मधेशमा कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौं । संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीलाई हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री राउतले हिजो बिहीबार नै नेपाली कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवलाई फोन गरेर राजीनामा दिन आग्रह गरेका थिए। तर, शुक्रबार १२ बजेसम्म पनि कांग्रेसका मन्त्रीहरुको राजीनामा नआएपछि मुख्यमन्त्री राउतले उनीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका छन्।

प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा रहेका थिए।

मुख्यमन्त्री राउतले सत्तारुढ गठबन्धनको कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरे पनि माओवादी केन्द्र र नेकपा एसका मन्त्रीलाई भने बर्खास्त गरेका छैनन्। उनीहरुसँग अहिलेसम्म राजीनामा पनि मागेका छैनन्।