तिहारमा भारतबाट तीन लाख माला आयात गरिने

काठमाडौं । यो वर्षको तिहारमा भारतबाट तीन लाख माला आयात गरिने भएको छ । आन्तरिक उत्पादनले नपुग्ने भएपछि गत वर्षहरूको तिहारमा जस्तै यो वर्ष पनि फूल तथा फूलका भारतका विभिन्न स्थानबाट मालाहरू आयात गर्नुपर्ने भएको हो ।

प्रत्येक वर्षको तिहारमा फूल तथा मालाको माग बढ्दै गएकोले आन्तरिक उत्पादनले नपुग्ने भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यो वर्ष भारतबाट एक अर्ब ५० करोड रुपैयाँको तीन लाख माला आयात गर्नुपर्ने आंकलन गरिएको महासचिव विश्वमणि पोखरेलले बताए ।

तिहारमा मात्र १४ करोड रुपैयाँको फूल तथा माला खपत हुने भएकाले आन्तरिक उत्पादनले मात्र नथेग्ने गरेको छ । “फूल तथा मालाहरू वार्षिक ३३ देखि ३५ करोड रुपैयाँको खपत हुने गरेको छ । यसमा ५० प्रतिशत त आयात गर्नुपर्ने बाध्यता छ,” उनले भने, “देशमा उत्पादन बढेको छ । तर, माग पनि वार्षिक १५ प्रतिशतले बढ्दै गएकाले आयात गर्नुपर्ने बाध्यता छ ।”

प्रत्येक वर्ष फूलको आयात भारतबाट गर्नुपर्ने बाध्यता छ । देशमा उत्पादन हुने फूलले नपुगेर आयात गर्नुपर्ने बाध्यता रहेको पोखरेल बताउँछन् । फूल जस्तोसुकै क्षेत्रमा पनि उत्पादन हुने भए पनि व्यवसायिक रूपमा उत्पादन हुन नसक्दा फूल पनि आयात गर्नुपर्ने बाध्यता छ । कतिपयलाई फूल फूलेपछि कसरी टिप्ने र लामो समयसम्म नओइल्याइकन राख्ने भन्ने ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनको भनाइ छ । फूलको व्यापार विशेषगरी तिहारमा नै बढी हुने भएकाले कृषले व्यावसायिक रूपमा उत्पादन गर्दैनन् । तर, यो व्यवसाय समय मिलाएर गर्न सके प्रसस्त फाइदा हुने महासचिव पोखरेल बताउँछन् । पछिल्लो समय स्थानीय स्तरमा पनि फूल व्यवसाय बढ्दै गएको छ । समयमा विउ र मल नपाउँदा कृषिकलाई समस्या हुने गरेको उनले बताए ।

एशोसियसनका अनुसार पत्येक वर्ष फूलको उत्पादक कृषकको संख्या बढ्दै गएको छ । तर, माग पनि बढ्दै गएकाले आयात गर्नुपर्ने बाध्यता रहको छ । फूल जन्मदेखि मृत्युसम्म प्रयोग गर्ने भएकाले तरकारी खेतिजस्तै गर्दा पनि हुने व्यवसाय हो । यो व्यवसाय गर्दा आन्तरिक रूपमा नै खपत हुने भएकाले यसको प्रसस्त सम्भावना भएकाले व्यवसायीले यसतर्फपनि ध्यान दिनु पर्ने देखिन्छ ।

फूलको उत्पादन बारी तथा खेतको डिलमा समेत गर्न सकिन्छ । स्थानीय स्तरमा अधिकांशले आफूलाई मात्र प्रयोग गर्नलाई फूल उत्पादन गर्दा सहर बजारमा बस्नेका लागि फूल आयात गर्नुपर्ने वाध्यता बढेको हो । कतिपयलाई व्यावसायिक रूपमा उत्पादन गरेर मुद्रा आयआर्जनको बाटो बनाउँन सकिन्छ भन्ने ज्ञान नहुँदा पनि नेपालमा फूल व्यावसाय तिब्र रूपमा बढ्न सकेको छैन् । तर, सहरी क्षेत्रका केही स्थानमा भने व्यावसायिक रूपमा फूल उत्पादन गर्न थालिएको छ ।

अहिले गाउँगाउँसम्म यातायात सुविधा पुगेको हुँदा गाउँगाउँका बाँजो जमिनमा फूल व्यवसाय गरेर आयआर्जन बढाउँन सकिन्छ । तर, जोशजाँगर भएका अधिकांश युवाहरू सम्पत्ति कमाउँन विदेशिदा यस्ता व्यवसाय फस्टाउन सकेका छैनन् । यसले चार्डपर्वको समयमा आवश्यक पर्ने फूल भारत तथा अन्य देशबाट आयात गर्नुपर्ने बाध्यता बढेको हो । केही क्षेत्रमा भने युवाहरूले व्यवसायिक रूपमा सायपत्री र मखमलीको उत्पादन गरेर आयआर्जनको बाटो बनाउन थालेका छन् ।

नेपालको सयपत्री फूल अमेरिकादेखि युरोपका मुलुकहरूमा पनि निर्यात हुने गरेको छ । नेपालीहरू विभिन्न देशमा छरिएर रहेकाले उनीहरूले नेपालको फूल तिहारको समयमा खरिद गरेर लग्ने गरेका महासचिव पोखरेलले बताए । “नेपालको सयपत्री फूल निर्यात पनि हुने गरेको छ । तर, कतिको निर्यात हुन्छ भन्ने तथ्यांक भने आएको छैन,” उनले भने, “फूल उत्पादन गर्न सके त धेरै सम्भावना छ । यस तर्फ कृषकको ध्यान बढाउनु पर्ने पनि देखिन्छ । सरकरी पक्षले पनि पहल बढाउन आवश्यक छ ।” प्रतिमाला ५० रुपैयाँका दरले व्यसायीले होलसेलमा फूल खरिद गर्ने गरेका छन् ।