कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेश सभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सदस्यले समर्थन गरेका छन् । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ ।

को हुन् नव नियुक्त मुख्यमन्त्री शर्मा ?

  • ०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्म ।
  • २०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी भई राजतन्त्रविरुद्धमा वकालत गर्दै राजनीतिमा प्रवेश।
  • ०४३ सालमा सदरमुकाम पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य ।
  • ०४६ मा आएर मोटो मसालको पार्टी सदस्यता प्राप्त ।
  • ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा ।
  • ०५२ साल पौष महिनामा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी ।
  • ०५४ साबिक कर्णालीका जिल्लाहरूमा विभिन्न कमाण्डको नेतृत्व
  • ०५८ मा मुगु र डोल्पाको नेतृत्व ।
  • ०६१ दैलेख झरेका उनी शान्ति प्रक्रियासम्म दैलेखमा रहेर पार्टी काममा सक्रिए ।
  • शान्ति प्रक्रियापछि थारुवाङ राज्यको प्रमुख भएर काम गरे ।
  • ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभागमा रहेर काम गरिसकेका छन् ।
  • ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख
  • पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भएका ।
  • हाल नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यको भूमिकामा पार्टीमा क्रियाशील छन् ।