मुगु । पिछडिएको जिल्ला भनेर चिनिने मुगुमा ‘विकास’ पुग्न ढिलो भए पनि आधुनिकताले भने गति लिएको छ । जसकारण मुगुको मौलिक संस्कृति लोप हुने हो कि भन्ने संशय पैदा भएको छ । मौलिक रहनसहन, खानेकुरा, भेषभूषा, गीतसंगीत मुगुको चिनारी मौलिक संस्कृतिमा पनि लुकेको छ । पुराना शैलीका घर हिजोआज बद्लिँदै छन् । खरका छानाहरू जस्तामा परिणत हुँदैछन् । देउडा घन्कने वनपाखाहरूमा आधुनिक र हिन्दी पपगीतहरू सुनिँदै छन् ।
गाइगोरु हिँड्ने गोरेटामा डोजरले कोपर्दै छन् । घरबुना ठेटुवाका आँगा, जगेला, दौरासुरुवाल, गामन, चोला जस्ता टाला मानिसहरूले लगाउन छोडेका छन् । फेसन र शहरी पुलिष्टरका कपडातिर आकर्षित बन्दैछन् । हुड्को, दमाया, नरसिंह, ढोल, ताल, सहनाई बज्ने बस्तीहरूमा गीतार ब्यान्डबाजाहरू घन्किँदै छन् । पछिल्लो समय बढ्दो आधुनिकताले मुगुको स्थानीय परमपरागत संस्कृति लोप हुँदै गएको छ ।
कर्णालीकाे खस सभ्यताको पहिचान झल्काउने पहिरन र परम्परागत गीत सुनिन छाडेकोमा चिन्ता गर्छिन्, खत्याड गाउँपालिका–२ कि वैशाखी बुढा । उनी भन्छिन्, ‘आजभोलिका तन्नेरीहरू बजारमा निस्केका गीतमा रमाउने हुँदा हाम्रा पालामा गाइने झोडा, मागल, धारु, रतेउली, छैटी, बालो, बाक्टेनाच, चम्फा, आरती हराउन थालेका छन् ।’
संरक्षण र पुस्तान्तरणको अभावले झोडा गीत, देउडा, रतेउली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, बालो नाच, बाक्टे नाच लगायतका दर्जनौं मुगेली संस्कृति लोप हुँदै गएको उनको बुझाइ छ । विगतका दिनहरूमा मुगुका वन पाखामा घन्कने देउडा, ठाडी भाका, दोहोरी होस् या गाइने भाका हिजोआज यी एकादेशका कथा जस्तै हुन थालेका छन् ।
लोप हुँदै झोडा गीत
विवाह, व्रतबन्ध, उत्सव या घरमा छोरा जन्मँदा मुगुमा देवीदेवताको पूजामा झोडा गीत गाइने गरिन्छ । तर पछिल्लो समय उक्त गीत लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्छिन् छायाँनाथ रारा नगरपालिका–१ कि ६३ वर्षीया केशरकला मल्ल । आफू १२–१५ वर्षको हुँदादेखि झोडा गीत गाउने गरेको स्मरण गर्छिन् उनी ।
‘घरगाउँमा कसैको छोरा जन्मँदा होस् या कुनै मेला, पूजाआजा होस् ! कुनै बिहे व्रतबन्ध छोडिँदैन थियो’, मल्लले हौसिँदै भनिन्, ‘रातभरि गाइन्थ्यो र बिहानी भएपछि उपहार, पैसा, सगुन पाइन्थ्यो ।’
तर केही वर्ष यता भने यो परम्परा नै हराउन थालेको उनको अनुभव छ । पछिल्लो समयका युवा पुस्ताले संस्कृति बिर्सँदै गएको उनको दुःखेसो छ । झोडा गीतको निकै महत्व रहेकोले संरक्षण गर्नुपर्ने बताउँछिन् । १५/२० जनाको दुई महिला समूह बिचमा गाइने झोडा गीत आम्नेसाम्ने भएर गाइन्छ ।
हराए परम्परागत पोशाक
एक दशकयता मुगुका गाउँबस्तीहरूमा महिलाले लगाउने गुन्यू चोली र पुरुषले लगाउने दौरा सुरवाल देखिनै छाडेका छन् । घरेलु उत्पादित ठेटुवाबाट निर्मित कपडाहरू पाउन छोडेपछि परम्परागत पाेशाक लोप भएका हुन् ।
बजारमा विदेशी उत्पादित कपडाको आयात बढ्न थालेपछि मुगुका परम्परागत पोशाक हराउन थालेको स्थानीय बताउँछन् । स्थानीय स्वयम् नै विभिन्न देउडागीत र पोशाक संरक्षणमा जुट्नु पर्ने बुढापाका महिलाहरू बताउँछन् ।
बज्नै छाडे पञ्चेबाजा –सहनाइ
