आकांक्षी धेरै हुँदा कर्णालीमा कांग्रेसबाट मन्त्री छान्न सकस

सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादीबाट मन्त्रीले राजीनामा दिएको हप्ता दिन नाघिसक्दा समेत नेपाली कांग्रेसले मन्त्री छान्न सकेको छैन। जसका कारण मन्त्रीको दौडमा सांसदहरु काठमाडौं धाइरहेका छन्। कांग्रेसभित्रको गुट उपगुटका कारण मन्त्री छान्न सकस भइरहेको हो।

कांग्रेसको प्रदेश पार्टी कार्यालयमा श्रावण १३ गते कार्य सम्पादन समितिको बैठकबाट मन्त्री छान्न मापदण्ड समेत बनायो। शक्ति केन्द्रको इसारा नआउँदा प्रदेशमा कांग्रेसले मन्त्रीको नाम पठाउन सकेन्। योग्यता, क्षमता, समावेशितालाई आधार मानेर सरकारमा समावेश हुने मन्त्रीहरूको नाम सिफारिस गर्न कर्णाली प्रदेश सभा कांग्रेस संसदीय दललाई निर्देशन दिएको नेपाल कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीले बताए।

४ जना मन्त्रीको लागि विशेष गरी ७ जना मन्त्री हुने दाबी गरिरहेका छन्। जसमा शेखर समूहबाट सुरेश अधिकारी र संस्थापन समूहबाट राजीव विक्रम शाह, विजया बुढा, जानकी सिंह, घनश्याम भण्डारी, पूर्ण चालिसे र हिक्मत विष्ट रहेका छन्।

संस्थापन समूहबाट राजीव विक्रम शाहलाई आरजु देउवाले, विजया बुढालाई जिवनबहादुर शाहीले र घनश्याम, पूर्ण र हिक्मतमध्ये एक जनालाई उपसभापति पूर्णबहादुर खड्काले छान्ने श्रोतको भनाई छ । केन्द्रीय सदस्य भएकाले आफू मन्त्री हुनुपर्ने सांसद जानकी सिंहको दाबी छ।

यसअघि मन्त्री भइसकेका खड्क बहादुर पोखरेल पनि मन्त्री हुनसक्ने सम्भावना रहेको काँग्रेस निकटहरू बताउँछन्। मन्त्रीको आंकाक्षी बढी हुँदा छान्न ढिलाई भएको जनाइएको छ। कर्णाली प्रदेशमा एमालेबाट यामलाल कँडेलले नेतृत्व ९मुख्यमन्त्री० गरेका छन्।