मधेशमा ६४ मध्ये ५३ क्षेत्रमा पुरानै अनुहार दोहोरिए

जनकपुरधाम ।  मधेश प्रदेशमा प्रत्यक्ष तर्फ ६४ सिटमध्ये ५३ सिटमा पुरानै अनुहार दोहोरिएका छन्। आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि सभामुख, मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री र राज्यमन्त्रीसहित प्रत्यक्षतर्फ गठबन्धन र स्वतन्त्र गरी ५२ र १ समानुपातिक सांसद रहेका र यसपटक स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दर्ता नगराएकामध्ये १२ जनामध्ये दुई जना सांसद पदबाट राजीनामा दिएर स्थानीय तह निर्वाचनमा भाग लिएकाले सिट पाएनन्।

अन्य ४/४ जना गठबन्धनको कोटामा पर्न नसकेको र स्थानमा पार्टीले नयाँ उम्मेदवार खडा गरेकोले अवसर पाउन नसकेको हो। अन्य दुई जना प्रतिनिधिसभाको उम्मेदवार बनेपछि त्यसमा नयाँ उम्मेदवारले अवसर पाएका छन। सभामुख, मुख्यमन्त्री र मन्त्री सहितका ११ जनामध्ये ९ जनाले प्रदेशसभा सदस्य दोहर्‍याउन आ-आफ्नो पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचनमा भाग लिएका छन्।  सभामुख र केही मन्त्रीहरू पछिल्लो निर्वाचनमा अर्को पार्टीबाट जितेपनि यसपटक चाहि पार्टी टुटफुट हुँदा नवगठित पार्टीबाट उम्मेदवार भएका छन्।

तत्कालीन राजपाबाट सभामुख भएका सरोज कुमार यादवले जसपाबाट बारा १ (ख), एमालेबाट निर्वाचित उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले नेकपा एसबाट धनुषा ४ (ख) र एमालेबाट निर्वाचित कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले नेकपा एसबाट सिरहा ३ (ख) मा दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिएका छन्।

जसपाबाट मुख्यमन्त्री लालबाबु राउतले पर्साको १ (ख), कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री धनुषा ३ (क), गृह तथा सञ्चार मन्त्री भरत साह नेकपा माओवादी केन्द्रबाट महोत्तरी १ (ख), कांग्रेसबाट महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह सर्लाही ४ (क), अर्थमन्त्री शैलेन्द्र साह जसपाबाट सप्तरी २ (क) र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्री विजय यादवले जसपाबाट सिरहा २ (क) मा चुनावी मैदानमा होमिएका छन।

त्यस्तै पूर्वमन्त्री तर्फ ज्ञानेन्द्र यादव धनुषा ४ (क) र जितेन्द्र सोनार बारा ४ (ख) बाट चुनाव लड्दैछन भने समानुपातिक कोटाबाट आएका पूर्वमन्त्री रामनरेश राय यस पटक स्वतन्त्रबाट उम्मेदवारी दिएका छन।

रौतहट १ (ख) जसपाका राज्यमन्त्री योगेन्द्र राय यादव, महोत्तरी ४ ख) बाट पूर्वराज्यमन्त्री सरोज कुमार सिंह कुशवाहा, सिरहा ४ (ख) पूर्वराज्य मन्त्री सुरेश कुमार मण्डल, लोसपाबाट महोत्तरी ३ (क) मा पूर्वराज्य मन्त्री अभिराम शर्माले संसदीय कार्यकाल दोहोर्‍याउन चुनावी प्रतिष्पर्धामा उत्रेका छन।

उता खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले पछिल्लो निर्वाचनमा समानुपातिकबाट आएकोमा यसपटक प्रत्यक्षतर्फ अवसर पाएका छैनन् भने सामाजिक विकास मन्त्री नवल किशोर साह प्रतिनिधिसभामा चुनाव लडेका छन्। उनको स्थानमा भने नयाँ अनुहार जसपाकै सुरेन्द्र यादवलाई अवसर दिइएको छ।

आउँदो निर्वाचनका लागि सबैभन्दा बढी जसपाबाट १८ जना र सबैभन्दा कम नेकपा माओवादीबाट एक जनाले मात्र दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका छन्। त्यसैगरी एमालेबाट ४ जना, लोसपा ८, कांग्रेस ४, नेकपा एस ९ र स्वतन्त्रबाट ७ जनाले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका छन्।

