
सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा सञ्चालन भएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि कुल रु.६१ करोड ५९ लाख ५९ हजार ७०२ बराबरको बजेट पारित गरेको हो।
गाउँपालिकाका जनप्रतिनिधिहरूबीच सघन र सन्तुलित छलफल पश्चात् आगामी वर्षको बजेट सर्वसम्मत पारित गरिएको छ। पारित बजेटमा प्राथमिकताका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र ग्रामीण सडक पूर्वाधारको विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। गत आर्थिक वर्षमा सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका गौरवका आयोजनाहरूलाई चालु वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।
गाउँसभाबाट पारित भएको यो बजेट र नीति कार्यक्रमले नरहरिनाथ गाउँपालिकाको समग्र विकास र नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ।
सभाको समापन गर्दै गाउँपालिकाका अध्यक्षले गाउँसभालाई सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीयबासीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। यो बजेटको सफल कार्यन्वयनसँगै पालिकाले समृद्धि र सुशासनको दिशामा नयाँ फड्को मार्ने विश्वास लिइएको छ।




पालिका बहस । ११ असार २०८३, बिहीबार ०८:२४