‘शहीद सम्झेर एमालेका समर्थकले राजावादीलाई बोक्न छोड्नुपर्छ’

काठमाडौं । झापा-३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला लामो समयपछि प्रेससामु उपलब्ध भए  तत्कालीन विद्रोही माओवादीसँग बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेका उनी बीचका केही वर्ष छायामा रहे । आसन्न चुनावका लागि सत्ता गठबन्धनभित्रको सिट बाँडफाटसम्बन्धी कार्यदलमा संयोजक भई काम गरेका उनी राष्ट्रिय राजनीतिको केन्द्रमा फेरि एकपल्ट देखिने क्रममा छन् । उनीसँग अनलाइनखबरले गरेको कुराकानी :

✍🏽 बीचमा तपाईंलाई निकै समय हेर्न, सुन्न पाइएन । कस्तो चल्दैछ चुनावको राजनीतिक माहोल ?

तपाईंले ठीकै भन्नुभयो । म आजकाल प्रेससँग एकदमै कम गइराखेको मान्छे हुँ । मलाई सम्झेर अन्तर्वार्ता लिइदिनुभएकोमा तपाईंलाई धन्यवाद । समग्र माहोल हाम्रो अनुकूल नै छ । सत्ता गठबन्धनको बीचमा धेरै चरणमा छलफल र अन्तरक्रिया गरिसकेपछि सिट बाँडफाट भएको छ ।

त्यसमा कांग्रेसको तर्फबाट धेरै साथी संघ र प्रदेश सभामा उम्मेदवार बन्नुभएको छ । म उहाँहरूसहित गठबन्धनका सबै साथीको सफलताका लागि वातावरण बनाउने भूमिकामा लागें । अहिले भर्खरै झापा आएको छु । यहाँको चुनावी माहोल एकदमै राम्रो छ । यसपल्ट विजय हुन्छ भन्ने कुरामा मलाई एकदमै विश्वास भएको छ ।

✍🏽विगतमा तपाईंले जित्दै आउनुभएको प्रतिस्पर्धीले अघिल्लो चुनावमा तपाईंलाई हराउनुभयो । यो पल्टको प्रतिस्पर्धा कस्तो होला ?

चुनावमा म यहाँबाट निरन्तर उम्मेदवार छु । तर मैले चुनाव जितेको जम्मा तीनपल्ट हो । मध्यावधिमा, २०५६ मा र दोस्रो संविधानसभामा । तर विभिन्न परिस्थितिका कारण पूरा कार्यकाल बिताउने अवसर मिलेन ।

मैले पूरा कार्यकाल बिताएको भनेको दोस्रो संविधानसभामा मात्रै हो भन्दा पनि हुन्छ । किनभने २०५६ मा जितेको केही समयमै राजाको शासन सुरु भयो । त्यसपछि हामी आन्दोलनमा जानु परिहाल्यो । पहिलो संविधानसभामा पराजित भइयो ।

दोस्रो संविधानसभामा जितेर मैले चार वर्ष कार्यकाल पूरा गरेको हो । संविधान जारी भएपछिको चुनावमा म पराजित भएँ । यसपल्ट चाहिं साथीहरूले विगत पाँच वर्षको मूल्यांकन गरेर सिटौला आवश्यक हो भन्ने ठानेका छन् । त्यसैले म जितेर संसदमा आउँछु ।

✍🏽सत्ता गठबन्धनका दलहरूबीच तालमेल गर्न गठित कार्यदलको संयोजकका रूपमा काम गर्नुभयो । त्यसले कत्तिको प्रभावकारी ढंगले काम गर्न पायो ?

हामीले सुझाव दिंदाखेरि पार्टीहरूको देशव्यापी रूपमा के कस्तो स्थिति थियो, पाँच वर्षअघि तिनको अवस्था के थियो, अस्ति स्थानीय चुनावमा पाएको मत सबै हेरेर निर्णयका लागि सुझाव दिएका हौं । समग्रमा ठिकै भएको छ ।

✍🏽तर निर्णयका लागि शीर्ष नेतृत्व नै कुर्नुपर्‍यो होइन ?

