सुर्खेत क्षेत्र २ मा नेपाली कांग्रेसका हृदयराम थानी बिजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीले ३४ हजार ६ सय २५ मत ल्याएर बिजयी भएका हुन् । थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । एमाले नेता विसीले २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।

यस्तै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६ सय १ मत प्राप्त गर्दा राप्रपाले दुइ हजार ६ सय ३२ मत प्राप्त गरेको छ।थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जितेका हुन्। ०७४ मा नेकपा एमालेसँगको हारको बदला यो यो पटक थानीले लिएका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएर सहकारी तथा गरिवी निवारण मन्त्री समेत भएका थिए ।

को हुन् थानी ? 

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले नेकपा एमालेका अमृतकुमार बिसीलाई झण्डै ५ हजार मतान्तरले पछि पार्दै विजयी भएका हुन् । कुल खसेको ७६ हजार ३ सय ५२ मतमध्ये थानीले ३४ हजार ६ सय २५ प्राप्त गरे भने, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीले एमाले नेता विसीले २९ हजार ५ सय ५८ मत प्राप्त गरे । संसदीय निर्वाचनमा थानीको यो तेस्रो जित हो ।

२०७४ मा तत्कालिन एमाले माओवादी गठवन्धनमा नेकपा एमालेसँगको हारको व्यहोरेका थानी यो पटक माओवादीको सहयोगमा ह्याट्रिक मारेका छन् । २०७४ मा एमालेका नवराज रावत निर्वाचित हुँदा उनी पराजित भएका थिए । एमालेका रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६ सय ४६ मत प्राप्त गरेका थिए । २०५६ र २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थानी सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भइ सकेका छन् । कांग्रेस संस्थापन इतर पक्षका बलिया नेता मानिने नेता थानी २०१७ जेठ २६ गते बुवा पद्मलाल थानी र आमा देवी थानीको कोखबाट सुर्खेतको बयलकांडा थिए ।

पुलचोक इन्जिनियररिङ क्याम्पसबाट इञ्जिनियरिङ्ग सकेका थानीले शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक र त्रिवि किर्तिपुरबाट एमएसम्मको अध्ययन गरेका छन् । शुरु देखिनै विद्यार्थी राजनीतिमा लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए । स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए ।

नेपाली कांग्रेस जिल्ला कार्या समिति, सुर्खेतको २०४५÷२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए । नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९÷२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरेको उनीसँग अनुभव छ । नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए । थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ । उनले पटक पटक जेल जीवन विताएका छन। २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल पुगका थानी पुनः २०४६ सालको जनआन्दोलनमा जेल परेका थिए ।