त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय विशेषज्ञ टोली फिर्ता

काठमाडौँ । त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञ टोली फर्किएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरेका थिए । तर, बस र यात्रु भने फेला परेनन् ।

भारतबाट आएको टिम फर्किएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताएका छन। उनले भने , ‘बस फेला परेको छैन, अहिलेसम्म २५ जनाको शव भेटिएको छ ।’

भारतीय विशेषज्ञले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए । उनीहरूले खोजी कार्यमा प्रयोग गरेको २० किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले असार २८ देखी नै खोजी जारी राखेका छन् ।

काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।