अन्तिम निर्णय त शीर्ष नेतृत्वले नै गर्ने हो । हाम्रो काम भने देशभरिको समग्र अवस्था अध्ययन गर्ने, अनि सिट बाँडफाटको सबैभन्दा वस्तुगत, व्यावहारिक र सन्तुलित विधि अवलम्बन गर्ने थियो । त्यो हामीले गरेका छौं । त्यसैलाई आधार मान्दै अहिले उम्मेदवारहरूको बाँडफाट भएको छ ।

✍🏽तपाईंको व्यक्तिगत राजनीतिक पृष्ठभूमि गणतन्त्र स्थापनासँग जोडिन्छ, तर तपाईंको प्रतिस्पर्धा चाहिं कट्टर राजतन्त्रवादी शक्तिका अध्यक्षसँग भइरहेको छ नि ?

पार्टी जे भए पनि उहाँ (राजेन्द्र लिङ्देन) ले राजतन्त्रको माग गरेर भोट पाएको होइन । उहाँलाई वाम गठबन्धनले जिताएको हो । एमाले, माओवादी लगायतका शक्तिले भोट हालिदिएपछि उहाँको बढी भयो । उहाँकै मत त्यस्तो बढी होइन । तर राजावादीलाई एमाले र माओवादीले किन विगतमा बोके, यो बुझिएको छैन ।

यहाँ मेरो प्रतिस्पर्धामा एमाले छैनन् पनि । तर यसपालि पनि किन एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको हो, मलाई एकदमै अचम्म लागेको छ । झापाबाट जन्मेको पार्टी हो एमाले । लामो संघर्ष, बलिदान भएको पार्टी हो । हामी निरंकुश पंचायतका मानिसहरूलाई मण्डले भन्थ्यौं । मण्डलेबाट दमन भोगेकै पार्टी हो एमाले ।

एमालेले झन् बढी दमन भोगेको हो कांग्रेसभन्दा पनि । २०४६ सालदेखि २०६२–६३ को आन्दोलनमा समेत भद्रपुरमा सयौं मानिस घाइते भए । दुई जना त शहीद नै भए । यस्तो सहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती किन दोहोर्‍यायो, मलाई आश्चर्य लागेको छ । यो संविधानको जग भनेको गणतन्त्र हो ।

२००७ सालको परिवर्तनको मौलिक उपलब्धि भनेको लोकतन्त्र थियो । त्यस्तै अहिले २०६३ को परिवर्तनको मौलिकता चाहिं गणतन्त्र हो । यत्रो परिवर्तन ल्याउन भूमिका खेल्ने शक्तिले राजतन्त्रवादी शक्तिलाई पटक–पटक बोक्नु राम्रो होइन ।

✍🏽गणतन्त्रले सही ‘डेलिभर’ नगर्दा अरू पात्रहरूले प्रोत्साहन पाउन थालेका हुन् भन्ने तपाईंलाई लाग्छ ?

लाग्छ । तपाईंले खासमा सही कुरा उठाउनुभयो । पार्टीहरू सिद्धान्त, आदर्श, मूल्य–मान्यतामा आधारित भएर चल्दा त्यस्तो हुँदैनथ्यो । निजी स्वार्थमा आधारित भएर चल्दा स्थिति फरक हुँदै जाँदोरहेछ ।

संविधान निर्माणपछि चुनाव त भएको थियो तर यो संविधानको वास्तविक कार्यान्वयन अहिलेसम्म पनि हुन सकेन । जति पनि कानुनहरू संसदबाट निर्माण हुन सक्नुपर्थ्यो, सारमा एउटा पनि निर्माण हुन सकेन । त्यसैले संविधानको जीवन्त रूप वास्तवमा देख्न पाइएन । यसले गर्दा जनतामा वितृष्णा बढ्दै गयो ।

