कर्णालीमा इनफ अभियानको शुभारम्भ

सुर्खेत । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय इनफ अभियानको घोषणा गरिएको छ । सुर्खेतमा बिहीबार एक कार्यक्रमका बीच मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा कुपोषणको अन्त्यका लागि सबै सरोकारवाला सँगसँगै अगाडी बढ्न आवश्यक रहेको बताए ।

कँडेलले कुनै बेला दरबारलाई पोषिला र मूल्यवान खाद्यान्न कोसेली पठाउने कर्णाली पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थिलाई बदल्न जरुरी रहेको बताए । कँडेलले कर्णालीमा निजी क्षेत्र तथा गैरसरकारी संस्थालाई सरकारसँग हातेमालो गर्दै काम गर्न आग्रह गरे । वल्र्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), किर्डाक नेपाल, सामाजिक सेवा केन्द्र नेपाल र पाँचतारा युवा संरक्षक मञ्चको संयुक्त आयोजनामा अभियानको घोषणा गरिएको हो ।

इनफ अभियानको घोषणा कार्यक्रममा वल्र्डभिजन इन्टरनेशनल नेपालका एडभोकेसी तथा क्यापियन म्यानेजर श्याम अधिकारीले सरकारले लिएका नीति तथा योजना पूरा गर्न इनफ अभियानले सघाउने विश्वास लिएको बताए । जुम्ला, जाजरकोट र दैलेख गरी कर्णालीका ४३ वडामा वल्र्ड भिजनले काम गरिरहेको जानकारी दिँदै उनले ‘नेपाली जुटौं, बालविवाह रोकौं’ अभियानपछि इनफ अभियान सुरुवात गरिएको उल्लेख गरे ।

‘यो अभियान सफल गराउनका लागि तीनै तहका सरकारसँग समन्वय भएको छ’ अधिकारीले भने, ‘कर्णालीमा पनि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अभियान सफल हुने विश्वास लिएका छौं ।’ कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताए । प्रांगारिक उत्पादनबाट कुपोषण न्यूनीकरण गर्ने कर्णालीको योजना रहेको उनले बताए । कुपोषण अन्त्यका लागि कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बालबालिकाको उचित वृद्धि विकास र स्वस्थ नागरिक तयार गर्न पोषण अत्यावश्यक हुने भन्दै त्यसको परिपूर्तिका लागि अभिभावक, सरकार, साझेदार सबैले सहकार्यमा काम गर्नुपर्ने बताए । उनले कर्णालीमा पर्याप्त पोषणयुक्त खाद्यान्न उत्पादन हुने भएकाले त्यसको वितरण, उपभोग र स्वस्थ्य आहारबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले कर्णालीको कुपोषण अन्त्यका लागि आगामी पञ्च वर्षिय योजनामा स्पष्ट उल्लेख गरेर कार्यान्वयनमा लैजाउने बताए । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत रमेश खड्काले पोषणको अवस्थामा सुधार भए पनि बाल मृत्युदर घट्न नसकेको उल्लेख गरे ।

उनले कृषि विकासका कार्यक्रमहरू सञ्चालनका लागि नीतिगत व्यवस्था तयार हुनु, सरकार र राजनीतिक तहबाट अपनत्व ग्रहण गर्नु, अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक र स्थानीय तहसम्मका नीति तथा कार्यक्रममा खाद्य सुरक्षा तथा पोषण सुरक्षाको विषयले महत्त्व पाउनु, कर्णाली प्रदेश रैथाने बालीको भण्डार भएकोले यसको उपयोग र प्रवर्द्धनको सम्भावना भएको लगायतका विषय प्रदेशको अवसरको रुपमा रहेको उल्लेख गरे ।

प्रदेशका अधिकांश भू–भागहरूमा विषादीरहित खेती गरिने भएकोले स्वास्थ र पोषीलो हुने बताउँदै कर्णाली प्रदेशका रैथाने बालीको ब्राण्डिङ गरी गरिबीको न्यूनिकरण गर्न सकिने सम्भावना रहेकोमा पनि उनले जोड दिए ।