४०० केभी प्रसारणलाइन बनाउन १५ अर्ब लाग्ने अनुमान


सुर्खेत । भेरी करिडोरमा ४०० केभी प्रसारण लाइनका साथै सबस्टेसन निर्माण गर्न १५ अर्ब रकम लाग्ने अनुमान छ । जाजरकोट नलगाड नगरपालिका–७ स्थित दानीपिपलमा ४०० केभी र सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा प्रसारण लाइनको सबस्टेसन निर्माणका लागि उक्त रकम लाग्ने राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डाक्टर नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए ।
नलगाड नगरपालिका–७ मा दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सबस्टेसन बनाउ जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । भेरी नदीबाट निर्माण हुने विद्युत आयोजना, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना ८२.३ मेगावाट, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट विद्युत र सानीभेरी नदीबाट उत्पादित विद्युत नलगाड नगरपालिकाको दानीपिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सबस्टेसनमा पठाएर राष्ट्रिय प्रसारणमा जोडिने लक्ष्य छ ।
भेरी करिडोरमा निर्माण हुने प्रसारणलाइन र सबस्टेसन निर्माण गर्न भारतीय एक्जिम बैंकले इच्छा जाहेर गरेको अधिकृत ज्ञवालीले बताए । ४०० किलोभोल्ट प्रसारणलाइन परियोजनामा लगानी गर्न उक्त बैंकले इच्छा जाहेर गरेपछि अहिले आवश्यक कागजात उपलब्ध गराउने काम भइरहेको उनले बताए । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले गरेको प्रस्तावमा एक्जिम बैंकले लगानी गर्न सकारात्मक संकेत दिएपछि भेरी करिडोरमा प्रसारणलाइन निर्माणका लागि आशा पलाएको छ ।
अहिले भएको छलफलअनुसार काम भए अर्को वर्ष निर्माण चरणमा जाने सम्भावना रहेको उनले बताए । प्रसारण लाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ । करिब ६ महिनाअघि नै स्वदेशी कम्पनी नियुक्त गरेर अध्ययन गरिएको ज्ञवालीले बताए । आन्तरिक स्रोतबाट उक्त रकम जुटाउन नसक्ने अवस्था आएपछि आयोजना निर्माणका लागि ऋण लिनुपर्ने अवस्था आएको हो ।
ऊर्जा मन्त्रालयले नलगाड जलविद्युत आयोजनाको कम्पनी खडा गरेर विस्तृत अध्ययन गरिरहेको छ । चालू वर्षभित्रै अध्ययन सक्ने योजना छ । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना, करिब ८२ मेगावाटको जगदुल्ला ‘ए’ लगायतका आयोजना विद्युतसमेत यही प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रणालीमा आउने छ । जगदुल्ला जलविद्युत आयोजना आगामी वर्षबाट निर्माणमा लैजाने तयारी छ । सरकार आफैंले निर्माणको योजना बनाएको हो भने जगदुल्ला ‘ए’ को अहिले सम्भाव्यता र ईआईए अध्ययन चलिरहेको छ ।
भेरी करिडोरभित्र ठूलाठूला आयोजना निर्माण हुन लागेकाले नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिने बिजुलीसमेत नलगाडको दानीपिपलमै ल्याइने भएको बताएको छ । यहाँ दुई हजार ५०० मेगावाट विद्युत यस सबस्टेसनबाट बाहिर जाने लक्ष्य छ । दानीपिपल लगायतका सबस्टेसन निर्माण कार्य सुरु गरेको चार वर्षभित्र पूरा गर्ने लक्ष्य छ । डबल सर्किट प्रसारणलाइन भएकाले पनि यो महत्वपूर्ण मानिएको छ ।
सुरुको नलगाड सबस्टेसन दानीपिपल र अन्तिमबिन्दु सुर्खेतको मेनटाडा सबस्टेसनमा रहने छ । प्रसारणलाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यान हुँदै सुर्खेत पुग्ने छ । यो जम्मा १५० किलोमिटर रहेको छ । प्रसारण लाइनका लागि जग्गा मूल्यांकनको काम बाँकी छ । ६ हजार ९२० रोपनी जग्गा अधिग्रहण गरिने छ । सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले बनाएको छ । यस क्षेत्रमा ठूला रुख तथा धेरै जग्गा अधिग्रहण नहुने कम्पनीको भनाइ छ ।
कोहलपुरबाट सुर्खेतसम्म अहिले १३२ केभी प्रसारण लाइनको काम चालू अवस्थामा छ । निकुन्जभित्र भएकाले केही समय काममा विलम्ब भए पनि अहिले कामले रफ्तार लिएको नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालयले जनाएको छ । अहिले ११ र ३३ केभी प्रसारण लाइनको काम जाजरकोट हुँदै डोल्पासम्म निर्माण कार्य जारी छ । जाजरकोटका तीन ठाउँमा सबस्टेसन निर्माण गर्नका लागि ठेक्का लागेर काम हुने चरणमा पुगेको छ भने चौखामा निर्माण कार्य भइरहेको छ । भेरी नदीबाट विद्युत निकाल्न ठाउँठाउँमा अध्ययनका काम भइरहेका छन् ।