गणतन्त्रले के दिन्छ भन्ने खालको पनि सोच उत्पन्न भयो होला । तसर्थ आगामी संसद्बाट हामीले संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल गर्न सक्नुपर्छ ।कानुनहरू बनाउनुपर्छ । जनताले संवैधानिक व्यवस्थाबाट हामीलाई आर्थिक प्रगति भो, सामाजिक सांस्कृतिक प्रगति भो भन्ने महसुस गर्न पाउनुपर्छ । हामीले त्यस्तो अवस्था निर्माण गर्नुपर्छ । सत्तापक्ष, प्रतिपक्ष संसद्मा जो भए पनि समग्रमा हामीले निश्चित दूरी र समझदारी दुवैमा बसेर काम गर्न सक्नुपर्छ ।

✍🏽अघिल्लो संसद् चाहिं संविधान कार्यान्वयनमा अघि बढ्न सकेन भन्ने तपाईंको निष्कर्ष हो ?

एकदमै । त्योभन्दा पहिले संविधानसभा बन्दाखेरि योभन्दा बढी चुनौती थियो । ६०१ को संविधानसभा आफैंमा निकै ठूलो थियो । त्यो विभिन्न दृष्टिकोणको थलो थियो । ती सबैलाई जोडेर संविधान बनाउन निकै चुनौतीपूर्ण थियो । म आफैं मस्यौदा समितिमा थिएँ ।

लोकतान्त्रिक गणतन्त्रको जगमा सबैलाई समेट्दै अघि बढ्न हामी सफल भयौं । संविधान जारी भएपछि वाम गठबन्धनले झण्डै दुई तिहाइ बहुमत पुर्‍यायो । तर त्यसभित्र यति ठूलो खैलाबैला भयो कि, सिंगै देशले त्यसको परिणाम भोग्नुपर्‍यो । सत्ता र प्रतिपक्षले निश्चित समझदारीका आधारमा साझा एजेण्डा बनाउनुपर्छ । म निर्वाचित भएर गएपछि यसका लागि भूमिका खेल्छु ।

✍🏽तपाईंलाई चुनावकै मुखमा उठेका पुराना प्रसंगहरू सम्झाउँ । जनआन्दोलनको सफलतासँगै २०६३ जेठ ४ को पुनर्स्थापित संसद्को ऐतिहासिक घोषणामा तपाईं र सुवास नेम्वाङ मिलेर विभिन्न मुद्दा सुटुक्क छिराएको आरोप लागिरहन्छ किन ?

झुटै कुरा होस्, अथवा काल्पनिक कुरा होस्, पटक–पटक बोलेपछि मानिसहरूलाई साँचो पो हो कि भनी सोच्न थाल्छन् । यस्तो हल्ला चलेका बेला साँचो कुरा पनि कहिलेकाहीं दबेर जान्छ । चाहे पहिलेको आन्दोलनका बेलाको घोषणा होस्, या संविधानसभाले बनाउने संविधान– साझा सहमतिबेगर कुनै पनि कुरा हुन सम्भव छ ? सम्भव हुन सक्छ ?

आन्दोलनबाट आएका राम्रा पक्षचाहिं आफूले बनाएँ भन्ने, आफूलाई चित्त नबुझेको कुरा आयो भने मलाई थाहै नदिई सही गराए भन्ने किसिमको गैरजिम्मेवार कुरा गर्नु हामीजस्तो नेताहरूले उचित हुँदैन । मेरो नाम आए पनि या संविधानसभा अध्यक्ष सुवास नेम्वाङको नाम आए पनि कुरा त्यही हो ।

उहाँले संविधान निर्माणका बेला कुशलतापूर्वक काम गर्नुभएकै हो । मलाई आजको दिनमा लाग्छ, हामीले संविधानसभाबाट यी एजेण्डा नै हामीले उठाएको हो । मतदाताले फेरि किन आउनुभो भन्दा पहिले जित्न सकिनँ । अब जितेर संविधान बनाउन आएको हुँ भनें । कसैलाई झुक्याएर, अल्मल्याएर राजनीतिक निर्णयहरू गराउन सम्भव छैन ।

✍🏽तपाईंकै पार्टीका शेखर कोइराला जस्ता नेताले समेत तपाईंलाई जोडेर टिप्पणी गर्नुभयो । गिरिजाप्रसाद कोइरालालगायत शीर्ष नेताले बालुवाटारमा गरेको सहमतिमा उल्लेख नभएको कुरा बीचमा थपिएको हो ?

