सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको आरोप लागेको छ। नगर क्षेत्रबाट सङ्कलित फोहोरको उचित व्यवस्थापन नगर्दा छिमेकी पालिका वराहतालमा असर परेको बताइएको हो। वीरेन्द्रनगरले वडा नं. १ स्थित तारेभीर नजिकै फोहोर विर्सजन गर्दै आएको छ। उक्त ठाउँ वराहताल–१० को पूर्व सिमानासँग जोडिएको छ। बस्तीनजिकै फोहोर जलाउँदा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै विरोध भएको छ। फोहोर व्यवस्थापनमा ध्यान नदिँदा दुई पालिकाबीच लामो समयदेखि द्वन्द्व छ।
प्रभावित क्षेत्र वराहताल–१० का वडाध्यक्ष हरिलाल सलामीले वीरेन्द्रनगरको फोहोर आफूहरूको क्षेत्रमा जथाभाबी फाल्ने गर्दा स्थानीयवासीको जनस्वास्थ्यमा असर परेको बताए । फोहोर व्यवस्थापनका सवालमा पटकपटक सचेत गराउँदा पनि वीरेन्द्रनगरका जनप्रतिनिधिले दम्भ देखाएको उनको आरोप छ। स्थानीय प्रशासनको समेत धेरै पटक ध्यानाकर्षण गरिसकिएको भन्दै उनले कतैबाट पनि यसलाई गम्भीरतापूर्वक नलिएको बताए । वीरेन्द्रनगर नगरपालिकाले हेपाहा प्रवृत्ति देखाएकाले अब नागरिकले आन्दोलन गर्नुबाहेक विकल्प नरहेको उनको भनाई छ ।
वीरेन्द्रनगर नगरपालिका फोहोर व्यवस्थापन गर्नुभन्दा पहुँच मार्ग निर्माणमा लागेको भन्दै पुलामीले आक्रोश पाेखे । स्वास्थ्यलाई ध्यान दिनुपर्ने बेला बाटो निर्माण गरेर जनस्वास्थ्यजस्तो गम्भीर विषयलाई विकाससँग साट्न खोजिएको उनको आरोप छ। वीरेन्द्रनगर–१ को पश्चिम र वराहताल–१० को पूर्व सिमाना सटेको छ। वीरेन्द्रनगरको फोहोर लिएर वराहतालको क्षेत्रमा फाल्ने गरिएको आरोप लागेको छ।
अर्काको भूमिमा बिनाअनुमति फोहोर फालिरहेको वीरेन्द्रनगरले यो विषयलाई गम्भीर रूपमा नलिएको वडाध्यक्ष सलामीको भनाइ छ। वराहताल–१० का स्थानीय यामबहादुर पुलामीले वीरेन्द्रनगर नगरपालिकाले नागरिकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै समस्या समाधानमा तत्काल ध्यान नदिए आफूहरू आन्दोलित हुने बताए । बेलाबेला यो विषयमा जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको भन्दै उनले जथाभाबी फोहोर फाल्दा हिँडडुल गर्नसमेत निकै सास्ती भइरहेको जानकारी दिए ।
मनपरी ढङ्गले फोहोर फाल्दा आफ्नो क्षेत्र प्रभावित भएको भन्दै वराहताल गाउँपालिका–१० का बासिन्दाले आपत्ति जनाएका हुन्। वीरेन्द्रनगरले फोहोर फाल्ने गरेको आधा भूभाग आफ्नो क्षेत्रमा पर्ने वराहतालको दाबी छ। सहमति र सहकार्यबिना मनपरी फोहोर फाल्ने र जलाउने गर्दा ठाउँ नै प्रदूषित भइरहेको उनीहरूले बताएका छन्।
उक्त स्थानमा दैनिक रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा त्यसको धुवाँले नजिकैका बस्तीहरूमा असर पर्ने गरेको छ। फोहोर व्यवस्थापनमा ध्यान नदिँदा जङ्गलका बोटबिरुवासमेत मासिएको स्थानीयवासीको आरोप छ। वराहतालको सिमलचौर, पाती, धुम्के, फौजापानीलगायतका क्षेत्र फोहोरका कारण बढी प्रभावित भएको बताइएको छ। आफ्नो जमिनमा जथाभाबी फोहोर नफाल्न त्यहाँका स्थानीयले वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गर्दै आएका छन्।
वराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले एउटा पालिकाको फोहोर अर्को पालिकामा गैरजिम्मेवार तरिकाले छरपस्ट फालिँदा नैतिकताको प्रश्न उब्जिएको जानकारी दिए । आफ्नो क्षेत्रमा फोहोर नफाल्न धेरै पटक आग्रह गर्दा पनि वीरेन्द्रनगर नगरपालिकाले बेवास्ता गरेको उनको भनाइ छ। छलफल र संवादका माध्यमबाट प्रक्रियागत रूपमा समस्या समाधानतर्फ आफूले पहल थालेको भण्डारीले बताए । वन क्षेत्रमा पर्ने उक्त ठाउँको सीमासमेत यकिन नभएकाले नापजाँच गर्नुपर्ने देखिएको उनको भनाइ छ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले फोहोर व्यवस्थापनमा आफूहरू गम्भीर रहेको दाबी गरे । अहिले देखिएको समस्या सुल्झाउन प्रक्रियागत रूपमा काम गरिने उनले बताए । दिसाजन्य फोहोरको उचित व्यवस्थापन भइरहेको र वातावरण दूषित भएको कुरालाई ध्यानमा राखी प्लास्टिकजन्य फोहोर जलाउन बन्देज गरिएको नगरपालिकाको दाबी छ। वीरेन्द्रनगरले दिसाजन्य लेदो प्रशोधनका लागि ल्यान्डफिल साइटमा फाल्ने गरेको जनाएको छ। पहिलेभन्दा फोहोर व्यवस्थापन प्रभावकारी बन्दै गएको नगरपालिकाको जिकिर छ।
पालिका बहस । ८ माघ २०७९, आईतवार १०:३८