जुम्लामा ३८५० मेट्रिकटन कोदो उत्पादन


जुम्ला । नेपालमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ । कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढवा दिने लक्ष्यसहित नेपालमा पहिलोपटक दिवस मनाइएको हो । दिवसको अवसरमा कृषि विकास कार्यालय जुम्लाले कोदो दिवसको अवसरमा उत्पादन तथ्यांक सार्वजनिक छ । कार्यालयको तथ्यांकअनुसार जुम्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो ।

तर पहिलोपटक मनाइएको कोदो दिवसले कोदो खेतीको विस्तारमा सबै निकायको ध्यान केन्द्रित भएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । निकै महत्वपूर्ण मानिएको बाली तर लोपउन्मुख बनेको कोदोे खेतीलाई प्रवद्र्धन गर्न सरकारले गरेको प्रयासलाई किसानले पनि उत्साहका रूपमा लिएको उनको भनाइ छ । विगतमा जुम्ली नागरिकको अनिवार्य परिकार बन्ने कोदो अहिले लोपउन्मुख बन्दै गएपछि सहरी क्षेत्रमा हुनेखानीको विशेष परिकार बन्न थालेको छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार जुम्लामा दुुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको छ भने कोदोको उत्पादकत्व १.४१ प्रतिशत रहेको छ । कोदो उत्पादन बढाउन अब सरकारले नीतिगत व्यवस्थापन गर्ने अपेक्षा गरिएको उनले बताए । हाल नेपालको दुुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको छ । भने गत आवमा नेपालभरी कूल तीन लाख सात हजार ३२ मेट्रिकटन कोदो उत्पादन भएको थियो । १४ हजार ५६३ हेक्टरमा कोदो खेती भइरहेको कर्णाली प्रदेशमा गत आवमा १६ हजार ३१० मेट्रिकटन कोदो उत्पादन भएको सरकारी तथ्यांक छ । कोदो क्याल्सियम, फाइबर, आइरन र प्रोटिनको राम्रो स्रोत मानिन्छ ।

यसमा पाइने विभिन्न पौष्टिक तत्वहरूले रगत, हाडजोर्नी, पाचनप्रणाली र मांशपेशीलाई फाइदा गराउँछ । मानवशरीरले कोदोलाई बिस्तारै पचाउने हुनाले रगतमा चिनीको मात्रा मध्यम गर्नसमेत यसले मद्दत गर्दछ । यसको सेवन गर्नाले मधुमेह रोग लागेकाहरूलाई फाइदाजनक हुन्छ। हिमाली समुदायहरूको संस्कृतिमा यसको छुट्टै महत्व छ । यसलाई रोटी, ढिंडो र रक्सी बनाउन प्रयोग गर्ने गरेका छन् ।