मेरो स्वभाव के छ भने, म नेताहरू बारेमा नकारात्मक टिप्पणी गर्नै चाहन्न । तर तपाईंले यति सोधिसकेपछि मैले भन्नुपर्छ, यो उहाँहरूको जिम्मेवार बोलाइ नै होइन । गैरजिम्मेवार भनाइ हो यो । उहाँहरूले यसो भन्दाखेरि गिरिजाप्रसाद कोइरालामाथि नै अपमान हुन्छ । यो कुरा याद राखेर बोल्ने गर्नुहोस् ।

कोइराला त स्वर्गारोहण भइसक्नुभयो । उहाँलाई थाहा नभइकन प्रतिनिधिसभाको त्यो घोषणा भयो, शान्ति प्रक्रिया टुंगियो, चुनाव भयो भन्ने किसिमका कुरा भन्नुहुँदैन हामीले । संसदबाट भएका महत्वपूर्ण ऐतिहासिक घोषणा र निर्णयहरू कसैलाई छक्याएर हुन सम्भव नै हुँदैन । यसमा के षड्यन्त्र खोजिराख्नुभएको हो ? यसमा नबुझिने कुरा के छ र त्यस्तो ? त्यसैले या त उहाँहरूले नबुझेर यो भन्दै हुनुहुन्छ, या त बुझ पचाएर भन्दै हुनुहुन्छ ।

✍🏽कोठामा लेखेको सहमतिलाई संसदमा एकैचोटि ढ्याप–ढ्याप गरेर पास गर्न लगाउनुभएको होइन ?

कुरा कस्तो हुन्छ भने, घरमा कुनै निर्णय गर्नु पर्दाखेरि त सबैजना बसेर सल्लाहले गरिन्छ । त्यो त विशाल जनआन्दोलनबाट आएको संसद् थियो । गणतन्त्रको आन्दोलनबाट आएको संसद् हो । त्यसैले हामी त्यहाँभित्र पस्दा नै राजाको कुर्सी हटाउँदै प्रवेश गरेको हो । कहाँ त्यस्तो नचाहिंदो आशंका गरेर हुन्छ ?

✍🏽२०६३ जेठ ४ मा भएको चाहिँ के थियो ?

म यो बेला सबै कुरा सम्झिनँ सक्दिनँ । त्यो आवश्यक पनि छैन । तर राजावादी विचार भएकाहरू के ठान्ने गर्छन् भने सिटौलाकै कारण गिरिजाबाबु गणतन्त्रमा जानुभयो, नत्र उहाँ त्यो निर्णयसम्म जानुहुने थिएन भन्छन् । त्यो एकदमै मूर्ख्याइँ सोच हो ।

पार्टी केन्द्रीय समिति बोलाएर, महासमितिले निर्णय गरेर, सर्वसम्मत ढंगले गणतन्त्रमा पुगेको पार्टी हो नेपाली कांग्रेस । यति कुरा बुझीबुझी मलाई बेकारमा विवादित बनाउन खोजिन्छ । स्पष्ट कुरा के हो भने, राजावादीले मलाई मन पराउँदैनन् । किनभने म राजावादी हुन सक्दिनँ ।

बाह्रबुँदे समझदारीलगायत भूमिका खेलेको कुरालाई हिजो दरबारको हण्डी खाएका मानिसहरूले प्रहार गरेका छन् । तर मेरै साथीहरूले किन बुझेर पनि बुझ पचाउँछन्, या बुझ्दैनन् उहाँहरूलाई नै सोध्नुहोला ।

✍🏽षड्यन्त्रपूर्वक धर्मनिरपेक्षता ल्याउनुभएको कुरा पनि तपाईंकै कांग्रेसका नेताहरू उठाइराख्नुहुन्छ नि ?

