्थानीय सरोकारवालाहरूको सहभागिताले अहिले यी विद्यालयहरूको अवस्था उल्लेखनीय रूपमा सुधारिएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण) ले बताए ।

बाल अधिकार र शिक्षामा केन्द्रित यस्ता परियोजनाहरूले बालबालिकाको मात्र नभई समग्र समुदायको जीवनस्तर सुधार्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्  । रास्कोटका सञ्चालित यी परियोजनाहरूले बालबालिकाको शिक्षामा पहुँचलाई सहज बनाउनुका साथै स्वास्थ्य र सरसफाइको मापदण्ड सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका अनुगमनको निष्कर्ष छ ।

विद्यालय सुधारसँगै बाल विवाह रोकथामजस्ता सामाजिक मुद्दाहरूमा पनि ध्यान केन्द्रित गरिएकाले समुदायको सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव देखिएको हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीले बताए । रास्कोट नगरपालिकामा भएका यी सुधारहरूले शिक्षा र सामाजिक सेवाका क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ । यस्ता कार्यक्रमहरूको निरन्तरताले बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास नगरपालिकाका सरोकारवालाहरूले व्यक्त गरेका छन् ।