विपद्को पीडामा कालीकोट

बेमौसमी वर्षापछि आएको पहिरोले तिलागुफामा १९ सहित २४ को मृत्यु, ७१३ घर उच्च जोखिममा

कालीकोट । दसैंको दिनदेखि सुरु भएको बेमौसमी वर्षापछि गएको पहिरोले कालीकोटको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षापछिको पहिरोले तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए ।  अन्य ठाउँमा ५ जनाको मृत्यु भयो । हालसम्म ७ जनाको शव भेटिए पनि १६ जना अझै बेपत्ता छन् ।

९ वटै स्थानीय तहमा गरी ५ सय ९० घर पूर्ण रूपले भत्किएका छन् । ७ सय ४२ घरमा आंशिक क्षति पुगेको छ । पहिरोले ७ सय १३ घर अझै उच्च जोखिममा छन् । असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति असोज २३ गते पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । ‘यति बेलाको जति वर्षा त असार/साउनमा पनि भएन,’ उनले भने, ‘बेमौसमी वर्षाले जिल्लालाई नै अस्तव्यस्त बनायो, पहिरो नगएको ठाउँ नै छैन, स्थानीयका घर, जग्गा, सडक, खानेपानी केही बाँकी रहेनन् ।’

पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोरसहित जिल्लाका ६३ ग्रामीण सडक क्षतविक्षत भएका छन् । कर्णाली राजमार्ग अवरुद्ध हुँदा मध्यपहाडी लोकमार्गको वैकल्पिक बाटोबाट कालीकोटको पिलीसम्म सडक सञ्चालनमा आए पनि कर्णाली करिडोर पुरै अवरुद्ध छ । वर्षा सुरु भएदेखि गाडी नचलेकाले कर्णालीका कालीकोट, जुम्ला, मुगु र बाजुराको पूर्वी भेगमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव भएको छ ।

‘सडक छैन, ढुवानी नहुँदा खाद्यान्नकै हाहाकार होलाजस्तो छ,’ कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले भने, ‘मूल्य पनि अचाक्ली वृद्धि भएको छ, मध्यपहाडीको बाटो खुले पनि ढुवानीका साधन अझै सञ्चालन हुन सकेका छैनन् ।’ पहिरोले अवरुद्ध कर्णाली राजमार्गको पिली र जुम्लाको रारालिहीमा काम भइरेहको भए पनि राजमार्ग खुल्न अझै दुई साताभन्दा बढी लाग्ने सडक डिभिजन कार्यालय जुम्लाको अनुमान छ । कर्णाली करिडोरको कालीकोट र बाजुरा खण्ड पुरै अवरुद्ध छ । ‘कतिपय ठाउँमा त पैदल हिँड्ने बाटो पनि छैन,’ रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले भने, ‘बरु सडक नहुने बेला पैदल भए पनि सुरक्षित रूपमा हिँड्न पाइन्थ्यो ।’

कर्णाली राजमार्गको ९३ ठाउँमा पहिरो गएकामा कालीकोटको पिलीदेखि नाग्मसम्मको पहिरो हटाउने काम भइरहेको छ । कर्णालीवासीको भरपर्दो आवतजावत गर्ने एक मात्र माध्यम अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको स्थानीय अगुवा नारायण शाहीले बताए ।

उनका अनुसार जहाज पनि नचलेकाले जुम्ला, मुगु, हुम्ला र बाजुराको पूर्वी भेग कोल्टी क्षेत्रका बासिन्दासमेत पैदल हिँडेर आउजाउ गर्न बाध्य छन् । मुगुबाट ५ दिन लगाएर पैदल मान्म पुगेको खल्याड–९ का बमबहादुर कार्कीले गुनासो पोखे । ‘घरबाट हिँडेको ५ दिन भइसक्यो, बल्ल मान्म पुगियो,’ उनले भने, ‘सुर्खेत कहिले पुग्ने हो ठेगान छैन ।’

वातावरणीय प्रभाव मूल्यांकनबिनै डोजर लगाएर खनिएका सडकका कारण धरै ठाउँमा पहिरो गएको नागरिक अगुवा लीलाराम न्यौपानेले बताए । ‘कालीकोट पहिलेदेखि नै पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो,’ जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा सहजीकरण गर्दै आएका उनले भने, ‘अव्यवस्थित सडक सञ्जालले जनजीवन अस्तव्यस्त बन्यो ।’

कालीकोटमा यस वर्षमा पहिरोले हालसम्मकै बढी मानवीय क्षति गरेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए । उनका अनुसार असोज २५ गते मात्र २३ जनाले ज्यान गुमाए भने ५ जना गम्भीर घाइते भए । पहिरोले पशुचौपाया, विद्युत्, सडक, व्यक्तिगत घर, विद्यालय, स्वास्थ्य संस्था, पुल, बाटो खेतबारीलगायत सरचना बगाउँदा झन्डै १ अर्बको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ । सबै स्थानीय तहबाट पूरै विवरण अझै आउन बाँकी रहेको समितिले जनाएको छ ।

५१ गाउँबस्ती जोखिममा

कालीकोटको पहिरोले ९ वटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन् । सबैभन्दा नरहरिनाथका १३ बस्तीका ५ सय बढी घर पहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिका तिलागुफा छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती पहिरोको जोखिममै रहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।

रास्कोटका ११, सान्नीत्रिवेणीका ७, तिलागुफाका ७, खाडाचक्रका ७, शुभकालिकाका ४, महाबैका ५, पचालझरना र पलाताका ७ वटा बस्ती पहिरोको उच्च जोखिममा छन् । ती बस्तीका नागरिक बेलुकी पानी परेको बेला घरमा बस्न सक्ने अवस्था छैन । कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तको घरमा सुत्न जान्छन् ।

यो वर्ष कालीकोटमा घर भत्किएकाले राहतका लागि रेडक्रसमा निवेदन दिनेको संख्या ६ हजार नाघेको सभापति बलप्रसाद संज्यालले बताए । ‘पहिरोले घर, गोठ भत्कायो भनेर निवेदन दिने दिनहुँ आउने गरेका छन्,’ उनले भने, ‘सबैलाई त्रिपाल पनि दिन सकिने अवस्था छैन ।’

कालीकोटको पहिरोमा ज्यान गुमाएका पीडित परिवारले अझै सरकारबाट पाउने नगद राहत नपाएको गुनासो गरेका छन् । जिल्ला प्रशासनले स्थानीय तहबाट सिफारिससहित कागजात आएकालाई बैंकमार्फत नगद दिने जनाएको छ ।

पहिरोमा घर क्षति भएका केही परिवारलाई सरकारले हेलिकोप्टरमार्फत पाल, खाद्यान्नलगायत सामग्री झारे पनि धेरैले पाएका छैनन् । तिलागुफाका विक्रमबहादुर शाहीका अनुसार खाने अन्न, लत्ताकपडा र भाँडाकुँडा सबै पहिरोले बगाएपछि सास्ती भएको छ । तिलागुफा, रास्कोट, खाडाचक्रलगायत केही स्थानीय तहले त्रिपाल र खाद्यान्न वितरण गरे पनि अपुग भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।