काट्ने बेलाको धान गैंडाले पार्‍यो नष्ट

भरतपुर । काट्ने तयारीमा रहेको धानबालीमा गैंडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैंडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैंडाले नष्ट गरिदिएको बताइन् । उनले गैंडाले धान नष्ट गरेपछि यस वर्ष के खाने चिन्ता थपिएको बताइन् ।

प्रत्येक वर्ष निकुञ्जबाट वन्यजन्तु आएर बाली पूरै सखाप गरिदिने र तयार भएको बाली भित्र्याउन समेत नपाइने गुनासो उनले गरिन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका सचिव जगनारायण बोटले यस वर्ष गैंडाले धानमा धेरै क्षति पुर्‍याएको बताए । उनले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको बताए ।

भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैंडा र हात्तीसँगै बँदेल तथा चित्तलले पनि दुःख दिइरहेको बोटको गुनासो थियो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क्षति झन बढ्दो क्रममा रहेको बताइन् । ‘पाँचपाण्डवदेखि बगईसम्मका निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको क्षति गरिरहेको छ,’ उनले भनिन्, ‘सधैं त्रासमा बस्नुपर्ने बाध्यता छ ।’

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि योजनाबद्ध काम हुन नसक्दा दैनिकजसो वन्यजन्तुको समस्या आउने गरेको उनले बताइन् । मेस जालीसहितको व्यवस्थित आरसीसी पर्खाल निर्माण नगरेसम्म दैनिक समस्या आउने उनको भनाइ थियो ।

नगरपालिकाको थोरै बजेटले अति आवश्यकताका आधारमा मात्रै काम गर्ने गरेको प्रमुख महतोले बताइन् । किसानका लागि निकुञ्जले दिने राहत न्यून भएको भन्दै उनले एउटै हात्तीले एकै रातमा कैयौं बिघा जग्गा नष्ट गर्ने गरेको बताइन् । ‘निकुञ्जले प्रदान गर्ने जम्मा रू. १० हजारले किसानको बीउको मूल्य पनि उठ्दैन,’ उनले भनिन्, ‘किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ ।’ रिउ कोरिडोर निर्माण गरेर बाढी र जनावर दुवैबाट माडीवासीलाई जोगाउन सकिने उनको भनाइ थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका कारण माडीमा नै सबैभन्दा धेरै वन्यजन्तुले क्षति पुर्‍याउने गरेको बताए । वन्यजन्तुलाई बस्ती पस्नका लागि बनाइएका संरचना प्रभावकारी नहुँदा समस्या आइरहेको उनले बताए । ‘निकुञ्जमा काँडेतार, सोलार फेन्स, मेस वायर फेन्सिङ र अहिले आरसीसी र पीसीसीसहितका बार लगाइएको छ, तर प्रभावकारी बन्न सकेको छैन,’ उनले भने । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत सिफारिश ल्याउने र निकुञ्जले थोरै भए पनि किसानलाई राहत वितरण गर्ने गरेको आचार्यले जानकारी दिए । गत वर्ष मात्रै निकुञ्जले विभिन्न शीर्षकमा रू. तीन करोडको राहत वितरण गरेको उनले बताए । त्यसमध्ये सबैभन्दा धेरै बालीनाली नै क्षति हुने गरेको आचार्यको भनाइ थियो । रासस