रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार जिल्लाको आठबिसकोटबाट जिल्ला सदरमुकाम मुसिकोट आउँदै गरेको लु १ ज १५६९ नम्बरको यात्रुबहाक जिप बुधवार बेलुका मुसिकोट नगरपालिका १ सल्लेदेखि तल रहेको सतिपोले नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परेर आठबिसकोट नगरपालिका २ का १५ वर्षीय भूपाल थापा, सोही स्थानका ५० वर्षीया कमला बुढा, ३० बर्षीया रमिता थापा बोहरा र आठबिसकोट ३ का ९ वर्षीय अभिषेक बोहरा घाइते भएका छन् । घाइते मध्य गोपालको हातको पन्जामा गहिरो घाउ रहेको छ भने कमलाको टाउकोमा चोट लागेको छ । अन्य दुईको भने अवस्था सामान्य रहेको छ । घाइतेहरूको प्रहरी र स्थानीयद्वारा उद्धार गरिएको र अहिले जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । उकालोमा जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ । चालक ध्रुव केसी र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पालिका बहस । १७ कार्तिक २०७९, बिहीबार ०८:५१