त्यो बेकारको कुरा हो । बरु संविधानमा धर्मनिरपेक्षताको व्याख्या लेख्दा राज्यले सनातन धर्म संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने विषय, अनि राष्ट्रिय जनावर गाई हुनुपर्छ भन्ने विषय मैले नै राखेको प्रस्ताव थियो । त्यही नै पछि संविधानभित्रको कन्टेन्ट बन्यो । सिटौला कुन संस्कार, संस्कृतिको मान्छे हो भन्ने बुझीबुझी मानिसहरू खनिन्छन् त मेरो के लाग्छ !

✍🏽उसो भए, यस किसिमका प्रहार किन भइरहेका छन् ?

जसले जतिसुकै कट्टर सोच राखेर हिंडे पनि कांग्रेसले नरम भएर सबैलाई मिलाउँदै हिंडेको पार्टी हो । २०४६ सालमा गणेशमानजीले वामपन्थीलाई समेत समेटेर आन्दोलन अघि बढाउनुभयो । हामीले कम्युनिस्टहरूलाई, वाम विचारधाराका साथीहरूलाई साथमा लिएर लोकतन्त्रको बाटोमा अघि बढ्ने काम गरेका हौं ।

नेपालको वास्तविकतामा उभ्याएर लोकतन्त्रको मार्गमा अघि जाऔं भनेर बीचमा बसेर अघि बढ्यौं । यसको राष्ट्रिय अन्तर्राष्ट्रिय अर्थ हुन्छ । हामी विशाल दुई देशहरूको बीचमा भएकाले गर्दा पनि संवेदनशीलतापूर्वक एजेण्डाहरू लिनुपर्छ । बाह्य सम्बन्धबारे पनि साझा एजेण्डा तयार गर्दै देश बलियो बनाउनुपर्छ भन्ने सोचाइ कांग्रेस पार्टीको हो ।

हामीले गणतन्त्र घोषणा गरेपछि राजालाई दरबारबाट बिदा गर्न म आफैं गएँ । हामी शान्तिपूर्ण रूपान्तरण गर्न चाहन्थ्यौं । रक्तपातहरूबाट नेपाललाई मुक्त गरौं भनेर माओवादीलाई शान्तिमा ल्यायौं । राजालाई हटाउने काम शान्तिपूर्ण बाटोबाटै भएको छ । त्यसैले संसारलाई नै उदाहरण हुने गरी हामी अघि बढेका हौं ।

त्यसैले स्वस्थ शान्तिपूर्ण प्रतिस्पर्धाका लागि चुनावबाट अघि बढ्ने कुरा गरेका हौं । कसैले कसैलाई पेलेर जाने प्रवृत्ति अन्त्य हुनुपर्छ । त्यसैले हामी बीचमा बसेर सबैलाई लिएर अघि बढेको हो । कसैले तितो बोल्यो भन्दैमा हामी त्यसरी नै व्यवहार गर्दैनौं । जिम्मेवार भएर भूमिका खेल्छौं ।

✍🏽अब टिकटको कुरा गरौं । तपाईंसँग निकट भएका कांग्रेस आकांक्षीले सोचेजस्तो संख्यामा टिकट पाउन सकेनन् भन्ने सुनिन्छ नि ?

