कालीकोटमा पानीकाे अभावले रोप्न ढिलाइ

सुर्खेत । विगतका वर्षमा असारको पहिलो सातामा कालीकोटमा आधाआधी खेतमा रोपाइँ भइसक्थ्यो । अहिले असारमा चर्को खडेरीले गर्दा कालीकोटका खेतमा धान रोप्न ढिलाइ भएको छ ।

रास्कोट नगरपालिकाका किसान असार महिना लागिसक्दा आकाशमा हेरेर दिन बिताइरहेका छन् । कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर उनीहरू बसिरहेका छन् । रास्कोट नगरपालिका–१ का छत्रबहादुर बमले धान रोप्ने जिउला असारको पहिलो सातामा रोपाइँ भइसक्ने गरेको स्मरण गर्दै अहिले आकाश हेर्दैमा दिन बितेको बताउनुभयो । कुलोको पानीले बल्लतल्ल चार गरा रोपे पनि धेरै जसो आकासे पानीको भर पर्नु परेको उहाँले जनाउनुभयो ।

अर्का किसान टेकबहादुर शाहीले पनि यतिबेला पानी परे सिम्सेरा रोपाइँ गरेर औल झर्नुपर्ने अवस्था रहेको तर अहिले पानी नपर्दा रोपाइँ कहिले हो भन्ने यकिन नभएको बताउनुभयो । पानी परेको खण्डमा एकै पटक रोप्न सकिने उहाँको भनाइ छ । अहिले कोटकाँडा, सिम्सेरा, मल्योबाडा, धुपिडाँडा, कोटखौला क्षेत्रका किसानले समेत धान रोप्न नपाएको जनाइएको छ । कोटकाँडामा रोपाइँ गर्न नपाएको किसान सुनामे सार्कीको भनाइ छ । गत साल पनि पानी परेन तर यतिको खडेरी भने नभएको उहाँले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय कालीकोटका सूचना अधिकारी रमानन्द खनालले गत वर्षको तुलनामा यो समय कालीकोटमा ४५ प्रतिशत रोपाइँ भइसकेको भए पनि यस वर्ष भने १५ प्रतिशतको हाराहारीमा मात्र भएको बताउनुभयो । सबैभन्दा समस्या पानी नपरेर भएको भन्दै उहाँले पानी पर्ने बित्तिकै एक हप्तामा रोपाइँ सकिने उल्लेख गर्नुभयो ।