विश्वासको मत नपाए पछि सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले राखेको विस्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नेकपा एमाले नेतृत्वको सरकार एक महिनामै ढलेको छ । प्रदेश सभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन सकेनन् । सभामुख भण्डारीले प्रस्ताव माथिको निर्णय ध्वनी मतका आधारमा गरेका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन्। विपक्षमा रहेको नेपाली काँग्रेसका १९, नेकपा एसका चार र एक स्वतन्त्र सदस्य रहेका छन् । उन्मुक्तिले रावललाई विश्वासको मत नदिने निर्णय गरी सुदूरपश्चिम प्रदेशका ७ वटै सांसदलाई काठमाडौं ल्याइएको थियो। उनीहरूलाई पार्टीका संस्थापक रेशम चौधरीको इन्ट्रेस्टमा काठमाडौं ल्याइ तीन दिनदेखि होटल क्राउन प्लाजामा राखिएको छ।

प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ ९२० बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेमा बुधबार रावलले विश्वासको मत लिने कार्यक्रमसहित प्रदेशसभा बैठक बसेको थियो।

तर उन्मुक्तिका सबै सांसद अनुपस्थित भएपछि उक्त बैठक आज ४ बजेका लागि सारिएको थियो। आज पनि उन्मुक्तिका सांसदहरु बैठकमा अनुपस्थित भएका हुन्।