तीन बर्षमा भेरीको पानी वीरेन्द्रनगर ल्याइने, पहिलो चरणको काम सुरु 

सुर्खेत, भदौ १३ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरवासीका लागि निकै महत्वाकाङ्क्षी मानिएको भेरी पम्पिङ खानेपानी उपआयोजनाको पहिलो चरणको काम सुरु हुने भएको छ । भेरी नदीको पानीलाई लिफ्टको सहायताले वीरेन्द्रनगरमा ल्याई उपभोक्तालाई वितरण गर्न विश्व बैङ्कको सहयोगमा सो उपआयोजना सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन एकाइ प्रमुख सञ्जीवकुमार साह र काम गर्ने चिनियाँ कम्पनी जिज्याङ टिम्स इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठले संयुक्त रूपमा त्रिपक्षीय हस्ताक्षर गरेका छन् । त्रिपक्षीय हस्ताक्षर भएपछि आयोजनाको पहिलो चरणको काम सुरु हुने छ ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन एकाइका प्रमुख साहले गत वर्षको असोजमा कामका लागि ठेक्का आह्वान गरिएकोमा सात वटा कम्पनीले प्रतिस्पर्धा गरेको र त्यसमा दुइटा कम्पनी अयोग्य भएपछि पाँच वटा ठेकेदार कम्पनीबिच प्रतिस्पर्धा भएको थियो । पाँच वटा कम्पनीमध्ये चिनियाँ कम्पनी जिज्याङ टिम्स इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकलको अपरेसन कम्पनी लि. २४ प्रतिशत घटेर तीन अर्ब पाँच करोड आठ लाख रुपियाँमा सो कामको ठेक्का प्राप्त गर्न सफल भएको उनले बताए । पहिलो चरणमा भेरी नदीबाट पानी ल्याउन पाँच किमी फलामे पाइप जोडी वीरेन्द्रनगर–१० को अमृतडाँडामा ९० लाख लिटरको पानी जम्मा गरिने छ । यसका साथै २९ किमी पाइप बिछ्याइने छ । निर्माण व्यवसायीसँग हस्ताक्षर भएपछि अब भेरी पम्पिङ उपआयोजनाको काम सुरु भएको उनको भनाइ छ ।

यसै गरी आयोजनाको परामर्शदाता एमएसडी कम्पनीका विज्ञ सुरेश महाजूले भेरी नदीबाट ५६० लिटर प्रतिसेकेन्ड पानी लिफ्ट गरिने जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकाका कुल १६ वटा वडामध्ये १३ नम्बर वडासम्म भेरी नदीको पानी वितरण गरिने र बाँकी तीन वटा वडामा अन्य स्रोतबाट वितरण गरिने लक्ष्य रहेको उनले बताए । उपआयोजनाको पहिलो चरणको कामको अवधि तीन वर्ष रहेको छ । पहिलो चरण सकिएपछि दोस्रो चरणको सुरु गरिने छ ।

उपआयोजना निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ कम्पनी जिज्याङ टिम्स इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकलको अपरेसन कम्पनी लिका प्रतिनिधि सुशीलकुमार श्रेष्ठले काममा कुनै अवरोध नभए तोकिएको समयभित्रै सबै काम सम्पन्न गर्ने लक्ष्य लिइएको जनाए । कामका लागि आफूहरूलाई छनोट गरेकोमा धन्यवाद दिँदै उनले काममा कुनै अवरोध आए सहजीकरण गरेर काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन एकाइका संयोजक एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सन् २०५० सम्म वीरेन्द्रनगरको जनसङ्ख्यालाई लक्षित गरी भेरीको पानी लिफ्ट गरेर ल्याउन लागिएको बताईन् । यो आयोजना नेपालकै सबैभन्दा ठुलो आयोजना भएको दाबी गर्दै उहाँले यस आयोजनाले खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन् ।

उक्त आयोजनाका लागि नेपाल सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र बाँकी सात प्रतिशत वीरेन्द्रनगर नगरपालिकको लगानी रहेको छ । अहिले छ दिनमा एक पटक पानी आउने गरेको खानेपानीको चर्को अभाव भोगिरहेका बेला यो आयोजना सम्पन्न भएमा सुर्खेतवासीको खानेपानीको समस्या समाधान हुने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए  ।