पहिरोले कर्णाली राजमार्ग अस्तव्यस्त

जुम्ला । केही दिनअघि परेको पानीका कारण कर्णाली राजमार्गका थुप्रै स्थानमा पहिरो गएको छ । पहिरोका कारण ८ दिनदेखि कर्णाली राजमार्ग ठप्प छ । सुर्खेत–नेपालगन्जदेखि जुम्ला र जुम्लादेखि सुर्खेत–नेपालगन्ज जाने यात्रु मर्कामा परेका छन् । कैयौं यात्रुले पैदल यात्रा गरेर गन्तव्यमा पुग्नु परेको गुनासो गरेका छन् ।

स्थानीय सरकार,सडक डिभिजन कार्यालय र सुरक्षाकर्मीको पहलमा सडकमा पहिरो पन्छाउने कार्य चलिरहेको छ । तर ठूलठूला चट्टानी पहिरो झरेकोले सहजै रूपमा सडक खुलाउन सकिने अवस्था छैन ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले राजमार्ग खुलाउन समय लाग्ने बताए । उनले भने,‘सडक खुलाउन सहज छैन । निकै ठूलठूला ढुंगा झरेका छन् । कुनै क्षेत्रमा सडकको निसानासमेत नरहने गरी भत्किएर गएकोले समय लाग्ने देखिन्छ ।’

सडकमाथिबाट सुख्खा पहिरो खस्ने भएकोले सडकमा पहिरो पन्छाउन पनि निकै जोखिम छ । कर्णाली राजमार्गको जुम्ला खण्डमामा मात्रै दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । प्रमुख आचार्यका अनुसार केही क्षेत्रमा सुख्खा पहिरो खसेकोले सडक खुुलाउने कार्यमा बाधा उत्पन्न भएको छ । कर्णाली राजमार्गको जुम्ला खण्डमा मात्रै १३ वटा सवारीसाधन बीचैमा अलपत्र परेका छन् ।

कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्र ७३ स्थानमा पहिरो खसेको छ । कर्णाली राजमार्गको हुल्म, सेरिघाट, सुनार खोला, ताडी, हेर्ने भीर, गल्ली, छेका, मौलाकाटिया, मोल्फा, सिम्लागाड, पिली, सेरावाडा, टाकुल्ला, बाली, भैसेगौडा, टिमुरेभीर, गाल्जे, खल्लागाड, धनाडा, राचुली, भिग्मलगायतका ठाउामा पहिरो खसेको हो  । ताडीदेखि गल्लीसम्म ११ स्थानमा सडक डिभिजन कार्यालयका सुपरभाइजर बुद्धिप्रसाद बरालले जानकारी दिए ।

कालीकोट सदरमुकाम मान्मदेखि गल्लीसम्म एक्स्काभेटर लगाएर पहिरो पन्छाउन थालिएको छ । जुम्लाको रारादेखि नाग्म सम्मको १२ किलोमिटर सडक खुलाउन सुरु गरिएको छ । जुम्लादेखि सुर्खेतसम्मको २ सय ३२ किलोमिटर सडकमा पहिरो गएपछि पैदल यात्रा गर्न कर्णालीवासी बाध्य छन् । कुनै-कुनै स्थानमा सडकको निसाना समेत नहरने गरि पहिरो जाँदा हिड्न समेत कठिन भएको पैदल यात्रु बताउँछन् ।

पर्याप्त मात्रमा जहाज नचल्ने भएपछि जुम्ला,मुगु,हुम्लाका स्थानीय पैदल यात्रा गरेर दैलेख सदरमुकाम हुँदै सुर्खेत झर्न थालेका छन । कालीकोट खण्डमा पहिरो पन्छाउन झन्डै एक साता लाग्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।