गमगढी–नाक्चेनाङ्ला सडक १८ वर्षदेखि अलपत्र

जुम्ला । कर्णाली प्रदेशको गमगढी–नाक्चेनाङ्ला सडक निर्माण १८ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । गमगढी–नाक्चेनाङ्ला सडक निर्माणले कर्णालीलाई उत्तरी चीनसँग जोड्ने र कर्णालीको विकासमा टेवा पुग्ने भए पनि उक्त सडक आयोजना निर्माण कार्य अघि बढ्न नसकेपछि अलपत्र परेको हो ।

कुल ८५ किलोमिटरको उक्त सडक चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । तर सरकारको बेवास्ताकै कारण सडक निर्माण अलपत्र भएको मुगाली समुदायको गुनासो छ । संघीयता कार्यान्वयन हुनु पहिले सर्वे भई निर्माण सुरु भएको सडक आयोजनामा संघीयतापछि पर्याप्त बजेट नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको हो ।

हाल ठूला आयोजना संघले हेर्ने भन्दै प्रदेश मौन बस्ने र संघले वास्ता नगर्ने प्रवृत्तिले कर्णालीबासीको जनजीवनसँग जोडिएको गमगढी–नाक्चेनाङ्ला सडक सडक अलपत्र अवस्थामा पुगेको मुगुका सञ्चारकर्मी नन्द रोकाया बताउँछन् । गमगढी–नाक्चेनाङ्ला सडकको २०६२/६३ मा विस्तृत सर्भे भएको थियो । सर्वे प्रतिवेदन फाइनल भएपछि आर्थिक वर्ष २०७२/७३ सालबाट योे सडक निर्माण सुरु गरिएको थियो ।

विगत १८ वर्षको अवधिमा कुल ८५ किमी दुरी रहेको यो सडकको १७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । १८ वर्षदेखि सडक आयोजना अलपत्र पर्दा पनि संघीय सरकारको नीति र बजेटको प्राथमिकतामा नपर्दा आयोजनानै बेवारिसे बनेको छ । १८ वर्षमा १७ किमी खोलिएको ट्रयाक कतै घोरेटो बाटो जस्तो छ । चाडै सडक बन्ला, गाडी चढौंला भन्ने सपना बुनेका मुगालीबासी सडकको दुरावस्था देखेर संघीय सरकारले गरेको उपेक्षाप्रति आक्रोसित भएका छन् ।

सडक नबन्दा मुगुमकार्मारोङ गाउँपालिकाका स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामान खरिद गर्न २/३ दिन पैदल हिँडेर सदरमुकाम गमगडी पुग्नु पर्ने बाध्यता रहेको छ । केही जटिल खालको बिरामी भएमा चाहेर पनि तत्काल उद्धार गर्न नसकिने स्थिति रहेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

उनले भने,‘राज्यकै उपेक्षाको कारण दुर्गम क्षेत्र झनै पछि पर्‍याे । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये नाक्चेलाग्ना नाका छोटो नाका हो । यो सडक बनेमा मुगुलाई मात्र नभई सिंगो कर्णालीलाई राहत पुग्छ । यसमा प्रदेश सरकारले पहल गरेको देखिएन । आयोजना अलपत्र पर्दा हामीलाई समस्या भयो ।’ मुगुमकार्मारोङ गाउँपालिका–८ माग्री डाँडाको भिर चट्टान फोड्न बजेट माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष लामाले बताए ।

गमगढी नाक्चेनाङ्ला सडकको लागि गत वर्ष ८० लाख बजेट विनियोजन भए पनि खर्च हुन नसकेर फिर्ता भएको थियो । सडक विस्तार नभएकै कारण उक्त गाउँपालिकाले विकासको अनुभूति गर्न सकेको छैन । भौगोलिक कठिनाइले आयोजनाको लागतभन्दा ढुवानीमा बढी बजेट खर्च हुने भएकोले सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग मुगालीबासीको छ ।

गत वर्ष कर्णाली प्रदेशले आफ्नो लगानीमा ढुंगेधारादेखि लाम्रिसम्म ६ किलोमिटर सडक खनिएको छ । चालु आर्थिक वर्षमा लामासिमबाट पालिकाको मुख्य केन्द्र पुलसम्म सडक पुर्‍याइने कार्य योजना रहेको अध्यक्ष लामाले जानकारी दिए । यो सडक आयोजना सडक डिभिजन जुम्लाले हेर्दै आएको छ । बजेट अभावकै कारण सडक अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।

ढुवानीमा खच्चडको भर
मुगुमकार्मारोङ गाउँपालिका सडक सञ्जालसँग नजोडिँदा करान भेगका बस्तीमा अझै खाद्यान्न ढुवानी खच्चडकै भरमा हुने गरेको छ । मुगुमकार्मारोङ– ९ छायलसम्म सडक जोडिएको भए पनि माथिल्लो करान भेगमासडक सञ्जाल जोडिएको छैन । भौगोलिक हिसाबले निकै दुर्गम करान भेगमा सडक नपुग्दा नागरिकले सास्ती पाउने गरेका छन् ।

जसका कारण दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्रीसम्म खच्चडकै भरमा ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीय पेमालामाले बताए । उनले भने,‘निर्माण सामग्री खच्चडले बोक्छन् । खाद्यान्न मान्छेले बोक्छन् । भिरालो बाटोले ज्यान नै दाउमा लगाउनु पर्ने अवस्था छ । राज्य हाम्रो समस्याप्रति सधैं अनुदार देखिएको छ ।’ सडक आयोजना अलपत्र परेपछि कर्णालीबासीको तिब्बतमा जडीबुटी, ऊन र नुनका साथै भेडा–च्यांग्राको व्यापार विस्तार गर्ने सपना साँघुरिँदै गएको भन्दै स्थानीले चिन्ता व्यक्त गरेका छन् ।

१८ वर्षमा १७ किमी मात्रै निर्माण भएको छ । निर्माण भए पनि सडक जस्तो छैन । जसका कारण कार्मारोङका किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस र पुवा गाउँका स्थानीयलाई पैदल नै हिड्नु पर्ने कष्ट रहेको छ । सडक नपुगेकै कारण गमगडीमा २५ सय पर्ने चामल कार्मारोङमा क्षेत्रमा ४ हजारदेखि ५ हजारसम्म पर्ने गरेको छ ।