
मुगु । मुगुको पश्चिमी भेगमा रहेको सोरु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ। गाउँपालिका भित्र १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै खोप पूरा गरेको सुनिश्चित भएपछि आइतबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको हो।
स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाका ११ वटै वडामा १५ महिनामुनिका १८६ जना बालबालिकाले नियमित खोप लगाइरहेका छन्। पूर्ण खोप सुनिश्चितता घोषणाका लागि गरिएको घरधुरी सर्वेक्षणअनुसार १६ देखि ५९ महिनासम्मका ४९२ जना बालबालिकाले सबै आवश्यक खोप प्राप्त गरिसकेका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका खोप निरीक्षक महेश बुढाका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र लक्षित सबै बालबालिकाले पूर्ण खोप पाएका छन् । आगामी दिनमा पनि यस उपलब्धिलाई दिगो बनाउन प्रतिबद्धतासहित गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको उनले बताए ।
“पूर्ण खोप : सुरक्षित भविष्य” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष मञ्जनबहादुर कार्कीले राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका सबै बालबालिकाले आवश्यक सबै खोप पूरा गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख चरित्र धामीका अनुसार खोप निर्देशिका, २०७१ अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरी घोषणा गरिएको हो। उहाँका अनुसार बालबालिकाले पोलियो, दादुरा–रुबेला, हेपाटाइटिस बी, जापानी इन्सेफ्लाइटिस, रोटाभाइरस ९झाडापखाला०, टाइफाइडलगायत १३ प्रकारका रोगविरुद्धका सबै खोप पूरा गरेका छन् ।
यसअघि चालु आर्थिक वर्षमै मुगुम कार्मारोङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ। सोरु गाउँपालिकाको घोषणासँगै अब छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिका घोषणा हुन बाँकी रहेका छन् ।
जिल्ला खोप समन्वय समितिका अनुसार जिल्लाका सबै चार स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता घोषणा सम्पन्न गरी असार २१ गतेभित्र मुगु जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ।




पालिका बहस । १५ असार २०८३, सोमबार १०:२४