३१ महिनामा पूरा हुने डिपिआर ६ वर्षसम्म निर्माण भएन

सुर्खेत । ३१ महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन ।
सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्लुएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो ।
पटकपटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका स्थानीय बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीचबीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ । अब ३ सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म ३ सय ५२ मिटर मात्र खनेको र बाँकी एक हप्ताभित्र पूरा हुने नलगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदम थापाले बताए ।
आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा पुगेर अध्ययन भइरहेको थापाले बताए । स्मेकलाई डिपिआरको काम छिटो सक्न पटकपटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने आयोजनाले बताएको छ । नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।
नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभाननजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म साढे ८ किमि लामो मुख्य सुरुङ र २ देखि ३ किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् । ५ सय मिटर लम्बाइ र २ सय ४८ मिटर अग्लो ड्याम बन्नेछ । जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ । आयोजनामा चारवटा टर्बाइन हुनेछन् । प्रत्येक टर्बाइनबाट १०४.२५ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा १ हजार २ सय ३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ ।
आयोजनाबाट उत्पादित विद्युत् ४ सय केभी डबल सर्किट प्रसारणलाइनमार्फत कोहलपुर सबस्टेसनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किमि लामो प्रसारणलाइन निर्माण भइरहेको छ । आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा वितरण गरिसकेको छ ।

अहिलेसम्ममा के काम भयो त ?
नलगाड नगरपालिका–७ दल्लीस्थित विद्युत् उत्पादनगृहमा जग्गा अधिग्रहण गरी मुआव्जा दिने काम सम्पन्न भएको छ । विस्फोटन पदार्थ प्रयोग गर्ने नेपाली सेनाका आवासदेखि कर्मचारीको आवास निर्माणको काम सम्पन्न भएको छ ।
आयोजना स्थलसम्म जानका लागि कच्ची सडक निर्माण कार्य पूरा भएको छ । नलगाड नदीमा पुल निर्माणको काम अधुरो नै छ । आयोजनाको ड्याम स्थलमा रहेका घर, जग्गाको मुआव्जाको कामसमेत सम्पन्न भइसकेको आयोजनाका कार्यकारी प्रमुख सुनिल पौडेलले जानकारी दिए । ८० प्रतिशत काम पूरा भए पनि २० प्रतिशत काम अधुरो रहेकाले डिपिआर फाइनल रिपोर्ट निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।