भूकम्प आउने भ्रामक हल्लाले रातभर सडकको बास

जुम्ला । जुम्ला र मुगुमा भूकम्प आउने भ्रामक हल्ला फैलाइएपछि स्थानीयहरु रातभर घर बाहिरै बस्न बाध्य भएका छन् । भूकम्प आउने त्रासका कारण मानिसहरु घर बाहिर निस्केर आगो बालेर रात कटाउन बाध्य भएका हुन् । जुम्लाको माइनस डिग्रीको कठ्यांग्रिदो चिसोमा मानिसहरु भूकम्प आउने भ्रामक हल्लाले खुला र सुरक्षित स्थानमा आगो बालेर बस्न बाध्य भएका हुन् ।

हिमा १ का दिवश शाहीलाई राति २ बजे ठूलो भूकम्पक आउँदैछ भनेर आफन्तको फोन नै आयो । त्यसपछि आत्तिएर घर परिवारलाई खुला स्थानमा लगेर रातभरि आगो बालेर बस्न बाध्य भएको उनी बताउँछन् । शाहीजस्तै जुम्लाका सबै स्थानीय तहका नागरिक भूकम्पको त्रासले चिसोमा बास्न बाध्य भएका थिए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको आदेशमा प्रहरीले भूकम्प आउने भ्रामक हल्ला फैलाउने मानिसको खोजी शुरु गरेको छ । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश पनि दिरहेका थिए । भूकम्प आउँदैछ भन्ने विषयबारे बुझ्न मानिसहरुले स्थानीय प्रशासनलाई समेत टेलिफोन गरेका थिए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए । मानिसहरुलाई यसरी दुःख दिनेको खोजी कार्य शुरु भएको र कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केशरीले बताए । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले भूकम्प आउने पूर्व अनुमान पहिले नै गर्न नसकिने भन्दै हल्लाको पछि नलाग्न आम नागरिकलाई अनुरोध गरेका छन् । हल्ला फैलाउने व्यक्तिको खोजी गरी कारबाही गर्नुपर्ने उनले बताए ।