
जाजरकोट । कुनै समय जाजरकोटको कुसे गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालेकी रामछाया शाही अहिले आफ्नै हातले बनाएको अचारमार्फत नयाँ परिचय स्थापित गरिरहेकी छन् । राजनीतिक यात्रासँगै उद्यमशीलतालाई अघि बढाउँदै उनले स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गरेकी हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भई कुसे गाउँपालिकाको उपाध्यक्ष बनेकी शाहीले करिब एक वर्षअघि अचार व्यवसाय सुरु गरेकी थिइन् । गत भदौदेखि स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर अचार उत्पादन थालेकी उनी अहिले जाजरकोट सदरमुकाम खलङ्गामा बसेर नियमित रूपमा अचार उत्पादन गरिरहेकी छन् ।
शुरुआती चरणमा उनले युट्युबका भिडियो हेरेर अचार बनाउन सिकिन् । सिकाइसँगै निरन्तर अभ्यास गर्दै अघि बढेकी शाहीले केही समयअघि एमाले नेतृ शान्ता चौधरीद्वारा जाजरकोटमा सञ्चालन गरिएको अचार बनाउने तालिम पनि लिइन् । उक्त तालिमले आफूलाई व्यावसायिक सीप, आत्मविश्वास र उत्पादनलाई थप गुणस्तरीय बनाउन महत्वपूर्ण सहयोग पुगेको उनी बताउँछिन् । “तालिम पाएपछि धेरै कुरा सिक्न पाइयो । अहिले पहिलेभन्दा सहज र आत्मविश्वासका साथ अचार बनाउन सकेकी छु,” उनले भनिन् ।
हाल शाहीले उत्पादन गरेका अचार जाजरकोटका बजारसँगै नेपालगन्ज, दाङ, सुर्खेत र काठमाडौंसम्म पुग्न थालेका छन् । स्थानीय स्वाद र परम्परागत परिकारलाई आधुनिक प्याकेजिङमार्फत बजारसम्म पुर्याउने उनको प्रयासले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
उनले दुई सय ग्रामदेखि एक हजार ग्रामसम्मका प्याकमा अकबरे खुर्सानी, मुला, खुर्सानी, तामा, मटन, चिकेन, गुन्द्रुक, भटमास, टिमुर, अमला, आँप, करेला लगायतका विभिन्न स्वादका अचार उत्पादन गर्दै आएकी छन् । जाजरकोटमा अचारलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयास न्यून रहेकाले यस क्षेत्रमा राम्रो सम्भावना देखेर आफू लागेको उनको भनाइ छ ।
उद्यमसँगै शाही राजनीतिक रूपमा पनि उत्तिकै सक्रिय छिन् । उनी नेपाली कांग्रेस कर्णाली प्रदेशकी सहमहामन्त्रीसमेत हुन् । गत फागुनमा पार्टीको निर्वाचन र संगठनात्मक गतिविधिका कारण केही समय अचार उत्पादन रोक्नुपरे पनि अहिले पुनः पूर्ण रूपमा व्यवसायमा सक्रिय बनेकी छन् ।
आफ्नो व्यवसायसँगै उनले अन्य महिलालाई अचार बनाउने तालिम दिँदै उद्यमशील बन्न प्रेरित गरिरहेकी छन् । घरभित्रको सीपलाई आम्दानीको स्रोत बनाउन सकिने सन्देश दिन आफूले यो यात्रा सुरु गरेको उनी बताउँछिन् ।
“महिला आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्छ । सानो लगानी र सीपबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन मैले यो व्यवसाय सुरु गरेकी हुँ,” शाहीले भनिन् ।




पालिका बहस । ५ श्रावण २०८३, मंगलवार ०९:४९