प्रचण्ड-ओलीले लगाए सत्ता बाँडफाँडको करिब-करिब टुङ्गो

एमालेले ९, माओवादी केन्द्रले ६, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, मन्त्री र १ राज्यमन्त्री र राप्रपालाई २ वटा मन्त्रालय दिने तयारी गरिएको छ ।

काठमाडौं। सत्ता गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादीबीच मन्त्रालय बाँडफाँडमा करिब करिब सहमति भएको छ । आइतबार साँझ र सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता र छलफलले मन्त्रालय बाँडफाँडका करिब करिब टुङ्गिएको हो।

सभामुखको निर्वाचन अघि नै दुई नेताहरूले मन्त्रालय भागबन्डा टुङ्ग्याएको बताएको छ । यद्यपि यसलाई सार्वजनिक भने गरिएको छैन । उनीहरुबीच भएको सहमतिलाई सत्ता गठबन्धनको बैठकबाट सहमति लिएर टुङ्ग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ ।

सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले बढीमा ९ वटा मन्त्रालय पाउने नत्र आठ वटामै टुङ्ग्याउने गरी सहमति गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमालेले बढीमा नौ र माओवादी केन्द्रमा छ वटा मन्त्रालय पाउने गरी सहमति भएको छ । स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्रालय र एउटा राज्यमन्त्री पाउने सम्भावना रहेको छ भने राप्रपाले दुई वटा मन्त्रालय दिने तयारी गरिएको छ । स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दाबी गरेको छ ।

राप्रपाले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार, ऊर्जा तथा सिचाई, शहरी वा पर्यटन मन्त्रालयमा दाबी गरेको छ । त्यसबाहेक स्वास्थ्य र सङ्घीय मामिला मन्त्रालय पनि दाबी गरेको छ । यी दुवै दलले आकर्षक र ठुला भनिएका मन्त्रालयमा दाबी गरेका छन् । जनता समाजवादी पार्टी ( जसपा)लाई दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री दिने गरी सहमतिको प्रयास भएको छ । तर, जसपाले तीनवटा मन्त्रालय दाबी गरिरहेको छ । गठबन्धनको अर्को घटक जनमत पार्टीलाई दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भएको पनि बताइएको छ ।

यसरी भाग लगाउँदा २५ वटा मन्त्रालय पुग्ने भएकोमा अहिले २२वटा मात्रै मन्त्रालय रहेका छन् । सोही कारण दलहरूले पाउने सङ्ख्या अझै घट्न सक्छ । यसो हुँदा एमाले र माओवादीले लिने मन्त्रालय सङ्ख्या घट्न सक्ने बताइएको छ । ‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तार तथा सभामुखको निर्वाचन र सर्वदलीय बैठकबारे छलफल भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले भने । उनका अनुसार सबै विषयमा छलफल भएकाले गठबन्धन दलको निर्णयबाट मात्रै विषयवस्तुले पूर्णता पाउनेछन् ।

मन्त्रिपरिषद् विस्तारमा सकस परिरहेका बेला उनीहरुबीच निरन्तर संवाद चलिरहेको छ । आइतबार साँझ एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए भने सोमबार बिहान प्रधानमन्त्री ओली निवास पुगेका थिए । सोमबार बिहान उनीहरुबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलको क्रममा राष्ट्रपति निर्वाचन तथा अहिलेको वित्तीय सङ्कटबारे पनि छलफल भएको स्रोतले जनाएको छ ।