सरकारी गाडि प्रयोगविहीन, आफन्तका गाडी भाडामा

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले प्रयोग गर्दै आएका आफ्ना दुई वटा गाडी लामो समयदेखि सुर्खेतस्थित ग्यारेजमा थन्क्याइएको छ । नगरपालिकाका हरेक कामकारबाहीमा सहजताका लागि भनेर सरकारी ढुकुटीबाट खरिद गरिएका गाडी ग्यारेजमा थन्क्याएर नगरपालिकाले अहिले भाडाको गाडी प्रयोग गर्दै आएको छ । सुर्खेतको गण्डकी अटोमोबाइल नामको ग्यारेजमा ती सरकारी गाडी लामो समयदेखि पार्किङ गरी राखिएका छन् । ग्यारेज सञ्चालक खड्ग विश्वकर्माले नगरपालिकाका सवारीसाधन धेरै पहिलादेखि मर्मत गर्न राखिएको तर मर्मतको केही रुपियाँ दिन बाँकी रहेको बताए । उनका अनुसार केहीअघि भने मर्मतको पाँच लाख रुपियाँ भुक्तानी दिइएको थियो । उनले अछाममा बिग्रेको सेतो रङको गाडी आफूले मिस्त्री पठाएर बनाउन खोजे पनि नबनेपछि ट्रकमा हालेर ग्यारेजमा ल्याई बनाएको जानकारी दिए । ग्यारेजमा रास्कोट नगरपालिकाका दुई वटा गाडी छुट्टाछुट्टै पार्किङ गरेर राखिएका छन्  । ग्यारेजका कर्मचारीले गाडी एक वर्षदेखि राखिएको र मर्मतको भुक्तानी नपाएको गुनासो गरेका छन् ।

रास्कोट नगरपालिका–६ का महेश फर्सालले लामो समयदेखि रास्कोट नगरका गाडी राखिएको आफूले पनि देखेको बताए  । नगरपालिकाको बा. १ झ ६४२२ नम्बरको रातो गाडी २०७९ साल साउनदेखि मङ्सिरसम्म कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ को झाम्ला मोडमा थन्किएको थियो ।  नगरपालिकाको अर्को भे. १ झ २५६ नम्बरको सेतो गाडी नगरप्रमुख धर्मराज शाहीले चढ्दै आएका छन् ।  उनले नगरपालिकाको गाडी बिग्रेको भन्दै ग्यारेजमा राखेर अहिले भाडाको गाडी चढ्दै आएका  छन् ।

नगरप्रमुख शाहीले नगरपालिकाका दुई वटा गाडीका साथै स्थानीय आफ्नै नाता पर्नेको स्कोर्पियो गाडी भाडामा लिएका हुन् । एकै व्यक्तिले तीन वटा सवारीसाधन प्रयोग गर्ने गरेका छन् । गत वर्षबाट मासिक एक लाख ८० हजार रुपियाँ तिर्ने गरी स्कोर्पियो भाडामा लिएर नगरप्रमुख शाही चढ्दै आएका छन् । भाडाको गाडी सञ्चालनका लागि सम्झौता गरिएको पत्रमा नगरप्रमुख शाहीका नातेदार अलिबहादुर शाहीको नाम उल्लेख भए पनि उक्त गाडी नगरप्रमुख शाहीकै भएको बताइएको छ ।

गत फागुन २१ गते गोरखापत्रमा कमिसनको भरमा भाडाको गाडी शीर्षकमा समाचार प्रकाशन भएपछि नगरप्रमुख शाहीको सर्वत्र आलोचना भयो । तर पनि उनले सरकारी गाडी चढ्ने सोच बनाएकाे देखिदैन । मासिक एक लाख ८० हजार सरकारी रकम खर्च गरेर भाडाको गाडी प्रयोग गर्ने गरिएको छ । गाडी मर्मत भएर सञ्चालन हुने अवस्था भए पनि नगरप्रमुख शाहीले सरकारी गाडी ग्यारेजबाट ल्याउने पहल नगरेको कर्मचारीको भनाइ छ ।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले अहिले नगरका गाडी बिग्रेकाले स्थानीय अलिबहादुर शाहीको गाडी भाडामा लगेर नगरप्रमुखले चढ्ने गरेको पुष्टि गरे । नगरपालिकाका सवारीसाधन बिग्रेकाले अरू सवारीसाधन भाडामा लिनु परेको बमको दाबी छ । गाडी बिग्रेको बहानामा लामो समयसम्म ग्यारेजमा थन्क्याउने अनि आफन्तका सवारीसाधन भाडामा प्रयोग गरिरहने प्रवृत्तिले नगरपालिकाका पदाधिकारी अहिले निकै आलोचनाका पात्र बनेका छन् । स्थानीयका बुझाइमा यो काम अरू केही नभई कमिसनको खेलमा यस्तो भइरहेको छ ।

भाडामा लिएका सवारीसाधनको भाडा रकम पनि सस्तो छैन । महिनाको झन्डै दुई लाख रुपियाँ सवारीसाधनको भाडा तिरेर जनताको सेवा गरिएको हो कि जनताको गाँस खोसिएको हो भनेर स्थानीयले प्रश्न गर्न थालेका छन् । एकातिर करोडौँका सवारीसाधन ग्यारेजमा थन्क्याउने अर्कातिर वर्षभरि लाखौँ रुपियाँ भाडाबापत तिर्ने रकमले त नयाँ सवारीसाधन खरिद गर्न पनि पुग्ने देखिन्छ ।

नगरपालिकाका लेखापाल वीरबहादुर रावतले यस विषयमा कुरा गर्न खोज्दा भन्नुभयो, “जसले गाडी चढ्छ उसैलाई जानकारी हुन्छ होला ।” यो विषयमा आफूलाई भने धेरै जानकारी नभएको र ग्यारेजमा रुपियाँ तिर्नु पर्छ भनेर पनि आफूलाई कसैले नभनेको उनले बताए । नगरप्रमुख शाहीले आफ्नो आफन्तको गाडी नै किन सम्झौता गरेर गुडाइरहेका छन् भन्ने कुरा रहस्यमय भएको यहाँका बासिन्दाले बताउन थालेका छन् ।

यस विषयमा नगरप्रमुख शाहीले कुनै पनि प्रतिक्रिया नदिने बताए । उनले कर्मचारीलाई समेत नगरका बारेमा पत्रकारले सोधेमा फोन रिसिभ नगर्न र कुनै पनि प्रतिक्रिया नदिन निर्देशन दिएको कर्मचारीहरू बताउँछन् । नाम सार्वजनिक नगर्ने सर्तमा एक कर्मचारीले आफूहरूलाई जथाभाबी नबोल्न निर्देशन भएकाले केही पनि भन्न सक्ने अवस्था नरहेको बताए ।