
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। स्थानीय बाजागाजा, नृत्य र सांस्कृतिक कार्यक्रमसहित सयौँ स्थानीयवासीको उपस्थितिमा आयोजित समारोहबिच उक्त वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो । वडाले पोषणमैत्री घोषणा गर्न आवश्यक आधारभूत पोषण सूचकहरू पूरा गरेपछि घोषणा गरिएको जनाइएको छ।
स्वास्थ्यकर्मी जग्जीप्रसाद धितालका अनुसार नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य, कृषि विकास, पशुपन्छी, खानेपानी, महिला तथा बालबालिका, शिक्षा र सुशासन गरी सात क्षेत्रमा आवश्यक सूचक पूरा भएपछि वडा पोषणमैत्री घोषणा गरिएको हो।
गुठीचौर गाउँपालिकाको झारज्वाला माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकाली र गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले संयुक्त रूपमा पोषणमैत्री वडा घोषणा गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख थकालीले अब बालबालिका कुपोषणको सिकार हुने अवस्था अन्त्य गर्न सबै पक्षले निरन्तर प्रयास गर्नुपर्ने बताए । उनले अभियान सफल बनाउन योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।
कर्णाली प्रदेश योजना आयोगका कार्यालय प्रमुख गोपाल केसीले पोषणमैत्री स्थानीय शासनलाई दिगो बनाउन यसको प्रभावकारी कार्यान्वयन र निरन्तरता आवश्यक रहेको बताए ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले वडा नं. ५ लाई पोषणमैत्री घोषणा गर्न सहयोग गर्ने संस्था, वडा कार्यालय, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सम्पूर्ण गुठीचौर गाउँपालिकालाई नै पोषणमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
वडा नं। ५ का अध्यक्ष कमलबहादुर महतले पोषणमैत्री वडा घोषणा सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले राष्ट्रियस्तरकी गायिका इब्सल सञ्जाल तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको बताए । कार्यक्रममा विद्यालयका विद्यार्थीले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय महिलाले देउडा नृत्य प्रस्तुत गरेका थिए।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले पोषणमैत्री घोषणा कागजमा मात्र सीमित नभई व्यवहारमा समेत लागू गर्नुपर्नेमा जोड दिए । उनले वडा नं. ५ का नागरिकलाई अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले पोषणमैत्री स्थानीय शासन घोषणा बालबालिका, गर्भवती तथा सुत्केरी महिला, किशोरी र समुदायको पोषण अवस्थामा सुधार ल्याउने महत्त्वपूर्ण अभियान भएको बताए । उनले भौगोलिक रूपमा विकट आफ्नो वडामा पनि महिला र बालबालिकामा कुपोषण न्यूनीकरणका लागि निरन्तर काम भइरहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बिच अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।




पालिका बहस । १५ असार २०८३, सोमबार १०:२१