बंगुर पालनबाट आम्दानीका साथै फोहोरको दीर्घकालीन व्यवस्थापन

जुम्ला । जुम्लाका मनोज बुढाथोकी मगरले व्यावसायिक बंगुर पालन गरेर आय आर्जन बढाउनुका साथै बजारको फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका निर्वाह गरेका छन् ।​ एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा मनोजले ३ वटा बंगुरबाट व्यावसाय सुरु गरेका हुन् । अहिले उनको फार्ममा बंगुरको संख्या ४५ पुगेको छ ।

बहुउद्देश्यीय लक्ष्यले बंगुर पालन सुरु गरिएको बताए । बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको ठुलो चुनौती छ । मगरले बंगुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा परिणत गरिरहेका छन् । बजारका फोहोरलाई उनले बंगुरको आहारका रुपमा प्रयोग गरेका छन् ।

दैनिक रुपमा जुम्ला बजारमा झण्डै ३ क्विन्टल कुहिने फोहोर सङ्कलन गरी बंगुरको दानाको रुपमा प्रयोग गरिरहेको उनले बताए । बंगुरको दानाका लागि मनोजले फोहोर संकलन गर्दा पछिल्लो समय बजारको फोहोर कम हुँदै गएको छ ।

२०७४ सालमा ६ लाख लागतमा सुरु व्यवसाय गरेका उनले बंगुर पालनसँगै व्यावसायिक तरकारी खेती गर्ने योजना पनि बनाएका छन् । बंगुर फार्म आसपासको जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बंगुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना उनले बनाएका हुन् ।