पञ्चवर्षीय योजना बनाउँदै वीरेन्द्रनगर

 

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले पञ्चवर्षीय योजना निर्माण गर्न लागेको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरले पूर्वाधार विकासलाई एकीकृत गर्ने गरी योजना निर्माण गर्न लागेको हो । विकास साझेदार सङ्घसंस्थासँग मिलेर पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिईन् । अब बन्ने योजनाका विषयमा विभिन्न क्षेत्रसँग छलफल गरिने उनको भनाइ छ । पूर्वाधार विकास, स्वास्थ्य, कृषि, शिक्षा र ऊर्जालाई प्रमुख प्राथमिकतामा राखिने छ ।

योजना निर्माणका लागि विभिन्न चरणमा विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका लागि बढ्दो जनसङ्ख्या चुनौतीका रूपमा रहेको छ । अव्यवस्थित रूपमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । जसले गर्दा नगरपालिकालाई व्यवस्थित सहर निर्माण गर्न सकस परेको हो । उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्ने गरी पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको नगरप्रमुख ढकालको भनाइ छ । योजनाबद्ध विकास निर्माणका लागि पञ्चवर्षीय योजनाको आवश्यकता अनुभूति भएको ढकालले बताईन् ।