शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता शारदा नगरपालिकाको प्राथमिकता

सल्यान । शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३६ करोड १ लाख २६ हजार ५ सय १३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा नगर प्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  उपप्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गरेकी थिईन् ।

नगरसभाले सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी वर्षका नीति तथा कार्यक्रम तय गरेको छ। नगर प्रमुख भण्डारीले नागरिकको जीवनस्तर सुधार गर्दै समृद्ध र आत्मनिर्भर शारदा निर्माण गर्ने लक्ष्यसहित बजेट केन्द्रित गरिएको बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमध्ये चालूतर्फ ६६ करोड ९० लाख २६ हजार ५ सय १३ रुपियाँ (४९.१८ प्रतिशत) र पुँजीगततर्फ ६९ करोड ११ लाख रुपियाँ (५०.८२ प्रतिशत) विनियोजन गरेको छ। विकास निर्माणलाई प्राथमिकतामा राख्दै चालू र पुँजीगत खर्चलाई सन्तुलित रूपमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख भण्डारीका अनुसार शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। खानेपानीको समस्या समाधानका लागि मात्रै करिब ५० करोड रुपियाँ विनियोजन गरिएको छ। सुरक्षित र नियमित खानेपानी सेवामा नागरिकको पहुँच विस्तार गर्न विभिन्न आयोजना सञ्चालन गरिनेछ।

शिक्षा क्षेत्रमा गुणस्तर सुधार, विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुदृढीकरण तथा शिक्षक–विद्यार्थीमैत्री वातावरण निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ। यस्तै स्वास्थ्य क्षेत्रमा आधारभूत तथा विशेषज्ञ सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यसहित कृषि, पशुपालन तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम समावेश गरिएको नगरपालिकाले जनाएको छ। स्थानीय उत्पादनको बजारीकरण र किसानको आयआर्जन वृद्धि गर्ने योजना पनि अघि सारिएको छ। पूर्वाधार विकास, सडक स्तरोन्नति, युवा तथा महिला सशक्तीकरण, रोजगार प्रवर्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन तथा सेवा प्रवाह सुधारलाई समेत बजेटले प्राथमिकतामा राखेको छ।

नगरसभामा पूर्व राष्ट्रसेवक तथा समाजसेवी विजुली प्रसाद सेजवाल, खलंगा श्रीनगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशव वुढाथोकी, पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएकाे भन्दै होटल व्यवसायी श्याम बहादुर भण्डारी, मनोसामाजिक सुधार अभियानमा सक्रिय समाजसेवी उत्तरा विष्ट ,कृषक उत्तम थापा र रेडियो शारदा एफएमका पत्रकार प्रदीप मगरलाई सम्मान गरिएको थियो।

नगरपालिकाले आगामी बजेटलाई “समृद्ध शारदा, सुखी नागरिक” को लक्ष्य हासिल गर्ने आधारका रूपमा लिएको छ। स्थानीय आवश्यकतामा आधारित यो बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।