
कालीकोट । कालीकोटको पलाता गाउँपालिकाको आर्थिक वर्ष २०८१–८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजु बढ्दैगएको उल्लेख छ ।
प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, कर्णाली प्रदेशबाट गाउँ कार्यपालिकाको कार्यालय, पलातालाई पठाइएको पत्रअनुसार गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ३२ करोड ३३ लाख ४१ हजार रुपियाँ पुगेको छ । प्रतिवेदनअनुसार लेखापरीक्षणको क्रममा देखिएका विभिन्न कैफियतहरूमध्ये २६ लाख ४४ हजार असुली गर्नु पर्नेछ ।
आर्थिक बर्ष २०८१–८२ मा गाउँपालिकाको आयतर्फ एक अर्ब ३९ लाख १५ हजारको लेखापरीक्षण गर्दा एक करोड १८ लाख ५३ हजार बेरुजु देखिएको थियो । उँपालिकाको स्पष्टीकरण र प्रतिक्रियापछि पाँच लाख ९७ हजार असुल भएपछि २६ लाख ४४ हजार असुल गर्नु पर्नेछ । यस्तै, ५९ लाख ४८ हजार प्रमाण कागजात पेस गर्नुपर्ने र २६ लाख ६४ हजार नियमित गर्नुपर्ने गरी कुल एक करोड १२ लाख ५५ हजार नयाँ बेरुजु कायम भएको छ ।
गत वर्षसम्म कायम रहेको ३१ करोड २४ लाख ७५ हजार बेरुजुमा यस वर्षको थप भई ३ लाख ८२ हजार फर्छर्योट भएपछि कुल अद्यावधिक बेरुजु ३२ करोड ३३ लाख ४१ हजार पुगेको हो । महालेखा परीक्षकको कार्यालयले गाउँपालिकामा दोहोरो लेखा प्रणाली, पेस्की बाहेकका सम्पत्ति तथा दायित्वको यकिन विवरण, बजेट व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा अनुदान वितरणमा सुधार गर्नुपर्ने औंल्याएको छ ।
साथै, सुशासन पारदर्शिता र कानुन बमोजिम बेरुजु फर्छर्योट एवम् रकम असुलीको प्रक्रियालाई तत्काल अघि बढाउन गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई ताकेता गरिएको छ । पटक पटकका प्रतिवेदनमा समस्याको किटान महालेखा परीक्षकको प्रतिवेदनमा भए पनि सुधार भने हुन सकेको छैन ।
गाउँपालिका अध्यक्ष बिष्णुवहादुर रोकायाले आफ्नो पालामा थोरै बेरुजु भए पनि अघिल्लो सरकारको धेरै भएकाले घटाउन समस्या हुने गरेको बताउनुभयो । जतिबेला पनि रोकाया अघिल्लो सरकारको पालामा भएको भन्दै पञ्छिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कम्लेस बिकले बेरुजु घटाउने प्रयास भइरहेको बताए । केही गत बर्ष र केही यो बर्ष घटाउने प्रयास गरेका छौं, अब बिस्तारै कम हुँदैजाला बिकले भने ।




पालिका बहस । ६ भाद्र २०८३, शनिबार १०:४९