पाँच बर्षमा कर्णालीका २१ प्रतिशत नागरिकको मात्र स्वास्थ्य बिमा

कर्णालीमा करिब १७ लाख जनसंख्या रहेकोमा हालसम्म तीन लाख ५६ हजार ६ सय ३८ नागरिकमात्रै बिमाको पहुँचमा छन् ।


जुम्ला । आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ देशमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भयो । कर्णालीजस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भए पनि अझै विपन्न नागरिक अपेक्षित रूपमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । बिमाका फाइदाबारे जानकारी नपाउनु, र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखाैं विपन्न नागरिक अझै स्वास्थ्य बिमाबाट वञ्चित भएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । जसमध्ये स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको ५ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका एक चौथाइ नागरिक बिमाबाट वञ्चित छन् । करिब १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा हालसम्म साढे तीन लाख नागरिकमात्रै स्वास्थ्य बिमाको पहुँचमा पुगेको सरकारी तथ्यांक छ ।

जुन कुल जनसंख्याको २१ प्रतिशतमात्रै हुन आउँछ । यसरी हेर्दा कर्णाली प्रदेशका १३ लाख ३८ हजार २ सय ६६ जना अर्थात् ७९ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ । विभिन्न ७२ प्ररकारका औषधि निःशुल्क पाउनेदेखि जटिल रोगको ३५ सयमै पाँचजना परिवारले सस्तोमा उपचार गर्न पाउने बिमा सुलभ सेवाबाट कर्णालीका एक चौथाइ नागरिक अझै वञ्चित हुनु दुःखद पक्ष हो ।

बिमाबारे शिक्षा नदिनु सरकारकै कमजोरी रहेको देखिन्छ । स्वास्थ्य बिमा कार्यक्रमले विपन्न नागरिकलाई निकै राहत पुर्‍याएको छ । नागरिक राजबहादुर महत भन्छन्, “बिमाको सेवा प्रवाह केही ढिलासुस्ती छ । तर त्यस कार्यक्रमबाट विपन्नले राहत पाएका छन् । कर्णालीका ७९ प्रतिशत नागरिक अझै बिमाबाट वञ्चित रहेको कुरा दुःखद पक्ष हो । प्रदेश सरकारले सबै नागरिकलाई बिमाको पहुँचमा पुर्‍याउने नीति ल्याउनु जरुरी छ ।” कर्णालीमा २०७४ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो ।

कुन जिल्लामा कति बिमित ?

कर्णाली प्रदेशका साढे तीन लाख नागरिक स्वास्थ्य बिमित भएका छन् । कार्यक्रम सञ्चालन भएको पाँच वर्ष बित्दा कर्णालीमा करिब १७ लाख जनसंख्या रहेकोमा हालसम्म तीन लाख ५६ हजार ६ सय ३८ नागरिक मात्रै बिमाको पहुँचमा पुगेका हुन् ।

जसमध्ये जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय जुम्लाले जनाएको छ । करिब एक लाख २० हजार जनसंख्या रहेको जुम्लामा अझै ५२ हजार २ सय ६२ बढी नागरिक बिमाबाट वञ्चित रहेको पाइन्छ । बिमाको पहुँच विस्तार तथा सचेतनाको कार्यक्रम अघि बढेको स्वास्थ्य बिमा कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाका लागि सेवा क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कालिकाखेतु आधारभूत स्वास्थ्य केन्द्रलाई तोकेको छ । त्यस्तै राष्ट्यि बिमा बोर्डको तथ्यांकअनुसार सुर्खेतका ७५ हजार ४ सय २३, दैलेखका २० हजार ३ सय ४४, हुम्लाका १४ हजार १ सय ४२, सल्यानका ९ हजार २ सय १ नागरिक बिमाको पहुँचमा पुगेका छन् ।

साथै डोल्पाका २ हजार ६६०, रुकुमपश्चिमका ७० हजार २ सय ५१, जाजरकोटका ४४ हजार २ सय १७, कालिकोटका ४५ हजार ५ सय ५४ र मुगु जिल्लाका ६ हजार ९३ जना गरी कर्णालीका जम्मा ३ लाख ५६ हजार ६ सय २३ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकमा उल्लेख छ । हालसम्म कर्णालीका सबैभन्दा बढी सुर्खेत र कम डोल्पाका नागरिक बिमित छन् ।