आफ्नै प्रहरी खटाउदै वीरेन्द्रनगर


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अब आफ्नै प्रहरीमार्फत नगरपालिकाको बजार व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको विभिन्न तोकेको मापदण्ड पुरा गरी छनोट भएका प्रहरीलाई नगरपालिकोको व्यवस्थापनका खटाउने तयारी गरेको छ । बरिष्ठ हवल्दारको कमाण्डमा खटाउन लागिएको नगर प्रहरीमा अहिले १५ जना प्रहरी छन् । प्रहरी निरीक्षकको कमाण्डमा नगर प्रहरी रहने कार्यविधी भए पनि उक्त पदमा आवेदन नै नपरेपछि बरिष्ठ हवल्दारको कमाण्डमा प्रहरी खटाउन लागिएको हो ।
नगर क्षेत्रको बजार तथा पार्किङ्गस्थलको रेखदेख र व्यवस्थापन, सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने अधिकार नगर प्रहरीलाई हुनेछ ।
विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्र्थापना, अनधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड तथा छाडा पशु चौपाया र अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम र नियन्त्रणमा नगर प्रहरी खटिने छ । स्थानीय प्रशासनसँग समन्वय पनि गर्ने र नगर क्षेत्रमा हुने अन्य गतिविधिहरूलाइ रोक्न नगर प्रहरीको भूमिका महत्वपूर्ण हुने नगर प्रमुख मोहनमाया ढकाल बताइन् ।
नगर प्रहरी परिचालनपछि नगरपालिकाले निर्माण गरेको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, सम्पत्तीको सुरक्षा र संरक्षण गर्ने, पार्क, नगर क्षेत्रमा हुने सभा, समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थान गर्नमा सहज हुने अपेक्षा नगर प्रमुख ढकालको छ ।
गत मंसिरबाट थालिएको नगर प्रहरी भर्ना प्रक्रियाको विभिन्न चरण पार गरी छनोट भएका नगर प्रहरीलाई नेपाल प्रहरीको नेपालगञ्जमा रहेको तालिम केन्द्रमा पठाएर तालिम पश्चात बैशाख १६ गतेदेखि काममा खटाउने तयारी भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक लामिछानेले जानकारी दिए ।
आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न केही ढिलाइ भएको हो, अब तत्कालै खटाउने गरी लागिरहेका छौं,’ लामिछाने भन्छन्, ‘तालिम सकेर आएका उनीहरुलाई अहिले बजारको वस्तुस्थिति बुझ्न सादा पोशाकमा सबै वडाहरुमा पठाइसकेका छौं ।’ स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर र गाउँपालिकालाई नगर प्रहरी गठन गर्ने अधिकार दिएको छ । ऐनको दफा ११ को उपदफा (२) क (१) ले दिएको अधिकार वीरेन्द्रनगरनले कार्यान्वनय गर्न लागेको हो ।