कर्णालीका नवनियुक्त प्रदेश प्रमुखकाे स्वागत

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीलाई शुक्रवार बिहान प्रदेश राजधानी सुर्खेतमा स्वागत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ तथा मन्त्रीहरुले प्रदेश प्रमुख जोशीलाई स्वागत गरेका हुन् ।

सोही अवसरमा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले प्रदेशको राजनीतिक, भौगोलिक, सामाजिक तथा आर्थिक अवस्थावारे प्रदेश प्रमुखलाई जानकारी गराए ।  उनले कर्णाली प्रदेश सङ्घीयतापछि सबैभन्दा छिटो प्रदेशको नामकरण गर्ने र सर्वसम्मत रुपमा प्रदेश राजधानी तोक्ने प्रदेश भएको अवगत गराउँदै भौगोलिक विकटता, पछाैटेपनलगायत मानव सूचकाङ्कमा पछाडि रहे पनि जल, जङ्गल, जमिन, जलस्रोत र जडीबुटी तथा पर्यटनमा सवैभन्दा धनी प्रदेश रहेको बताए । कर्णाली प्रदेशमा २५ वटा नगरपालिका र ६४ वटा गाउँपालिका गरी कुल ७९ वटा स्थानीय तह रहेको र ती सबैमा गरी ७१८ वटा वडा रहेको जानकारी उनले दिए ।

मुगुको राराताल, डोल्पाको शे फोक्सुण्डो ताल, दोस्रो लुम्बिनीको रुपमा परिचित सुर्खेतको काँक्रेविहार, सल्यानको कुपिण्डे दह, दैलेखको पञ्चकोशी यहाँको प्रमुख पर्यटकीय गन्तव्य रहेकोले यहाँ धार्मिक पयर्टनको पनि विकास गर्न सकिने उनको भनाइ छ । कुल दुई हजार ९२९ कर्मचारीको दरबन्दी रहे पनि दुई हजार दरबन्दी मात्रै पूर्ति भएको र अझै पनि ९२९ दरबन्दी रिक्त छ ।

कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी राजमार्ग, मदन भण्डारी लोकमार्ग, भेरी बबई डाइभर्सन यस प्रदेशको विकासको प्रमुख आधार भएको जानकारी प्रमुख सचिव पौडेलले नवनियुक्त प्रदेश प्रमुख जोशीलाई गराए । स्वागतलगत्तै प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका छन् । सरकारले यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी कर्णालीका लागि यज्ञराज जोशीलाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । जोशी कर्णालीको चौथो प्रदेश प्रमुख हुन्  ।