चार वर्षपछि कर्णाली करिडोरका छ पुल निर्माणको बाटो खुल्यो

हुम्ला । सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरअन्तर्गत बाजुरा र हुम्ला जिल्लाका विभिन्न खोला तथा नदीमाथि निर्माण गरिने छ वटा पक्की पुलको निर्माण कार्यले गति लिन थालेको छ। पुलहरूको डिजाइन स्वीकृतिमा लामो समय लागेका कारण रोकिएको निर्माण प्रक्रिया अब अघि बढ्ने भएको हो।

हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालका अनुसार बाजुराको जुड्डी खोलादेखि हुम्लाको न्यासी खोलासम्म निर्माण गरिने छ वटा पुलमध्ये अधिकांशको डिजाइन हालै सडक विभागबाट स्वीकृत भएपछि निर्माण कार्यको बाटो खुलेको हो।

उहाँले भन्नुभयो, “डिजाइन एन्ड बिल्ड खरिद प्रक्रियामार्फत निर्माण कम्पनीले पुल निर्माणको जिम्मा लिएको थियो। डिजाइन स्वीकृत गराउनमै धेरै समय लाग्यो। एउटै डिजाइन तीन पटकसम्म संशोधन गरेर पुनः तयार गर्नुपरेको थियो।”

निर्माण गरिने पुलहरू जुड्डी खोला, बुड्डीघाट खोला, कवाडी नदी, गल्फागाड, सलीसल्ला क्षेत्रमा पर्ने कर्णाली नदी तथा सर्केगाड ९न्यासी० खोलामा रहेका छन्। तीमध्ये जुड्डी खोला र बुड्डीघाट खोला बाजुरा जिल्लामा पर्छन् भने बाँकी चार वटा पुल हुम्ला जिल्लामा निर्माण गरिनेछन्।

छ वटा पुलमध्ये जुड्डी खोलाको पुलको डिजाइन केही समयअघि नै स्वीकृत भइसकेकाले यसको निर्माण कार्य अहिले तीव्र रूपमा भइरहेको इन्जिनियर भुसालले जानकारी दिनुभयो।

उहाँका अनुसार सलीसल्ला बाहेक अन्य चार वटा पुलको डिजाइन पनि हालै सडक विभागबाट स्वीकृत भइसकेको छ। सलीसल्लास्थित पुलको डिजाइनसमेत तयार भई अन्तिम स्वीकृतिका लागि सडक विभागमा पेश गरिएको छ र दुई साताभित्र स्वीकृत हुने अपेक्षा गरिएको छ।

पुल निर्माणको जिम्मा लुम्बिनी–सिंह जेभीले पाएको छ। हिल्सा–सिमकोट सडक योजनाले उक्त निर्माण कम्पनीसँग २०७९ असार २८ गते सम्झौता गर्दै २०८२ पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

तर डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निर्माण कार्य अघि बढ्न नसकेपछि योजनाले म्याद थप गरी २०८५ असोज ११ गतेभित्र सबै पुल निर्माण सम्पन्न गर्ने व्यवस्था गरेको छ।

यी छ वटा पुल निर्माणका लागि ४५ करोड ३१ लाख ५७ हजार ७५० रुपियाँ लागत अनुमान गरिएको छ।

निर्माण कम्पनीका अनुसार ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाअन्तर्गतको ठेक्का भएकाले सम्झौतापछिको अधिकांश समय डिजाइन स्वीकृतिमा खर्च भएको थियो। अब सबैजसो डिजाइन स्वीकृत भइसकेकाले निर्माण कार्य तीव्र रूपमा अघि बढाइने र थपिएको म्यादभित्र सबै पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।