त्यो हो । यसमा दुई कारण छन् । गठबन्धनबाट क्षेत्र बाँडफाट गर्दा केही साथीहरूले पाउनुभएन । क्षेत्र छाड्नुपर्ने भयो ।पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा मसँग जोडिएका साथीहरूले पनि त्यसै क्रममा पाउनुभएन ।

त्यसमा कताबाट के कमजोरी भयो भन्नेबारे म अहिले चुनावका बेलामा केही भन्न चाहन्नँ । तर समानुपातिक प्रणालीतर्फ उम्मेदवार छनोट गर्दा गल्ती भएका छन् । त्यसलाई सच्याउने संकल्प गर्नुबाहेक कुनै उपाय छैन ।

अहिले गठबन्धनबाट जुन निर्णय भएका छन्, त्यसलाई एकताबद्ध भएर सघाऔं, यसका उम्मेदवार जिताऔं भन्ने अनुरोध तपाईंको मिडियामार्फत गर्न चाहन्छु । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऔं । विगतमा सरकारहरूले गर्न नसकेको गुनासो सम्बोधन हुने गरी अब हाम्रो नेतृत्वमा काम गरौं ।

✍🏽यो पल्ट कांग्रेसले चुनावमा के एजेन्डा लिएर जान्छ ?

यो पल्टको चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि । मुख्य मुद्दा यही हुनेछ । एमाले र माओवादी एकताबद्ध भएर ठूलो कम्युनिस्ट बनाए पनि उनीहरूको आन्तरिक खैलाबैलाले देशमै समस्या आयो । देशले प्रगति हासिल गर्न सकेन । यसबारे मैलेभन्दा कडा कुरा त उहाँहरूले नै गर्नुहोला ।

✍🏽तर पछिल्ला वर्षमा कांग्रेसले पनि त्यही खैलाबैलालाई नै निरन्तरता त दिइरहेको छ नि, होइन ?

खासमा वाम गठबन्धनमा भएका दलहरू आपसी झगडामा नलागेको भए हामीले यो सरकार बनाउनै पर्दैनथ्यो । हामी त २३ सिटमा खुम्चेर बसेका थियौं नि ! त्यसैले यो त वास्तवमा भन्ने हो भने बाध्यताको सरकार हो । अबको चुनावपछि कांग्रेसले स्थिरता र प्रगतिको सुनिश्चितता गर्ने कामको नेतृत्व गर्नुपर्छ । हामी गर्छौं ।

✍🏽संविधानमाथि कुनै खतरा देख्नुभएको छ ?

त्यस्तो खतरा त देखेको छैन । तर विगत पाँच वर्षमा संविधान कार्यान्वयनमा उल्लेख्य प्रगति नहुनु, बरु उल्टै यसका संचालकहरूबाट गल्ती हुनु राम्रो होइन । यो व्यवस्थाको विरुद्धमा हल्ला फैलाउनेलाई मौका मिल्यो । जनताले चाहेको काम यो बीचका सरकारले गर्न सकेनन् । कम्युनिस्ट पार्टीबीचको फुटले त्यसलाई प्रभाव पार्‍यो ।

✍🏽यत्रा बागी छन् । कांग्रेस सबल र मजबुत भएर चुनावमा जाला ?

जुन साथीहरूले क्षणिक आवेगमा उम्मेदवारी दिनुभयो, केन्द्रको निर्देशनपछि कतिपयले फिर्ता पनि लिनुभयो । कतिपयले अर्को पक्षसँग मिलेर तालमेल गरेको पनि देखिन्छ । यस्तो कुरा हुनुहुँदैन । सबै जना भावनात्मक एकतासहित चुनावमा जानुपर्छ । र, सकेसम्म राम्रो गर्नुपर्छ ।

✍🏽नेतृत्वबीचमा चाहिं कस्तो सम्बन्ध छ ? सभापतिसँग तपाईंको सम्बन्धकै पनि कुरा गरौं न ?

