योजना बनाउन गाउँको आवश्यकता पहिचान गर्दै तिला गाउँपालिका


जुम्ला । तिला गाउँपालिकाले बस्तीको आवश्यकता पहिचान गरी सोही अनुसार योजना बनाउने भएको छ । त्यसका लागि पालिकाले बस्तीतहमा योजना छनौट गरेको जनाएको छ । आगामी आर्थिक बर्षको योजना र बजेट बनाउन बस्तीको आवश्यकता पहिचान गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले योजना छनौटका लागि ९ वटै वडाका २० वटा बस्तीबाट स्थानीयको सहभागितामा योजना छनौट गरी वडामा सिफारिस गरेको जनाएको छ । युएनडिपीको स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजनाको प्राविधिक सहयोगमा गाउँपालिकाका २० बस्तीबाट योजना छनौट गरी सम्बन्धी वडा कार्यालयमा ल्याइएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताईन् । ‘साँझेदार संस्थाको सहयोगमा २० बस्तीबाट योजना छनौट गरी ल्याई सकिएको छ’ उनले भने, ‘बाँकी बस्तीमा पनि पालिकाको नितन्तर काम भई रहेको छ ।’
बस्ती तहबाट माग भएका योजनाहरुको आधारमा आगामी आर्थिक बर्ष २०८०÷०८१ को निती तथा कार्यक्रम र बजेट निर्माण गरिने तिला गाउँपालिका उपाध्यक्ष बुढाको भनाई छ । बस्तीमा योजना तर्जुमा गर्दा स्थानीय आवश्यकता पहिचान हुने र योजना कार्यान्वयनमा पनि सघाउ पुग्ने उपाध्यक्ष बुढाको विश्वास छ । ‘बस्तीस्तरबाट आएका योजनाले नागरिकको माग सम्बोधन पनि हुने र योजना कार्यान्वयनमा पनि सजिलो हुने विश्वास गरिएको छ’ उनले भनिन् ।
आगामी बर्षको योजना तर्जुमाका लागि वडा कार्यालयको समन्वयमा गाउँपालिकाले हरेक बस्तीबाट योजना छनौट गर्ने काम भइरहेको उपाध्यक्ष बुढाले बताईन् । समुदायको सहभागिता योजना छनौट हुँदा वास्तविक आवश्यकता प्राथमिकीकरण हुने, स्थानीय आवश्यकता अनुसारकै योजना निर्माण गरिने र विवादरहित कार्यान्वयन गर्न मद्यत पुग्ने भएकाले योजना र बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिइएको उनले बताईन् । ‘स्थानीय आवश्यकताको पहिचान बस्तीकै नागरिकहरुले गर्ने भएकाले योजना तर्जुमामा पालिकाले बस्तीको सहभागिता बढाएको हो’ उनले भनिन् ।


आगामी आर्थिक बर्षको योजना तर्जुमाका लागि गाउँपालिकाले वडा कार्यालयको समन्वयमा साँझेदार संस्थासहित बस्ती तहबाट योजनाको प्राथमिकीकरण गर्न लागेको तिला गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत मोहनबहादुर बिष्टले बताए ।
युएनडिपीको स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत तिला गाउँपालिकाका योजना तथा क्षमता बिकास सल्लाहकार आकृती बस्नेतले बस्तीस्तरको योजना छनौटमा नागरिकहरुको उल्लेख्य सहभागिता रहेको बताईन् । ‘बस्तीस्तरको योजना छनौटमा स्थानीयको निकै उत्साह छ’ उनले भनिन्, ‘तर, बस्तीबाट प्राथमिकतामा परेका योजनाहरु पालिकाको प्राथमिकतामा पर्छन् भन्नेमा स्थानीयको आशंका पनि देखियो ।’ बस्तीमा सबै पक्षको सहभागिताले स्थानीय आवश्यकता पनि झल्काएको उनको भनाई छ ।


‘बस्तीमा सबैले आफ्ना आवश्यकताहरुको सम्बोधनको लागि सरकारलाई सुनाउने अवसरको रुपमा लिएका छन्’ बस्नेतले भनिन्, ‘सबै समुदाय र क्षेत्रको सहभागितामा बस्तीबाट आएका योजनाहरु वडा पालिका, बिषयगत शाखाहुँदै सिंगो पालिकाको प्राथमिकतामा पर्नेमा आफु विश्वस्त छौ ।’ बस्तीतहमा गरिएको योजना छनौटमा पालिकाले बनाउने टुक्रे योजना निरुत्साहित गर्न स्थानीयले माग गरेका छन् ।
पुर्वाधार बिकास, महिला शसक्तिकरण, कृषि उत्पादन, पशुपालन तथा शिक्षाका क्षेत्रमा लगानी गर्न स्थानीयले माग गरेको कर्णाली फाउण्डेसनका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताए । युएनडिपीको स्थानीय पूर्वाधार सहयोग कार्यक्रम र युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजनाको सहयोगमा कर्णाली फाउण्डेसनले तिला गाउँपालिकाका जनप्रतिनिधी, सामुदायिक संस्था र आमासमूहका प्रतिनिधी समेतलाई योजना तर्जुमा सम्बन्धी तालिम दिएर बस्ती तहको योजना तर्जुमामा समेत सहयोग गरेको उनले बताए ।