जुम्लामा त्रिपक्षीय प्रतिष्पर्धा

सुर्खेत। कर्णाली प्रदेशको जुम्लामा प्रतिनिधि सभा सदस्यमा त्रिपक्षीय भिडन्त हुने भएको छ। सत्तारुढ गठबन्धनबाटतर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी गोमा गौतम (कुँवर), राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही र नेकपा एमालेका रतननाथ योगीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

यस अघिका निर्वाचनमा कांग्रेस र कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा हुने गरेमा यो पटक भने राप्रपाका शाहीको इन्ट्रीले त्रिपक्षीय भिडन्त हुने भएको हो। सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको छ भने एमाले र राप्रपा एक्ला एक्लै चुनावी मैदानमा छन्।

माओवादी केन्द्रका कुँवर, राप्रपा शाही र एमालेका योगीसँगै नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन्।कुँवर कर्णालीमा प्रतिनिधि सभाका लागि एक मात्र महिला उम्मेदवार हुन्।

गठबन्धनबाट उम्मेदवार रहेकी कुँवर २०७० सालमा समानुपातिकबाट संविधान सभा सदस्य तथा पशुपन्छी विकास राज्यमन्त्री भएकी थिइन्। उनी संविधानसभा सदस्य हुँदा रातो पासपोर्ट काण्डमा विवादित समेत बनेकी थिइन्। कुँवर जुम्लाबाट राष्ट्रिय राजनीतिमा छोटो समयमा उचाईमा पुग्ने महिला हुन्। तर, त्यो उचाईमा पुगेपनि जिल्लाका लागि काम गर्न नसकेको जुम्लीबासीको आरोप छ।

कुँवर भने त्यो आरोपलाई अस्वीरका गर्दै भन्छिन्,‘चुलो चौका सीमित रहेका दुर्गमका महिलाको प्रतिनिधित्व गर्दै आफूले देश र समाजका लागि केही काम गरेकी छु, जितेपछि महिलाले काम गरेर देखाउँछन् भने समाजमा देखाउन चाहन्छु।’

जिल्लामा पार्टीको जनाधार कमजोर रहे पनि ‘व्यक्तिगत जनमत रहेको’ भन्दै राप्रपा प्रवक्ता शाही आफूले जित्ने दाबी गर्छन्। उनी भन्छन्,‘मैले दुई पटकसम्म नागरिकको घरदैलो कार्यक्रम गरिसकेको छु। नागरिकका समस्याका बिषयमा जानकारी लिएको छु। मेरो जित्ने आधार पार्टीको संगठित सदस्यभन्दा जनाधार हो। यहाँका नागरिकको सदभाव पाएको छु।’

शाही जुम्लामा जनताले विगतमा परीक्षण भएका नेता तथा राजनीतिक दलभन्दा नागरिक नयाँ अनुसार ल्याउन चाहेको बताउँछन्। एमालेका उम्मेदवार रहेका योगी पूर्व तिला गाउँपालिका अध्यक्ष तथा एमालेका जिल्ला अध्यक्ष हुन्। उनी आफ्नो संगठन बलियो भएकाले जित्ने दाबी गर्छन्।

उनले भने,‘हाम्रो जिल्लामा एमाले संगठन बलियो रहेको छ। अर्को आधार भनेको एमालेको एजेण्डा हो।’एमालेका नेता तथा कार्यकर्ता गठबन्धन दलको असन्तुष्टीलाई पनि क्याच गरेर त्यही आधारमा चुनाव जित्ने दाउँमा रहेका छन्।

यस्तो छ अंकगणित

स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा यहाँ कांग्रेस सबैभन्दा ठूलो दल छ। दोस्रोमा नेकपा माओवादी र तेस्रोमा एमाले छ। आठ स्थानीय तह रहेको जुम्लामा कांग्रेसले पाँच पालिका प्रमुख र तीन उपप्रमुख जितेको छ भने माओवादीले दुई पालिका प्रमुख र चार पालिका उपप्रमुख जितेको छ। एकीकृत समाजवादीले एक उपप्रमुख जितेको छ।

चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। उनी कांग्रेस प्रवेश गरिसकेका छन्। स्थानीय तहको निर्वाचनको मत परिमाण हेर्दा वडा अध्यक्षमा कांग्रेसको आठ हजार ६५५, माओवादीको छ हजार ४३९, एमालेको दुई हजार १५७ र एकीकृत समाजावादीको एक हजार ५९६ मत छ। राप्रपाले ५४० मात्र पाएको थियो।