पछिल्लो समय मुगुमा पञ्चे बाजा पनि लोप हुन थालेका छन् । बढ्दो आधुनिकीकरण र संरक्षणको अभावमा पञ्चे बाजा संकटमा परेका हुन् । विवाह, व्रतबन्ध, पूजापाठ, उत्सवमा बजाइने लोकप्रिय बाजा सहनाइ हिजोआज विरलै सुनिन्छन् ।
४० वर्षको हुँदा ५ हजार ५ सय हालेर जुम्लाबाट किनेर ल्याएको सहनाइ अहिले पनि बजाइ राखेको खत्याड १० ह्याङलुगाउँका ६५ वर्षीय गजसिं नेपालीले बताए । ‘पछिल्लो पुस्ताका कसैले पनि सहनाइ बजाउन मन गर्दैनन्’, उनले भने, ‘आफ्नो छोरालाई समेत धेरै चोटी बजाउन सिकाए बजाउनै मान्दैन । बाउबाजेले बजाउँदै आएको बाजा कृति हराउन लाग्दा साह्रै चिन्ता लाग्छ ।’
देखिनै छोडे पुराना गहना
पुराना गरगहना गाउँघरमा देखिन छोडेका छन् । पाका आमा, हजुरआमासँग पनि बिरलै भेटिन्छन् । आज भन्दा ३०/४० वर्षपहिले गाउँ बस्तीतिर अधिकांश महिलाले पहिरिने चाँदीबाट बनेका पुराना गरगहना, खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने ढोलुवा र टोट्के बाला, घाँटीमा लगाइने नानीमाला, ठूलीमाला, साङ्गला, प्वालो मुगामाला, ढुङ्ग्री, चक्री, विभिन्न खाले कालो, पहेलो, सेतो पोत्या, कपुर्ने माला लगायतका पुराना गरगहना कसैसँग नभएको ६० वर्ष कटेका महिलाहरू सुनाउँछन् ।
अहिलेका आधुनिक महिलाको शब्दशब्दमा रानीहार, मंगलशुत्र, झुम्का, रिङ्, छड्के तिलहरी, चन्द्रमा लगायतका आधुनिक गहना सबैको नजरमा रहेकोले परम्परागत शैलीका गहना लोप हुँदै गएका छन् ।
हराउँदै हुड्के नाच
परमपरागत मागी विवाहका अवसरमा गाउँघरतिर नाच्ने हुड्के नाच लोप हुने अवस्थामा पुगेको छ । मागी विवाहको चलन घट्दै गएपछि हुड्के नाच पनि लोप हुन लागेको हो । १०/१५ वर्ष पहिले मंसिर, माघ र वैशाख महिनामा गाउँघरतिर बिहेका पञ्चेबाजा खुब सुन्न पाइन्थे र हुड्केहरूलाई पनि भ्याइनभ्याइ हुन्थ्यो । हिजोआज मंसिर गएको पत्तो समेत नहुने स्थानीय हुड्के बताउँछन् ।
खत्याड गाउँपालिका– ८ का सहायक हुड्के बुदे नेपालीका अनुसार मागी बिहे हुदाँ पञ्चे बाजामा पर्ने दमाया, सहनाइ, नरसिंह, ढोल, ताल र हुड्को लगायतका बाजा बजाएर बेहुलाको घरबाट बेहुलीको घर तिर बाजा बजाउँदै, नाच्दै, गाउँदै जाने र बेहुलीको घर पुगेपछि थप बाजा बजाउने अनि हुड्के नाच्ने, गाउने चुट्किला भन्ने परम्परा थियो ।
केही समय यता गाउँघरतिर भागी बिहे गर्ने चलन हाबी भएको छ । भने शहरी क्षेत्रतिर पार्टी प्यालेसमा बिहे गर्ने चलन बढेपछि पुरानो संस्कृति र हुड्के बाजा लोप हुँदै गएको स्थानीय ७४ वर्षीय सम्पती कार्कीले बताए ।
पुरुषहरू जन्ती जाने र महिला राती बेहुलाको घरमा जम्मा भइ रतेउली खेल्ने मागल चुट्कीलाहरू गाउने परम्परा रहेको स्थानीय पाका महिलाहरूको भनाइ छ । बिहेको पछिल्लो दिन स्थानीय कपडा (दौडा) लगाएर हातमा डमरु जस्तै देखिने हुड्को समातेर २ जना सहयोगी स्थानीय भाषामा (जोल्या) को साथमा पुराना बिर (पैकेला) हरूका कथा (भात्ता) भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने चलन थियो । नाच हेर्ने जन्ती महिलापुरुषसँग रुपैँया माग्ने हुड्के नाचको मुख्य विशेयष्ता हो । आजभोलि सुन्दा कहानी जस्तै लाग्ने स्थानीय बताउँछन् ।
स्थानीय अमरसिंह नेपाली भन्छन्, ‘कुनै बेला हुड्के नाचको लागि मुगु जिल्ला, आधा बाजुरा, हुम्ला र जुम्लाको सिंजा क्षेत्र सम्म आफूलाई निम्तो आउँथ्यो । आजभाेलि त जन्ती जाने चलनै हरायो ।’
