स्थानीयको श्रमदानमा निर्माण भएको बसपार्क सञ्चालनको अन्तिम तयारीमा 

मुगु । डेढ करोड खर्च खर्चिएर पूर्णता नपाएको जिल्लाको एक मात्र बसपार्क स्थानीयको श्रमदानसँगै सञ्चालनमा आउने भएको छ । जिल्ला सदरमुकाम गमगढीमा निर्माण गरिएको उक्त बसपार्क माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको हो ।

डेढ दशक अघिदेखि निर्माण प्रक्रिया अघि बढेको बसपार्क निर्माण योजनाले पूर्णता नपाएर निर्माणाधीन अवस्थामा थियो । छायाँनाथ रारा नगरपालिका वडा नं– १ का वडा अध्यक्ष पीआर मल्लीले बसपार्क निर्माणका लागि ०६३ सालदेखि पटक–पटक साबिकको जिल्ला विकास समिति, श्रीनगर गाविस, छायाँनाथ रारा नगरपालिका र संसद् कोष गरी विभिन्न निकायबाट एक करोड ५० लाख खर्च भइसकेको छ ।

‘सदरमुकामको बजारमा नयाँ बसपार्कको निर्माणकार्यमा सम्पन्न नहुँदा गाडीहरु बजार क्षेत्रमा जथाभावी पार्किङ गरेर अस्तव्यस्त बनेको थियो’ उहाँले भन्नुभयो, ‘नगरप्रमुख विष्णुकुमार भामको अगुवाइमा श्रमदान गरेरै भए पनि निर्माण कार्य सम्पन्न भएको छ, अब सबैलाई सहज होला ।’

बसपार्क निर्माणका लागि समाजसेवी, नागरिक समाज, पत्रकार, सशस्त्र प्रहरी, जनप्रतिनिधि, नगरप्रहरी, नगरपालिकाका कर्मचारीलगायतले दैनिक रुपमा श्रमदानमा जुटेको उहाँको भनाइ छ । अहिलेसम्म १६ वटा ग्याबिन भर्ने कार्य सम्पन्न भएको छ र यसमा १६ लाख रुपियाँ सम्मको श्रमदान भएको उहाँको भनाइ छ ।