
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५९ करोड २१ लाख ९५ हजार ६ सय ६५ रुपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष खिमबहादुर रावतले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक छविराज शर्माले बजेट पेश गरेका थिए ।
गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याएको जनाएको छ। नीति तथा कार्यक्रममा ‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। पशुपन्छीको नश्ल सुधार, कृत्रिम गर्भाधान, हरियो घाँस विस्तार, मोबाइल भेटेरिनरी सेवा तथा घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। गाउँपालिकालाई पूर्ण खोपयुक्त पशुपालन क्षेत्र घोषणा गर्ने लक्ष्यसमेत राखिएको छ।
पर्यटन क्षेत्रको विकासका लागि ‘घुम्न जाऔँ त्रिवेणी’ अभियानलाई निरन्तरता दिँदै पर्यटन गुरुयोजना निर्माण, पर्यटकीय सडक स्तरोन्नति तथा पदमार्ग निर्माण गरिने भएको छ। फलाबाङ दरबार निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यक्रमसमेत समावेश गरिएको छ। शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सूचना प्रविधिमैत्री शिक्षण, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब स्थापना, ई–हाजिरी प्रणाली, छात्रवृत्ति तथा एसइई तयारी अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई पुरस्कृत गर्ने नीति लिइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ त्रिवेणी स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा स्तरोन्नति गरी विशेषज्ञ सेवा उपलब्ध गराउन ६० लाख रुपियाँ विनियोजन गरिएको छ। सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य सेवा सञ्चालन, ग्रामीण अल्ट्रासाउन्ड सेवा, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम, रेबिज खोप व्यवस्थापन तथा मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
बजेटमा सामाजिक विकास क्षेत्रका लागि २५ करोड ६७ लाख ३५ हजार रुपियाँ विनियोजन गरिएको छ। दलित, महिला, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायलाई लक्षित आयआर्जन, सीप विकास र सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा बालमैत्री स्थानीय शासनलाई पनि प्राथमिकतामा राखिएको छ।
पूर्वाधार विकासतर्फ १२ करोड ९८ लाख ४३ हजार रुपियाँ विनियोजन गरिएको छ। ढुंगाबजार–पिमखोला–मखनटाकुरी हुँदै दाङ जोड्ने सडक, लुहाम–फलाबाङ–मखनटाकुरी सडक, लुहाम–ढोरचौर सडक स्तरोन्नति तथा वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ। खानेपानी, सिँचाइ तथा ग्रामीण सडक आयोजनामा समेत बजेट व्यवस्था गरिएको छ।
खानेपानी तथा सरसफाइ क्षेत्रअन्तर्गत ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिइने भएको छ। खानेपानी मुहान संरक्षण, शुद्ध पानी परीक्षण तथा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने नीति लिइएको छ । गाउँपालिकाले सबै नागरिकका घरको बीमा गर्ने नयाँ कार्यक्रमसमेत अघि सारेको छ। प्राकृतिक विपद्बाट घरमा हुने क्षतिका लागि बीमामार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको छ।
गाउँपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउन सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, कार्यसम्पादन सम्झौता तथा डिजिटल सेवा प्रवाहलाई प्रभावकारी बनाउने जनाएको छ।
अध्यक्ष रावतले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध, आत्मनिर्भर र सुशासित त्रिवेणी गाउँपालिका निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीका अनुसार बजेट कार्यान्वयनका लागि आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट तथा साझेदारी कार्यक्रममार्फत स्रोत व्यवस्थापन गरिनेछ।




पालिका बहस । १० असार २०८३, बुधबार ०८:५४