जसपाबाट दोहोर्‍याउनेहरूमा सप्तरी ४ (ख) अभिषेक यादव, सर्लाही २ (ख) अशोक कुमार यादव, बारा ३ (ख) पारस प्रसाद साह, बारा २ (ख) बच्चा राउत अहिर, सर्लाही ३ (ख) विन्देश्वर प्रसाद यादव, सप्तरी २ (ख) मनिष सुमन, धनुषा २ (क) रामआशिष यादव, धनुषा २ (ख) शैलेन्द्र यादव, रौतहट २ (ख) रामकिशोर प्रसाद यादव, र पर्सा ४ (ख) सिंहासन साह कलवार रहेका छन।

त्यस्तै सर्लाही १ (क) मा उपेन्द्र महतो, महोत्तरी ४ (क) मा कौशल किशोर यादव, महोत्तरी २ (क) मा जयनूल राईन, धनुषा ३ (ख) मा परमेश्वर साह, पर्सा २ (ख) रमेश प्रसाद कुर्मी र महोत्तरी ३ (ख) मा रानी शर्मा तिवारीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएकी छिन।

एमालेबाट पर्सा ३(१) मा जसपाबाट पार्टी प्रवेश गरेका अब्दूल रहीम अन्सारी, महोत्तरी १ (क) शारदा देवी थापा, बारा १ (क) बाट त्रिलोकी प्रसाद र माओवादीबाट एमालेमा गएका रामचन्द्र मण्डलले धनुषाको १ (क) बाट उम्मेदवारी दिएका छन भने माओवादीबाट एक जना मात्रै मन्त्री भरत साहले दोहोर्‍याउने भएको छ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बाहेक सप्तरी ४ (क) मा गोविन्द बहादुर न्यौपाने, सर्लाही ३ (क) डिल्लीप्रसाद उप्रेती, रौतहट ३ (क) नागेन्द्र राय यादव, सिरहा १ (ख) मा अशोक कुमार यादव, पर्सा ३ (ख) मा लोसपा परित्याग गरेका प्रहलाद गोस्वामी, सिरहा २ (ख) मा मदनसेन श्रीवास्तव र सर्लाही १ (ख) मा बेची लुंगेलीले उम्मेदवारी दिएकी छिन।

कांग्रेसबाट पनि मन्त्री बाहेक सप्तरी ३ (क) मोहम्मद समीम र पर्सा ४ (क) मा शंकर प्रसाद चौधरी उम्मेदवारी दिएका छन्। कांग्रेसबाट उपेन्द्र कुशवाहा स्थानीय तह निर्वाचनका लागि राजीनामा दिइसकेको तथा गठबन्धनमा नपर्दा राजेश्वर प्रसाद साह र धनलाल ठोकरले उम्मेदवारी दिएका छैनन भने कोटामा नपर्दा नागेन्द्र प्रसाद सिन्हाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

गठबन्धनको चुनावी तालमेलले पार्टीबाट टिकट नपाउँदा लोसपाकी सुरिता कुमारी साहले महोत्तरी दुई (ख), एमालेका किशोरी साह कमल प्रतिनिधिसभामा, जसपाका जन्नत अन्सारी पर्सा १ (क), कांग्रेसका नागेन्द्र प्रसाद यादव रौतहट दुई (क), लोसपाका बाबुलाल साह कानू रौतहट १ (क), समानुपातिकबाट आएकी जसपाकी करिमा बेगम पर्सा दुई (ख) र जसपाका शारदा शंकर प्रसाद बारा २ (क) बाट स्वतन्त्रमा मनोनयन दर्ता गराएका छन्।

गठबन्धन चुनावी तालमेलले लोसपाका गौरी नारायण साह, कांग्रेसका धनलाल ठोकर, माओवादीका रामकुमार यादव र नेकपा एसका सुन्दर बहादुर विश्वकर्माले अवसर पाएको छैन भने माओवादीका दिलिप साहको ठाउँमा महेन्द्र पासवान, कांग्रेसका राजेश्वर साहको ठाउँमा श्याम पटेल, एमालेका लगनलाल चौधरीको ठाउँमा राजेन्द्र चौधरी र एमालेकै सत्यनारायण मण्डलको ठाउँमा राजकुमार तेलीलाई नयाँ अनुहारको रूपमा अवसर दिइएको छ।

२०७४ सालको निर्वाचनमा एमालेले १४, तत्कालीन संघीय समाजवादी पार्टीले २०, तत्कालीन राजपाले १५, कांग्रेसले ८, माओवादी ६ र एक जना स्वतन्त्रले प्रदेशसभामा प्रत्यक्षतर्फ सिट जितेका थिए।