विपतकाे उच्च जोखिममा वीरेन्द्रनगर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लगभग १८ हजारभन्दा बढी घरधुरी विभिन्न खाले प्राकृतिक प्रकोप र विपत्को उच्च जोखिममा रहेको पाइएको छ। विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनले यहाँका करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको जनाएको छ। नगरपालिकाको १६ वटै वडामा रहेका २९ हजार २१६ घरधुरीमध्ये १७ हजार ९४२ घरधुरी प्राकृतिक प्रकोपको जोखिममा देखिएका छन् । नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुबानलगायतको जोखिम उच्च रहेको छ। वडा नम्बर–१२ को खोरिया, १३ को अधिकांश भूभाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ। उक्त वडामा बसोबास गर्ने एक हजार ३३५ घरधुरीमध्ये ६६७ घरमा पहिरोको जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ। वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन्।

त्यस्तै वडा नम्बर ९ र १० डुबानको उच्च जोखिममा छन्। बाढी र डुबानबाट आंशिक र पूर्ण गरी एक हजार दुई सयभन्दा बढी घरधुरी प्रभावित हुने देखिएको छ। वीरेन्द्रनगरका कतिपय बस्तीमा आगलागीको समेत जोखिम छ। नगरका २२५ घरधुरी आगलागीको जोखिममा छन्। नगरले तयार पारेको यो प्रतिवेदन विपत्को अनुमानित अवस्थाको अध्ययन भएको पौडेलले बताउनुभयो। वीरेन्द्रनगर भूकम्पको समेत जोखिममा रहेको छ। भूकम्प गए यहाँका पाँच हजार ८४३ घरधुरी पूर्ण र १५ हजार १९२ घरधुरीमा आंशिक क्षति पुग्ने अनुमान गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो तथ्याङ्क अनुसार हाल नगरमा एक लाख १५ हजार बढीको बसोबास छ। नगरपालिकाले विभिन्न चरणमा गरेर विपत् प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो। बढ्दो अव्यवस्थित बस्तीका कारण पनि वीरेन्द्रनगर विपत्को जोखिममा छ। प्रमुख ढकालले नगर विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६ को अधिकार क्षेत्रभित्र रहेर पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।

यसै अनुरूप कार्यक्रम तथा बजेट निर्माणका साथै सम्भावित जोखिमका क्षेत्र पहिल्याउन र सोही अनुसार न्यूनीकरणका लागि कार्य गरिरहेको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो। प्रदेश सरकारले नीति नै निर्माण गरेर विपत्को सामना गर्ने खालका कार्यक्रम कार्यान्वयन गरिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। कमजोर भूवनावटका कारण कर्णाली प्रदेश नै विपत्को उच्च जोखिममा छ। वर्षामा बाढीपहिरोबाट ठुलो क्षति हुन्छ। हिउँदमा आगलागी र हावाहुरीबाट जनधनको नाश भइरहेको छ।

प्राकृतिक विपत्ले कर्णालीलाई छाडेको छैन। राजधानीबाट टाढाको भौगोलिक दुरीमा रहेको कर्णालीको विपत् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिन्छ न त पीडितले नै समयमै राहत पाएका छन्। पछिल्लो समय बनेका सडक पूर्वाधारलगायतका संरचनाका कारण कतिपय ठाउँमा बस्ती नै जोखिममा पर्ने गरेका छन् । अहिले आएको बेमौसमी बाढीले झन् ठुलो क्षति पु¥याइरहेको छ।