मेरो सम्बन्ध शेरबहादुर देउवाजी, रामचन्द्रजी लगायत युवा नेतासम्मै राम्रो छ । एमालेका केपी ओली, सुवास नेम्वाङलगायत सबैसँग राम्रो छ ।

माओवादीमा प्रचण्डजीलगायत सबैसँग राम्रो छ । उहाँहरूले मेरो बारेमा के ठान्नुहुन्छ उहाँलाई सोध्नुहोला । तर शान्ति प्रक्रियामा योगदान गर्न पाएकाले, गणतन्त्र ल्याउन काम गरेकाले पार्टी भित्र र बाहिर सबैतिर मेरो राम्रो छ ।

✍🏽अब गृहजिल्लातर्फ फर्कौं । महामन्त्री विश्वप्रकाश शर्मासँग तपाईंको तिक्ततापूर्ण सम्बन्ध छ भन्ने बुझाइ छ । अस्ति स्थानीय चुनावमा पनि त्यसको असर देखियो । आसन्न चुनावमा पनि त्यस्तै हुन्छ ?

यो त नबुझ्नेहरूले, यथार्थ थाहा नपाउनेहरूले भन्ने कुरा हो । हामी पार्टीका बैठकहरूमा सँगै बसेका छौं । उम्मेदवारी मनोनयन गर्न आउँदा एउटै हवाईजहाजमा आयौं । हाम्रो बीचमा कुनै भ्रम नछरियोस् । झापा जिल्ला र समग्रमै हामी एक भएर जान्छौं । पार्टी एक भएर जान्छ । तल–माथि हुने कल्पना नै गर्न सकिन्न ।

✍🏽विश्वप्रकाशप्रति तपाईंको कुनै त्यस्तो भावना नै थिएन, छैन ?

विश्वप्रकाशप्रति मेरो सधैं सकारात्मक भावना थियो; छ र हुनेछ ।

✍🏽यसपालि चुनावमा विश्वप्रकाशको क्षेत्रमा तपाईं, तपाईंको क्षेत्रमा विश्वप्रकाशले भाषण गरेको सुन्न पाइन्छ ?

समय यति थोरै छ । भाषणका कार्यक्रम कति राख्न भ्याइएला ? अहिलेसम्म सभाका कार्यक्रम बनेकै छैनन् । म भर्खरै आउँदैछु । संयुक्त संयन्त्र बनाएर जानुपर्ने आवश्यकता छ । कतिपय संयुक्त गर्दा नि भो, कतिपयलाई आफ्नो क्षेत्र अनुरुप एक्लाएक्लै गर्दा नि भो । समस्या के पर्‍यो भने मेरो क्षेत्रमा २८ वडा छन् ।

विश्वप्रकाशकहाँ पनि त्यस्तै होलान् । एक दिनमा एउटा वडा पुग्दा पनि एक महिना लाग्छ । समय पहिले नै कम भइसक्यो । त्यसैले कतिपय कुरा चाहेर पनि कठिन होला । समय पनि धेरै छैन । तर परस्पर सहयोग र समझदारी हुनेमा कत्ति पनि शंका नगर्नुहोला । हामी आन्तरिक समझदारी र सहकार्यका लागि एकमत छौं ।

✍🏽राजेन्द्र लिङ्देनलाई चाहिं कुन स्तरको प्रतिस्पर्धी ठान्नुभएको छ ?

उहाँको पार्टीको मत खासमा एकदमै कम हो । एमालेको समर्थनमा उठ्नुभएको छ । एमालेका मतदाताहरूको समर्थन कति मिल्छ भन्ने मूल प्रश्न हो । यो जिल्ला एमालेका कार्यकर्ताहरूको निकै ठूलो संघर्ष भएको जिल्ला हो । मेरो क्षेत्र पंचायतकालदेखि नै यही हो ।

विगतमा एकपटक राजावादीलाई मत हाल्न लगाए भन्दैमा यसपटक पनि लगाउलान् जस्तो लाग्दैन । कम्तीमा गणतन्त्रको आन्दोलन हाम्रो हो । हामीले अत्यन्तै ठूलो बलिदान गरेका छौं । त्यसैले आफ्नै शहीदहरूलाई सम्झेर पनि राजावादीलाई एमालेका मतदाताले छोड्नुपर्छ ।