‘बिहेमा खुब नाचिन्थ्यो गाइन्थ्यो हुड्को बजाइन्थ्यो अब त बिहे हुनै छाडे, पछि कुनै समयमा हुड्काे र हुड्केनाच इतिहास हुने भयाे’, सहायक हुड्के(जोले) बुदे नेपाली भन्छन् । उनी भन्छन्, ‘हाम्रो दोस्रो पुस्ताले त हुड्को भनेको के हो भनेर सोध्ने बेला भइसक्याे ।’ हिजोआज हुड्के अनि हुड्केनाच देखिनै छोडेको गाउँका बुडापाको भनाइ छ ।
कुनै समय मंसीर र माघको महिना गाउँमा पञ्चेबाजा बज्नासाथ कसैको बिहे हुँदै छ भन्ने सिधै अनुमान लगाउन सकिन्थ्यो । अचेल भने मंसिर र माघ समेत बितिसक्दा गाउँघर तिर पञ्चेबाजाको कुनै धुन समेत सुनिन छोडेको छ ।
हरायो बिँसु मेला
आफू १०/१५ वर्षको छँदादेखि हरेक बिँसुमा अथवा वैशाख १ गते ३ घण्टा पैदल हिँडेर खत्याड ९ को बजेडी खोलामा बिँसु सक्रान्तिको मेला जाने गरेको सम्झिन्छन्, खत्याड गाउँपालिका– ८ का ६५ वर्षीय रामसिंह लुहार । उनी भन्छन्, ‘खत्याडका विभिन्न गाउँदेखि र छिमेकी जिल्ला बाजुराका विभिन्न बस्तीबाट महिला, पुरुष, युवा युवती, वयाेवृद्ध त्यस क्षेत्रमा पुग्ने गर्थे ।’
विशेष गरेर साना देखि ठूलाको आ– आफ्नै समूहमा देउडा खेल्ने रमाइलो गर्ने यहाँको विशेषता थियो । अझ महिला पुरुषको बीचमा रमाइलो देउडा चल्ने गर्थ्याे । यस ठाउँमा खत्याडका नखर्जि, बुम्लिका,जामीर, कर्खा, लुइ, ठामलेक, रिखीया, आम, सुकाढीक, रीगा, ह्याङ्लु लगायत गाउँ बस्तीका सयौँ स्थानीय र छिमेकी जिल्ला बाजुरादेखिका सर्वसाधारण मेला हेर्न आउने परम्परागत चलन थियो । टाढा टाढादेखि सर्वसाधारण बिहानै झोलामा रोटी, नास्ता बोकेर यस ठाउँमा रमाइलो गर्न आउने गरेको खत्याड गाउँपालिका – ९ जामीर गाउँका रत्न भण्डारीकाे अनुभव छ । उनी भन्छन्, ‘विगत १०/१५ वर्षयता विँसुमेला र लिगुडो (न्युरो) टिप्ने पर्व सुनसान भएको छ ।’ बिँसु मात्रै होइन मुगु र कर्णालीसँग जोडीएका दर्जनौँ सस्कृति तथा परम्पराहरू हराउँदै गएको स्थानीय बुढा पाका बताउँछन् ।
त्यस्तै माघ १ को अघिल्लो रात खेलीने धुई पनि विगत केही वर्षदेखि हराएको छ । स्थानीय महिलाहरू जम्मा भइ घर घरबाट दाउरा मुडाहरू संकलन गरेर रातिभरि आगो बाल्दै देउडा खेलेर रात काट्ने चलन थियो जस्लाइ धुइ खेल्ने भनिन्थ्यो । यो आगोको धुवामा खेलिने हुँदा धुइ भनिन्थ्यो । यसलाई धर्मसँग पनि स्थानीय महिलाहरू जोड्ने गर्छन् । बिहानी भएपछि सबै जम्मा भइ नजिकैको खोलामा गएर स्नान गर्ने चलन थियो । अर्को पुसे भैलो, भुवापर्व, भदौको गाबी सक्रान्ति मेला लगायतका चाडपर्व पनि लोप भएका छन् ।
गाबी सक्रान्ति पनि हरायो
विगत १०/१५ वर्ष पहिला भदौ १ गते मनाइने गाबी संक्रान्ति पर्व पनि मनाउन छाेडिएकाे छ । संक्रान्तिको दिन छोरी चेलीसहित आफन्त, नातेदार जम्मा भएर पुरी, हलुवा, खिर जस्ता परिकार बनाएर खाने गरिन्थ्याे । अनि दिनमा सबै जम्मा भएर ठाउँ ठाँउमा देउडा गीत गाउँदै देउडा खेल्ने परम्परा रहेको थियो ।
असार साउन महिनामा बाली लगाउने र फेरि असोज कार्तिकमा बाली भित्राउने समय भएकाले योबीचको महिना भदौ १ गते छाेरीचेलीलाई माइत बेलाएर मिठामिठा परिकार खुवाउने प्रचलन थियाे ।
पालिका बहस । २ कार्तिक २०७९, बुधबार १२:४४