१३ वर्षमा १६ किलोमिटर ट्रयाक

मुगु  । जिल्लाको एकमात्र राष्ट्रिय गौरवको आयोजना गमगढी–नाक्चेलाग्ना सडक खण्ड निर्माण सुरु भएको १६ वर्ष बित्दा बल्ल १६ किलोमिटर ट्रयाक खोलिएको छ । चीनसँग जोडिने यो सडकका लागि १६ करोड भन्दा बढी खर्च भइसकेको छ । मुगु जिल्ला सदरमुकाम गमगढीदेखि नाक्चेलाग्नासम्मको सडक निर्माण सडक डिभिजन कार्यालय जुम्लाबाट ०६७ सालदेखि सुरु भएको थियो । ९१ किलोमिटर लामो यो सडकको काम निकै सुस्त छ ।

मुगु र तिब्बतको नाक्चेलाग्नाबीच सन् १९१५ देखि पारिवारिकसँगै व्यापारिक सम्बन्ध रहँदै आएको छ । तर, सरकारले यो नाकालाई अहिलेसम्म वैधानिकता दिएको छैन । केही वर्ष अघिसम्म वर्षमा एकपटक बजार सञ्चालन हुँदै आएकोमा कोभिड महामारीपछि त्यो पनि रोकिएको छ ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका मुगु, डोल्फु, चितै, मह, माग्री, पुअ, रुउस, दाउरा किम्री, पुलुका बासिन्दाले दैनिक उपभोग्य वस्तु यही नाकाबाट आयात गर्छन् । यताबाट भने जडीबुटी तथा अन्य नेपाली सामान निर्यात हुने गरेको छ । तिब्बतसँग जोडिएका नेपालका सात नाकामध्ये नाक्चेलाग्ना सबैभन्दा छोटो र सहज नाका हो । तर, सरकारी बेवास्ताले सडक बन्न नसक्दा यसको सदुपयोग हुन सकेको छैन । सडक नबन्दा दैनिक उपभोग्य सामान चर्को मूल्यमा किन्नुपरेको मुगुम कार्मारोङका स्थानीय छुल्डिम लामाले बताए ।

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर नरेश केशरीले भने भौगोलिक विकटता र कडा चट्टान भएका कारण सडक निर्माणमा समय लागेको तर्क गरे । उनले भने, “कडा ढुंगा भएको ठाउँमा ब्लास्टिङ गर्नुपर्छ । नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गर्नुपर्ने भएको हुँदा सडक निर्माणमा ढिलाइ भएको हो । सरकारले गौरवको आयोजना त घोषणा गर्यो तर बजेट हरेक वर्ष कम विनियोजन हुँदा काम सुस्त भएको हो ।”

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यय छिरिङ क्याप्ने लामाले नाक्चेलाग्ना सडक नाममात्र गौरवको आयोजना भएको बताए । “राष्ट्रिय गौरवको आयोजना भनेर मात्र हुँदैन । सरकारले पर्याप्त बजेट नछुट्याउने हो भने ८५ किलोमिटर सडक निर्माण गर्न ७० वर्ष समय लाग्ने देखिन्छ,” उनले भने ।

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाहीले गमगढी–नाक्चेलाग्ना सडक संघीय सरकारअन्तर्गत पर्ने भएको हुँदा बजेट व्यवस्थापनको लागि संघीय सरकार नै जिम्मेवार हुनुपर्ने बताए । “प्रदेशको बजेटले यो आयोजना सम्पन्न हुन सक्दैन । पर्याप्त बजेट विनियोजन गराउन केन्द्र सरकारमा पहल गरिरहेका छौं,” उनले भने ।